Comments Add Comment

‘निजी विद्यालयमा संकट देखियो, अब मर्ज गरौं’

निजीमा अंग्रेजी मोह, सामुदायिकमा मासिक शुल्क दुवै गलत

पछिल्लो समय हामीले निजी विद्यालयमा नेपाली भाषा बोल्दा दण्डित हुनुपर्ने, जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना गर्‍यौं । यो अवस्था २०४६ सालको आन्दोलनपछि आएको हो । राष्ट्रिय भाषालाई यसरी दोस्रो दर्जामा राख्नु कदापि हुँदैन । यो संविधान ऐन कानूनसम्मत पनि होइन ।

विगतमा भएका कमजोरीलाई सच्याउँदै नेपाली भाषाको विकासका लागि अब केन्द्रित हुने गरी नयाँ पाठ्यक्रम बनाउन आवश्यक छ । हामीबाट कमजोरी भएका छन् । २०४६ सालको परिवर्तनपछि नेपालको राष्ट्रियतालाई शिक्षासँग जोड्न सकेनौं, जसले गर्दा अंग्रेजी सभ्यता हाबी भयो । विद्यालयमा अंग्रेजी सिकाउन थाल्यौं । नेपाली बोल्न दण्डित हुनुपर्ने विडम्बना सिर्जना भयो ।

नमस्ते भन्नुको साटो गुड मर्निङ भन्न थाल्यौं । हाम्रो सभ्यता नमस्कार हो । तर, हामीले अंग्रेजी संस्कार जबरजस्ती लाद्यौं, जुन हाम्रो कमजोरी हो । अब ती कमजोरी हटाउनुपर्छ । हाम्रो शिक्षालाई राष्ट्रियतासँग जोड्नुपर्छ । हाम्रो पहिचान र राष्ट्रियतालाई छोड्नुहुन्न ।

अहिले शिक्षामा ठूलो विकृति छ । एकै स्थानमा आवश्यकताभन्दा बढी विद्यालय भए । हिजो मापदण्ड नहेरी विद्यालय खोल्ने अनुमति दिइयो । आज समाजमा आवश्यकताभन्दा बढी विद्यालय भए । बढी विद्यालय भएपछि अस्वस्थ प्रतिस्पर्धा भयो ।

अधिकांश विद्यालय समस्यामा छन् । विद्यालयको जग्गा र बिल्डिङ छैनन् । भएकाको पनि बैंकको ऋण छ । बैंकलाई समयमा ऋण तिर्न सकेका छैनन् । शिक्षक-कर्मचारी राम्रा राख्न सकेका छैनन् । शैक्षिक सामाग्रीको व्यावस्थापन राम्रो छैन । शिक्षक-कर्मचारीलाई राम्रो तलब दिन सकेको छैन । विद्यार्थी न्यून भएका कारण ८० प्रतिशत विद्यालय कमजोर छन् ।

हामीले सरकारलाई अब नक्साङ्कन नगरी विद्यालय सञ्चालनका लागि थप अनुमति नदिनू भनेका छौं । नक्साङ्कन भन्नाले एउटा पालिकाभित्र कति जनसंख्या छ, कुन-कुन स्थानमा कति विद्यालय आवश्यक छन्, अध्ययन गरेर खोल्ने नखोल्ने निर्णय गर्नुपर्छ । आवश्यकता छ भने मात्र अनुमति दिने । आवश्यकताभन्दा बढी भएको स्थानमा मर्ज गर्न सरकारले भूमिका खेल्नुपर्‍यो ।

विद्यालयहरु कम्पनीमा मर्ज गर्नुपर्छ । कम्पनीमा नभए सहकारीमा जाऔं । त्यो पनि भएन भने ट्रष्टमा मर्ज गर्दै जानुपर्छ । निजी विद्यालयमा समस्या भएकै कारण छात्रवृत्ति पारदर्शी छैन । छात्रवृत्ति जति दिनुपर्ने हो, त्योभन्दा धेरै साना र मझौला विद्यालयले संख्या पुर्‍याउने नाममा सहुलियत दिएका छन् ।

एकातिर अंग्रेजी माध्यम, अर्काेतर्फ नेपाली माध्यम छ । एउटै स्कुलमा दुईथरि कक्षा कोठा हुनुभएन । अंग्रेजीका लागि कम्युटर ल्याब छ । डेक्स-बेञ्च अलग छन् । नेपाली माध्यम पढ्नेका लागि त्यस्तो व्यवस्था छैन

अर्काे बिडम्बना, पुस्तकका नाममा विद्यालयलाई कमिसन खुबाउने प्रचलन छ । यो भ्रष्टाचार हो । प्याब्सनले भ्रष्टाचार नगर्नुहोस् भनेर विद्यालयहरुलाई निर्देशन दिएको छ । छुट अभिभावक र विद्यार्थीलाई दिनुहोस्, विद्यालयलाई नदिनुहोस् भनेर प्रकाशकलाई पटक-पटक भनेका छौं ।

सामुदायिक विद्यालयले समेत शुल्क उठाउन थाले

सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्ययमा अध्यापन गराउन थालेका छन् । यो राम्रो कार्य हो । तर, एउटै छानामुनि विभेद हुनुभएन । एकातिर अंग्रेजी माध्यम, अर्काेतर्फ नेपाली माध्यम छ । एउटै स्कुलमा दुईथरि कक्षा कोठा हुनुभएन । अंग्रेजीका लागि कम्युटर ल्याब छ । डेक्स-बेञ्च अलग छन् । नेपाली माध्यम पढ्नेका लागि त्यस्तो व्यवस्था छैन । नेपाली माध्यममा गरीबका छोराछोरी पढ्छन् । एउटै विद्यालयमा दुई किसिमको विभेद छ भने त्यो ठूलो सामाजिक अन्याय हो ।

सरकारले लगानी गरेको विद्यालयमा दुई किसिमको शिक्षा दिन मिल्दैन । निजीमा हुन्छ भने पनि त्यो अपराध हो । अंग्रेजीका नाममा, सामुदायिक विद्यालयमा मासिक शुल्क उठाउने परम्परा छ । यसरी सहयोगका नाममा शुल्क लिन मिल्दैन । सहयोग ऐच्छिक हुन्छ । तर, उहाँहरुले निजी विद्यालयले जस्तै फी नै उठाउनु भएको छ, सहयोगका नाममा । सहयोगका नाममा उठेको शुल्कको कर तिरेका छैनन । जुन सामुदायिक विद्यालयको अतिरिक्त आम्दानी भयो । शिक्षा सुधार गर्नुपर्छ, तर विकृति निम्त्याउनु हुँदैन ।

हामी निजी विद्यालय सञ्चालकहरु सामुदायिक विद्यालयका विरोधी होइनौं । हाम्रो समग्र शिक्षाको विकास हुनुपर्छ । शिक्षाको विकास नभए सामाजिक र आर्थिक रुपान्तर हुन सक्दैन ।

हामीले सुधारका अभियान सुरु गरेका छौं । निजी विद्यालयमा अनिवार्य सामाजिक शिक्षा र नेपाली भाषा कक्षा एकदेखि नै सुरु हुँदैछ । हामीले हिजो वास्ता गरेनौं । नेपाली भाषाको विकासका लागि संस्कृत शिक्षा पनि आवश्यक छ । अंग्रेजीको विकास पनि आवश्यक छ । संसारलाई जोड्न नेपाली भाषा पर्याप्त छैन । तर, हिजो कमजोरी भएका छन्, हामी भाषा संरक्षण गर्न जिम्मेवार हुनुपर्छ ।

(निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनका अध्यक्ष पुरीसँग अनलाइनखबरकर्मी हरि अधिकारीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment