Comments Add Comment

गुल्मीका विद्यालयमा कोरानासम्बन्धी सचेतना

२८ फागुन, गुल्मी । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न गुल्मीका विद्यालयमा सचेतना कक्षा सञ्चालन गरिएका छ । जिल्ला सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कोरोना भाइरसबाट बच्न सचेतना कक्षा सञ्चालन गरिएको हो ।

रेसुङ्गा नगरपालिक स्वास्थ्य शाखाको कर्मचारीहरुले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारी मुलक सन्देश दिएको विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले जानकारी दिइन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले यसबाट जोगिन विद्यार्थीहरुलाई सचेतना कक्षाहरु राखिएको प्रधानाध्यापक भुसालको भनाइ छ ।

स्थानीय तहले हेल्प डेक्स राख्ने

कोरोना भाइरसबारे जानकारी र उपचारको लागि गुल्मीका स्थानीय तहमा हेल्प डेक्स स्थापना र आवश्यक सूचना र उपचारको व्यवस्थापन गरिने भएको छ ।

जिल्लास्थित सम्पूर्ण पालिकाहरुले आवश्यक औषधि व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय भएको छ । त्यस्तै जिल्ला अस्पताल गुल्मीले औषधि व्यवस्थापनलगायत आइसोलेसन वार्डको व्यावस्था गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलिले बताए ।

जिल्ला प्रशासन कार्यालय गुल्मी तथा सम्पूर्ण सुरक्षा निकायले सुरक्षाको व्यावस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ ।

छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प डेक्समा अनिवार्य रुपमा चेकजाँच गरिने निर्णय भएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख पराजुलिले बताए ।

मेला र महोत्सवमा प्रतिबन्ध

जिल्ला प्रशासन कार्यालय गुल्मीले मेला महोत्सवमा प्रतिबन्ध गरेको छ । प्रशासनले एक सार्बजनिक सूचाना जारी गर्दै कोरोना भाइरसको संक्रमणको जोखिम बढने भएकाले मानिसहरको भिडभाड हुने गरी मेला महोत्सव कार्यक्रमहरु नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले बताए ।

नेपाल सरकार स्वस्थ्य जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा कोरोना भाइरसको संक्रमणको जोखिम बढने भन्दै धेरै मानिस उपस्थित हुने सभा,महोत्सव, सम्मेलन, शैक्षिक संस्थाको वार्षिक उत्सव जस्ता कार्यक्रम नगर्न आग्रह गरेको जारी सार्बजनिक सूचनामा उल्लेख छ ।

सूचनामा धेरै मानिस उपस्थित हुने समारोहमा उपस्थित नहुन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment