Comments Add Comment
मेरो कथा :

चोटले निल्यो मेरो खेल करिअर

खेलाडीको सबैभन्दा ठूलो सत्रु के हो ? म त भन्छु–चोट । यही चोटलाई परास्त गर्न नसक्दा आफ्नो खेलाडी जीवन छोट्टिएको पीडा छातिमा बोकिरहेको छु ।

भलिबल खेलमा रमिरहेको थिएँ । देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने अभिलाशा बाँकी नै थियो । तर, अनायास घाइते भएँ । त्यो पनि फेरि खेल्न नसक्ने गरी । एउटा खेलाडीका लागि योभन्दा ठूलो पीडा के हुन्छ ? त्यसबेला आवश्यक सजगता अपनाएको भए अझै खेलिरहेको हुन्थेँ होला म ।

सन्तोषको कुरा, खेल्न छाडे पनि म भलिबलबाटै टाढा भएको चाहिँ छैन । खेलाडीबाट प्रशिक्षक बनेको छु । मेरो भूमिका, दैनिकी फेरिएको छ । खेलाडीको जस्तो क्रेज प्रशिक्षकको हुँदैन । तर, पनि यो निकै अहम् जिम्मेवारी हो । अब प्रशिक्षकका रुपमा राम्रा खेलाडी उत्पादन गर्नु मेरो ध्येय हुनेछ ।

केही दिनअघि सम्मानित हुने मौका पाएँ । मलाई नयाँ पुस्ताले चिन्दैन कि जस्तो लागेको थियो । तर सन्जय स्मृति प्रतिष्ठानले सम्मान गर्दा अझै मेरो पहिचान हराएको रहेनछ भनेर खुशी लाग्यो । नेपालमा खेलाडीले पाउने भनेको यही सम्मान नै त हो । समर्थकको माया नै हो । यसैले हामीलाई उर्जा प्राप्त हुन्छ ।

केही बर्ष भयो मैले नियमित भलिबल नखेलेको । तर पूर्व राष्ट्रिय भलिबल खेलाडी हुँ भन्दा अहिले पनि गर्व लाग्छ । राष्ट्रिय टिमबाट धेरै खेलेँ, स्वदेशमा र विदेशमा । तर अन्तर्राष्ट्रिय उपाधिको धोको अधुरै रह्यो । पिरलो यही छ ।

यतिबेला तपाईंलाई सुनाउन मसित दुई कथा छन् । चोट अगाडि र चोट पछाडिका । अँ, चोटसँगको संघर्ष पनि त छ । सुरुमा चोटअघिकै कथा भन्छु ।

०००

गुल्मी जिल्ला नै भलिबलमय ठाऊँ । त्यसैले मैले सानैदेखि भलिबल खेले । सिनियर दाइहरुले भलिबल खेलेको खेलेको देख्यौं, हामीले पनि त्यही पछ्यायौं । स्कुलमा पनि भलिबल नै खेलेँ । कक्षा सकिनासाथ स्कुल ड्रेसमै भलिबल खेल्न कुद्थ्यौं । रमाइला थिए ती दिनहरु । रमाइलोका खेल्दाखेल्दै गाउँमा सबैले यसले त राम्रो खेल्छ भनेर प्रशंसा गर्न थाले ।

कहिलेकाहीँ टीभीमा दाइहरुले खेलेको खेल हेर्न पाइन्थ्यो । खेल हेर्दा अरुले खेलाडी भनेको त यस्तो हुनुपर्छ भनेर मलाई पनि सुनाउँथे । मलाई पनि म पनि खेलेर देखाउँछु भन्ने लाग्न थाल्यो । भरत साह, प्रेम भण्डारी, सरोज श्रेष्ठको खेल निकै मन पर्थ्यो, उहाँहरुको शैली पछ्याएर खेल्न थाले । पछि उहाँहरुसँगै खेले पनि । इम रानाको खेल पनि मन पर्थ्यो, उहाँसँग पनि खेल्ने अवसर पाएँ ।

२०६४ सालमा काठमाडौं आएँ । त्यसबेला मेरा दुईवटा काम थिए । आधा सयम क्बलमा खेल्ने, आधा क्यासिनोमा जागिर खाने । त्यसक्रममा मैले मजदुर शहीद स्मृति क्लब र जावलाखेलबाट खेले ।

६५ सालतिर जावलाखेलबाट एउटा खेल पुलिससँग भयो । हाम्रो टिममा कुलबहादुर थापा, श्याम राजथला, एस महर्जन, खेम पुर्जा, किशोर चौधरी, राजकुमार कार्की लगायत थियौं । पुलिसको टिममा भरत शाह, इम राना, सरोज श्रेष्ठलगायतका खेलाडी । त्यो खेलमा हामीले पुलिसको टिमलाई टक्कर दियौं । ५ सेट खेल्दै विभागीय टिमलाई टक्कर दियो भनेर हाम्रो टिमको प्रशंसा भयो ।

त्यही खेलले पुलिस प्रवेशको बाटो खुल्यो । भरत शाह, इम राना लगायतले ट्रेनिङको अवसर जुराइदिए । यिनीहरु ठीकै छन् भन्ने भएछ, तिमीहरु जागिर खान चाहन्छौं भने आऊ भनेर अफर गरियो, अनि म र कुलबहादुर थापा गयौं ।

प्रहरी जवान हुन पार गर्नुपर्ने सवै प्रक्रिया पुरा गर्दै हामी ६७ सालमा पुलिसमा प्रवेश ग‍र्‍यौं । बाहिरबाट खेल्दा राष्ट्रिय टिममा पर्ने सम्भावना पनि कम हुन्छ । किनकी ट्रेनिङ कम हुन्थ्यो । पुलिस, आर्मी जस्ता टिममा गयो भने राष्ट्रिय टिममा पर्ने सम्भावना पनि बढी हुने भएकाले पुलिसमा जानु उचित ठानेँ ।

त्यसपछि शुरु भयो पुलिसमा जागिर, ट्रेनिङ, खेल ।

०००

पुलिसबाट त खेल्ने भएँ । जागिर पनि भयो । त्यसपछि राष्ट्रिय टिमबाट खेल्ने रहर जाग्यो ।

२०६९ सालमा राष्ट्रिय टिममा पनि परेँ । पहिलो दक्षिण एसियाली आमन्त्रण भलिबल प्रतियोगितामार्फत डेब्यू गरे । त्यसबेला कपिल गुरु कोच हुनुहुन्थ्यो । म अलराउण्डर पोजिसनमा खेल्थे । टिममा परिन्छ कि भन्ने थियो, एकदम ढुकढुक हुने रहेछ । टिममा परेँ । फोनबाट घर परिवारलाई सुनाएँ । आमा बुबा दाइलाई खुशी सुनाएँ । उहाँहरुले टिभीमा लाइभ हेर्छम हामी भनेर भन्नुभयो । अहिले पनि टीभीमा हाम्रो खेल आयो भने छुटाउनु हुन्न ।

राष्ट्रिय टिममा पर्नु नै मेरो लागि ठूलो खुशी थियो । अझ खेल्न पाउनु झन् ठूलो खुशी । टीभीमा हेर्दै आएका खेलाडीहरुसँग एउटै टिमबाट खेल्न पाउँदा एकदमै खुशी थिएँ । कोर्टमा उत्रने पालो आयो । पहिलो पटक खेल्दा खुसीसँगै डर पनि थियो । कभर्डहलभरी दर्शक थिए, नेपालको पक्षमा हुटिङ गरिरहेका थिए । त्यो बेला हामीले जित्न सकेनौं, तर केही नयाँ कुरा सिक्न पायौं । त्यसपछि ट्रेनिङलाई प्राथमिकता दिएँ । बाहिरका खेलहरु हेर्न थाले, पछ्याउन थालेँ ।

एक पटक राष्ट्रिय टिममा परेपछि फेरि परिन्न कि भन्ने लाग्थ्यो र अझै मिहिनेत गरेर ट्रेनिङ गरिन्थ्यो । निरन्तर ट्रेनिङ गर्दा खेललाई निखार्न सकिन्छ । राष्ट्रिय टिममा धेरै समय ट्रेनिङ हुन्नथ्यो तर क्लबमा निरन्तर अभ्यास गरिराख्यौं ।

००००

राष्ट्रिय टिमबाट धेरै खेल्ने अवसर जुरेन । तर २०७२ सालमा बंगलादेशमा खेलेको एभीसी सेन्ट्रन जोन भलिबल मेरा लागि यादगार छ । त्यतिबेला हाम्रो टिम राम्रै थियो तर भूकम्पले गर्दा ट्रेनिङ राम्रोसँग भएन । त्यही बेला चिफ कोच केशवलाल श्रेष्ठ बित्नुभयो । त्यसको १/२ हप्तापछि हामी पहिलो संस्करणको सेन्ट्रल जोन खेल्न बंगलादेश गयौं । हामीले अहिलेको च्याम्पियन टिम कीर्गिस्तानलाई हरायौं । घरेलु टोली बंगलादेशलाई पनि पराजित गर्‍यौं । तर अफगानिस्तानसँग नपत्याउँदो तरिकाले ५ सेटमा हार्न पुग्यौ र तेस्रो हुनबाट चुक्यौं ।

तै पनि घरेलु कोर्टमा अफगानिस्तानलाई हराएको थियौं । सेन्ट्रल जोनमा कीर्गिस्तान र बंगलादेशलाई हरायौं त्यही नै मेरो खेलको उपलब्धी हो भन्ने लाग्छ । किनकी सेन्ट्रल जोनपछि मैले एक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता खेलें, १२औं साग ।

तयारी राम्रै थियो । मेरो फर्म पनि राम्रो थियो । पुलिसमा पनि राम्रै खेलाडीमा गनिन्थे । राष्ट्रिय टिममा इरानी कोच आउनुभायो । २ महिना ट्रेनिङ गर्‍यौं । टिममा इम, सन्जय, मानबहादुर महेन्द्र लगायतका खेलाडी थियौं । तर हामीलाई समयले साथ दिएन । हाम्रो समूहमा उपाधि दावेदार भारत र श्रीलंका पर्‍यो । दुई वटा टिमसँग हामी पराजित भयौं र समूह चरणबाटै घर फर्कियौं । त्यसपछि स्वास्थ्यले साथ दिएन, डाक्टरले पनि अझै खेलिस् भने जे पनि हुनसक्छ भन्नुभयो । अनि मेलै सबैभन्दा माया गरेको खेल छाडेँ ।

तर राष्ट्रिय टिमसंगै पुलिसबाट खेल्दाका क्षण अझै ताजा छ । नहोस् पनि किन ? त्यसबेला घरेलु भलिबलमा पुलिस बाघ जस्तै थियो । कुनै प्रतियोगिताको फाइनलमा पुलिस पुग्यो भने उसैले उपाधि जित्छ भन्ने हुन्थ्यो । त्यो बेला टिममा सरोज श्रेष्ठ, सन्जय अर्याल, इम राना, प्रेम शाही जस्ता सिनियर खेलाडी थिए । र, हामीले ३/४ वर्षको त्यो अवधिमा हामीले लगभग ४०/४५ वटा प्रतियोगिता खेल्यौं, जसमा ५/६ वटा मात्र जित्न सकेनौं ।

अहिलेको टिम फरक भएको छ । सन्जय अर्याल, सरोज श्रेष्ठले छाड्नुभयो । प्रेम शाही विदेश जानुभयो । त्यसपछि टिम अली खस्कियो । नयाँ खेलाडी आएर कमब्याक गरिरहेको थियो । तर अहिले यअी बेला केही खेलाडीलाई चोटले सतायो । त्यसैले हामीलाई २/४ वटा प्रतियोगितामा अझै गाह्रो र्पो देखिराछु ।

०००

आफ्नै असाबधानीले चोट बोके । ढाडको त्यही चोटले खेल जीवन खाइदियो । एक्कासी दुखेको भने होइन । ५/६ महिना अगाडिदेखि लक्षण देखिएको थियो । । खुट्टा झमझमाउँथ्यो । ब्यालेन्स नभएकाले होला, एक्सरसाइज नपुगेकाले होला भन्दै बसेँ ।

गाह्रो हुँदै गएपछि पुलिस हस्पिटल गएँ । सबै चेपअप, एक्सरे गरेपछि डाक्टरले ‘तपाईको नशा च्यापिएको छ । एकदुई हप्ता थेरापी गर्नुस्, भएन भने फेरि देखाउनुस्’ भन्नुभयो । ठीक भएन, फेरि देखाएँ । अब सर्जरी गर्नुपर्छ भन्नुभयो ।

मैले ‘सल्लाह लिएर गरौंला, अहिले नै डेट लिन्न’ भने । फिजिकल लेभल नपुगेर होकि भनेर एक्सरसाइज गर्दै गएँ । झन् समस्या आयो । अन्त्यमा म अन्नपूर्ण न्यूरो हस्पिटल गएँ । डाक्टर बसन्त पन्तलाई भेटेँ । उहाँले एमआरआई गराउनुभयो र, सबै रिपोर्ट हरेपछि भन्नुभयो, यस्तो अवस्थामा खेल्नुहुन्न ।’

त्यसपछि खेलाडी करियर सकियो । सुरुमै उपचार गराएको भए ठीक हुन्थ्योहोला, अहिले पनि टिमबाट हुन्थेँहोला जस्तो लाग्यो । साथीहरु विदेशमा खेल्न जाँदा चोट नबोकेको भए म पनि खेल्न जान्थेँ होला भनेर सोच्थे । तर आज जे छु, भलिबलकै कारण छु । भलिबल खेलकै कारण देशभित्र र बाहिर चन्द्र कुँवर भनेर चिनायो भनेर चित्त बुझाउँछु, खुसी हुने प्रयास गर्छु । अनि फेरि एक मनले भन्छ, बिरामी पनि त भलिबलले नै बनायो नि ।

उपचारका क्रममा हङकङबाट सहयोग पनि पाएँ । सन्जय अर्याल लगायतले पैसा उठाएर मलाई सहयोग गर्नुभयो । नेपालमा पनि हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सहयोग पाए । मेरो भने खेल्ने धित मरेकै थिएन । सर्जरी गरेर ठिक हुन्छ कि भनेर डाक्टरसँग सल्लाह पनि लिएँ । तर उहाँहरुले ‘शतप्रतिशत ठीक हुन्छ’ भन्न सक्दिन भनेपछि अहिले थेरापी र एक्सरसाइज गरिरहेको छु ।

१३औं सागमा बिच भलिबलमार्फत प्रयास पनि गरेँ, तर सकिनँ । स्वास्थ्यले साथ नदिँदोरहेछ । बिच भलिबल २ जनाले खेल्ने खेल भएकाले अलराउण्डर भएर खेल्नुपर्ने । खेलको शैली, ग्राउण्ड सबैमा फरक छ, त्यसैले म खेलमा फर्किन सकिनँ ।

साथीहरुले पनि अब खेल मात्र हेरेर हुँदैन, आफ्नो स्वास्थ्य पनि हेर्नुपर्छ भनेर भन्नुभयो । त्यसपछि मैले पनि सोचेँ, यतिन्जेल खेलेँ, अब खेलेर पनि राष्ट्रिय टिममा फर्किन सक्दिन होलो । राष्ट्रिय टिममा खेल्न नसक्ने भएपछि क्लबमा भाईहरुलाई अवसर दिन्छु । बरु कोचिङमा लाग्छु र नयाँ खेलाडी उत्पादन गर्छु । अनि लेभल वान कोचिङ कोर्स गरेँ । सँगै भलिबल खेलेका सरोज श्रेष्ठको असिस्टेन्ट कोच भएर नेपाल पुलिस क्लबमा प्रशिक्षण दिन थालेको छु ।

००००

नेपालमा भलिबलका खेलाडीहरु चोट बोकिरहन्छन् । पुलिसमा अहिलेसम्म ३ जना भए । मपछि कुलबहादुर अनि अहिले द्वारिका थापा पनि ढाड दुख्ने समस्याबाट पीडित छ । किन हुन्छ त यस्तो समस्या ? जमिनमा खेलेर हो कि जस्तो पनि लाग्छ किनकी म्याटमा खेल्नुपर्ने गेमा जमिनमा खेल्दा ल्याण्डिङ मिल्दैन । हामीलाई आराम नपुगेर हो कि जस्तो पनि लाग्छ, किनकी कहिले कता कहिले कता डुलिरहेको हुन्छौं, खाने, सुत्ने समय पनि व्यवस्थित छैन ।

बेलाबेला यस्तो कुरा मनमा आइरहन्छ । तर यही सोचेर बस्ने कुुरा पनि भएन । भलिबल छोड्न पनि सकिएन । त्यसेले क्लबमा भएका खेलाडीलाई प्रशिक्षण राइरहेको छु । जागिर हुने बेलासम्म क्लबमा रहन्छु, त्यसपछि गाउँतिर गएर आफ्नो क्षेत्रतिर भलिबल विकासमा लाग्ने योजना पनि छ । त्यसका लागि लेभल २ कोर्स गर्छु, यता नभए भारतमा गएर पनि ट्रेनिङ गर्ने सोच छ ।

०००

एक दशक भलिबल खेलेँ । खेलबाटै चिनिएँ । भलिबल नखेलेको भए मलाई कमैले चिन्थे होला । त्यसैले मलाई यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद भन्न चाहन्छ ।

र, म चाहन्छु, मेरो जस्तो अवस्था अरुको नआओस् । राष्ट्रिय खेलकुद परिषद् छ, भलिबल संघ छ, चोट बोकेका खेलाडीहरुका लागि जसले जे सकिन्छ, त्यो सहयोग गरौं । किनकी म पो विभागमा छु र केही सहज भएको छ । अरु खेलाडीलाई चोट लाग्यो भने के गर्ने ? उनीहरुबारे पनि सोच्नुपर्छ ।

(खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समेटिने अनलाइनखबरको श्रृङ्खला ‘मेरो कथा’को ७४ औं अंकमा यो हप्ता भलिबल खेलाडी चन्द्र कुँवरको कथा ।)

प्रस्तुति : गोविन्‍दराज नेपाल

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment