Comments Add Comment

‘कोरोना भाइरस महामारी बनेमा बीमा कम्पनी डुब्न सक्छन्’

२८ फागुन, काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभरका मानिसलाई त्राहिमाम् पारिरहँदा अर्थतन्त्र अछुतो रहने कुरै भएन । अर्थतन्त्रका अवयवभित्र पनि बिमितहरु संक्रमित भए उपचार खर्च र मृत्यु भए बीमा रकम दिनुपर्ने भएकाले बीमा क्षेत्र विशेष चिन्तामा छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई करिब ८० लाख बिमित रहेका नेपालमा कोरोना भित्रियो र नियन्त्रणबाहिर गएर महामारी फैलियाे भने भने बीमा क्षेत्र तहसनहस हुने बताउँछन् । नेपाली बीमा क्षेत्रको समग्र अवस्थाबारे भट्टराईसँग गरिएकाे कुराकानीको सम्पादित अंश :

विश्वका एकपछि अर्को देशमा कोरोना भाइरस देखिदा नेपाली बीमा क्षेत्रको अवस्था कस्तो छ ?

१०० भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसलाई समयमै नियन्त्रण गर्न सकिएन  र यसले कराैडाै मानिसलाइ असर गर्याे भने जीवन बीमा कम्पनी र तीसँग आवद्ध पुनर्बीमा कम्पनीहरु डुब्ने अवस्था आउँछ ।

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीमा नेपाललाई ‘डेन्जर जोन’मा राखेकाले कतिपय विदेशी पुनर्बीमा कम्पनीहरुले नेपालीको ठूलो बीमामा रकमको पुनर्बीमा अस्वीकार गर्न थालिसके । यसबाट पनि अवस्थाको गम्भीरता सहजै बुझ्न सकिन्छ ।

महाभूकम्पलगत्तै धेरैले बीमा गरे, अहिले बीमा गर्न आउनेहरुको संख्या के छ ?

कोरोनाको त्रासका कारण बीमा गर्न आउनेहरुमा द्विविधाकाे अवस्था देखिएकाे छ । महामारी र युद्धको जोखिम बीमा कम्पनीहरुले बोक्दैनन् पनि, याे विश्वव्यापी मान्यता नै हाे ।

अहिले कोरोना संक्रमितमध्ये ३ प्रतिशतको मृत्यु भएको देखिएको छ । केही वर्षअघिको स्पेनिस फ्लू र इबोला महामारीमा संक्रमितमध्ये ६० प्रतिशतको मृत्यु भएको थियो । इबोला र बर्डफ्लुको पनि असर नेपाली बीमा क्षेत्रमा खासै परेन । काेराेनाका कारण पनि अहिले नै डराउनु पर्ने अवस्था अाइसकेकाे छैन ।

कोरोनाको कारण मृत्यु भएका बिमितको जोखिम बीमा कम्पनीले बेहोर्दैन ?

यसमा समस्या छ । भोलि कोरोना भाइरसको संंक्रमण फैलिएर लाखाैं-कराेडाैंकाे मृत्यु भयो र उनीहरुको भुक्तानी दाबी गर्‍यो भने पुनर्बीमा बीमा कम्पनीहरु डुब्छन् । बीमा कम्पनीले आफैं जोखिम बहन गर्न नसकेर पुनर्बीमा गराएका हुन्छन् । दाबी भुक्तानी भएन भनेचाहिँ बीमा कम्पनीहरु नै समस्यामा पर्छन् । किनकी बीमा गरेर भुक्तानी दिएन भने बीमाप्रतिको विश्वास हराउँछ ।

संस्थागत सुशासनमा नबसेको, सिस्टमभित्र स्वास्थ्य कारोबार नगरेको भनेर बीमा कम्पनीहरुको धेरै आलोचना हुने गरेको छ । यसमा तपाईं के देख्नुहुन्छ ?

एकै पटक १३–१४ वटा बीमा कम्पनी आँउदा पुराना–नयाँ सबैलाई सुपरिवेक्षण र नियमन गर्ने बीमा समिति बलियो बन्न सकेको छैन । कारोबारको आकार र कम्पनी संख्याअनुसार दक्ष जनशक्ति पनि छैन । कम्पनीहरु व्यवसाय बढाउनमात्र केन्द्रित हुँदा सुशासन कमजोर भएको देखिन्छ ।

राजनीतिक अदुरदर्शीताका कारण बीमा ऐन समयसापेक्ष नबन्दा पनि बीमा समितिले राम्ररी काम गर्न सकेका छैनन् । सुशासनमा बस्न नसक्नुमा सबै स्टेकहोल्डर, सरकार, समिति र कम्पनीहरु, केही न केहिसबै जिम्मेवार देखिएका छन् ।

बीमा कारोबारको वास्तविक अवस्था कस्तो छ ?

२००४ सालमा सुरु भएको बीमा कारोबार ७० वर्षमा पनि सुस्त गतिमै छ । जनताको न्यून आयस्रोत र राज्यको प्राथमिकतामा नपरेको कारण लामो समयसम्म पछि परेकै हो ।

गत तीन वर्षको अवधिमा १० वटा नयाँ जीवन बीमा कम्पनी, तीनवटा निर्जीबन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनीले कारोबार शुरु गरिसकेपछि भने बीमा कारोबारले ठूलै फड्को मारेको अनुभव गरिएको छ ।

वार्षिक १ खर्बभन्दा बढीको बीमा शुल्क संकलन, २० प्रतिशतभन्दा बढी जनतामा पहुँच र कुल गाह्रस्थ उत्पादनमा ३ प्रतिशत हाराहारी योगदान धेरै राम्रो हो ।

तर, आवश्यकताभन्दा बढी कम्पनी खुलेका कारण हिँजोका दिनमा एकैपटक धेरै बैंक, वित्तीय संस्था आउँदा बैंकिङ क्षेत्रमा देखिएको विकृती दुर्घटना बीमा क्षेत्रमा देखिने चिन्ता पनि छ ।

सात दशकमा पनि बीमाप्रति जनविश्वास र आकर्षण बढ्न नसक्नुका अरु कारण के हुन् ?

खान लाउन धौधौ भएको हिँजोका दिनमा बीमाप्रति आकर्षण हुने कुरै भएन । राज्यले पनि बीमा क्षेत्रमा केही गर्ने जमर्को गरेन ।

माओवादी द्वन्द्वको बेला गाउँ–गाउँबाट सुरक्षा र रोजगारीको लागि लाखौं नेपाली विदेश पलायन हुन थाले । तिनले पसिना बगाएर रेमिट्यान्स पठाउन थालेपछि र बीमा कम्पनीहरु गाउँ पस्न थालेपछि मात्र बीमा अलि अगाडि आएको हो ।

हाम्रो बीमा उद्योग अहिले हिमालबाट तराई झर्दै गरेको तीव्र गतिको नदी जस्तो छ । सही तरिकाले डोहोर्‍याए यसले उच्च प्रतिफल दिन्छ । होइन भने कतिबेला दुर्घटना हुन्छ भन्न सकिँदैन

यसबीच युनिटी लाइफ जस्ता नेटवर्किङ कम्पनीहरुबाट करोडौं गुमाएका र केही अभिकर्ताले लोभ देखाएर जवर्जस्ती बीमा गराउँदाको परिणामले पनि बीमाप्रति विश्वास बढ्न नसकेको पक्कै हो ।

जीवन बीमाका कस्ता–कस्ता प्रोडक्टमा ‘मिस सेलिङ्ग’ भैरहेको पाउनु भएको छ ?

आवश्यकताभन्दा बढी कम्पनी आउनु, जसरी पनि पोलिसी बेच्नु र कसैगरी बढी व्यापार देखाएर आफूलाई टिकाउने प्रवृत्तिले जीवन बीमामा ‘मिस सेलिङ्ग’ प्रोत्साहित भएको छ । अरुको प्रोडक्टको गलत व्याख्या गर्नु, आफ्नो प्रोडक्टलाई बढाइचढाइ प्रचार गर्नु, कमिसनकै लागि एउटा कम्पनीबाट आएको पैसाले अर्कोमा बीमा गराउनु र कम आम्दानी हुनेको ठूलो बीमा गराउनु जस्ता मिस सेलिङ्ग प्रशस्त भइरहेको छ । यसमा कम्पनी व्यवस्थापनले नै अभिकर्तालाई प्रोत्साहन गरेको पाइन्छ ।

यो समस्या सावधिक र वार्षिक धन फिर्ता पोलिसीमा धेरै छ । सावधिकमा ७० रुपैयाँ लगातार १५ वर्ष बोनस नभई बीमाङ्क र बोनस जोडेर दोब्बर हुँदैन । तर अभिकर्ताले सोझासाझा जनतालाई ५ वर्षमै दोब्बर हुने प्रलोभन देखाएर पोलिसी बिक्री गरिरहेका छन् ।

त्यस्तै वार्षिक धन फिर्ता पोलिसीमा प्रत्येक वर्ष ५ प्रतिशत सावा फिर्ता दिने र अवधि समाप्तीमा दोब्बर दिने भनी झुक्काएर पोलिसी बिक्री गरिरहेका छन् । प्रतिवर्ष ५ प्रतिशत सावाँ फिर्ता लिइसकेपछि बाँकी सावा (बीमाङ्क) र प्राप्त बोनस दोब्बर हुँदै हुँदैन । त्यस्तै, कम आम्दानी हुने र बर्सेनि किस्ता प्रिमियम तिर्न नसक्नेलाई ठूल्ठूला बीमा गराउँदाकै परिणाम पोखरा र गौरका घटना भएका हुन् ।

यो पनि पढ्नुहोस रौतहटको घटनाले झस्कियो बीमा क्षेत्र, नीति बदल्न सुझाव

पोखरामा श्रीमती र रौतहटमा छोरी मारेको बीमा घटनामा कसको कमजोरी देख्नु हुन्छ ?

यी दुवै ‘मिस सेलिङ्ग’का डरलाग्दा परिणाम हुन् । खानलाउन नपुग्ने किसानलाई दोब्बर हुन्छ भनि बच्चाको बीमा गर्ने र मोबाइल मर्मत पसलेको श्रीमतीको नाममा करोडौंको बीमा गर्दा त्यस्ता घटना भए ।

अभिकर्तालाई उचित तालिम दिन नसक्नु, शाखा प्रमुखहरुबाट जसरी पनि ठूला बीमा ल्याउन अभिकर्तालाई प्रेरित गर्नु र कम्पनीको पनि अण्डरराइटिङ पोलिसी राम्रो नहुनुको कारण ती घटना भएका हुन् । त्यसलाई हामी कम्पनीहरुकै कमजोरी भन्नुपर्ने हुन्छ ।

जीवन बीमा कम्पनीहरुको बोनसमा बढाइचढाइको वास्तविकता के हो ?

विकसित मुलुकमा बीमा पोलिसीमा पाइने सुविधा र सुरक्षा प्राथमिकतामा हुन्छ भने हामी कहाँ लगानीमा प्रतिफल कति भनेर हेरिन्छ । जीवन बीमा कम्पनीमा औसतमा १५ वर्षे पोलिसी ६० देखि ७० प्रतिशत बिक्री हुन्छ । तर कम्पनीहरु २–४ वटा बिक्री हुने २५ र ३० वर्षे पोलिसीको अधिकतम ७०–८० बोनसको प्रचार गरेर मार्केटिङ गरिरहेका छन् । यो सरासर गलत र विमितलाई  झुक्काएर मार्ने नीति हो ।

बैंकहरुले आफ्ना प्रोडक्टसँगै बीमाको आक्रामक प्रचार गरिरहेका छन् । बीमा कम्पनीप्रति जनविश्वास नभएरै बैंकहरुले प्रयोग गर्न थालेका हुन् ?

बैंकिङ व्यवसायको गतिविधिमा ‘सेचुरेशन’ आएको छ । ग्राहकलाई आकर्षण गर्ने इनोभेटिभ प्रोडक्ट ल्याउन नसकेपछि बैंकहरुले बीमा प्रोडक्टलाई ‘हाइलाइट’ गरेका हुन् । उनीहरुले बीमा उकालो लागेको अवसरलाई उपयोग गरेका हुन् ।

सरकारी लागानीको कर्मचारी सञ्चय कोषले ५ लाख सञ्चयकर्ताको स्वास्थ्य र दुर्घटना बीमा तीन वर्षको लागि सरकारकै राष्ट्रिय बीमा कम्पनीसँग गरेर एक वर्षपछि एकतर्फी रुपमा खारेज गर्‍यो । यसलाई कसरी लिनु भएको छ ?

कर्मचारी सञ्चय कोषले ‘क्रिटिकल इलनेस’को दाबी भुक्तानी नदिएको कारण देखाएर सम्झौता खारेज गरेको देखियो । २५ करोडको वार्षिक प्रिमियम र पाँच करोडको दाबी भुक्तानी बीचको विशाल अन्तर हेरेर आफ्नो फाइदाको लागि सम्झौता भंग गरेको बुझिन्छ । सञ्चय कोष आफ्नो ठाउँमा ठीक होला तर यस्तो प्रवृत्ति बढ्दै गए बीमा कारोबारप्रति अझ अविश्वास बढ्ने खतरा म देख्छु ।

नेपालको बीमा बजार समग्रमा उच्च वृद्धिमा छ । हाम्रो बीमा उद्योग अहिले हिमालबाट तराई झर्दै गरेको तीव्र गतिको नदी जस्तो छ । सही तरिकाले डोहोर्‍याए यसले उच्च प्रतिफल दिन्छ । होइन भने कतिबेला दुर्घटना हुन्छ भन्न सकिँदैन ।

बीमा समितिको अध्यक्षको लागि मन्त्रिपरिषदमा तपाईंको नाम प्रस्ताव भएको थियो, तर बीमा क्षेत्रको अनुभवी भएर पनि अवसर पाउनु भएन नि ?

सरकारले नियुक्त गर्ने पदमा जसलाई योग्य ठान्छ उसलाई लैजान्छ । जसको राजनीतिक पहुँच हुन्छ उसैले पाउने हो । मेरोलागि त बीमा क्षेत्रका अनुभवीमध्येबाट बीमा समितिको अध्यक्षमा सिफारिस हुनु नै ठूलो कुरा भयो ।

नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफलाई उचाइमा पुर्‍याएको प्रमुख कार्यकारी अधिकृत तपाईं अचानक बैंकतिर लाग्नु भयो र फेरि बीमामा फर्कनु भयो । यो फेरबदलको कारण के होला ?

म आफूलाई टिमवर्कमा विश्वास गर्ने असल व्यवस्थापक ठान्छु । नेपाल लाइफलाई दुई वर्षमा उचाइमा पुर्‍याएर विदेशी, विशेषतः भारतीयले मात्र, जीवन बीमा कम्पनी चलाउन सक्छ भन्ने मान्यता तोड्न सफल भएँ । त्यसपछि मात्र नेपालको जीवन बीमा कम्पनीमा नेपाली प्रमुखहरुले मौका पाउन थालेका हुन् ।

नेपाल लाइफलाई सफल बनाएपछि आफ्नै नेतृत्वमा नयाँ कम्पनी चलाएर कर्पोरेट क्षेत्रमा स्थापित हुनपर्छ भन्ने सोचले एशियन लाइफ खोलेको हुँ । सँगै लाइसेन्स पाएका चारवटा कम्पनीमध्ये एशियन लाइफले तीन वर्षमा चमत्कार नै गरेको थियो । दुई वर्षको कारोबारमा ३० प्रतिशत लाभांश र ५२ रुपैयाँ पोलिसी बोनस प्रस्तावित गर्दा बीमा बजारमा तरंग आएको थियो ।

एशियन लाइफलाई नरोके बीमा बजारमा यसले दबदबा कायम गर्छ भन्ने डरले बिग हाउसका साहुहरुले बीमा समितिका तत्कालीन अध्यक्ष र कार्यकारी निर्देशकलाई प्रयोग गरी बीमा क्षेत्रबाट मलाई हटाउन षड्यन्त्र गरे । र सफल पनि भएँ । कर्पोरेट क्षेत्रमा यस्तो ‘वार’ भै रहन्छ, मैले अन्यथा लिइनँ । अनि विवाद गर्नुभन्दा हट्नु उचित ठानेर आफ्नै फाइनान्सतिर लागेको हुँ ।

फाइनान्सलाई पनि पाँच वर्षभित्र दुई पटक मर्जर गरेर ठूलोमध्येको विकास बैंक बनाएर आफैंले खोलेको महालक्ष्मी लाइफमा आएको छु । जागिर खानेभन्दा नयाँ काम गर्ने सोचले यस्तो गरेको हुँ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment