 
																						३० फागुन, काठमाडौं । उदयपुरबाट पक्राउ परेका विप्लव समूहका भनिएका १४ जनामध्ये १३ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, हातहतियार तथा संगठित अपराधसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय, धनुषाले उनीहरुमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप प्रक्रिया अघि बढाएको हो ।
पक्राउ परेकामध्ये एक जना कम उमेरका भएकाले छाडिएका छन् । धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतका अनुसार १२ वर्ष उमेरका ईश्वर पुन मगरलाई हाजिरी जमानीमा जाडिएको हो ।
‘कम उमेरको भएकाले छाडेका हौं, अरु अनुसन्धान भइरहेको छ’, उनले अनलाइनखबरसँग भने ।
बुधबार गणेशनाथ चारधाम नगरपालिका–५, गौरीखोलामा रहेको गोठाबाट बुधबार १४ वर्षीया करिना तामाङलाई विप्लव समूहले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । त्यही आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाएको संयुक्त अपरेशनमा १४ जना पक्राउ परेका थिए ।
पक्राउ परेका अधिकांश २० भन्दा कम उमेरका छन् ।
पक्राउ पर्नेमा उदयपुर ताबिलका १८ वर्षका अविनाश तामाङ, गाईघाटका २० वर्षका आशिष लामा, ताप्लेजुङकी १६ वर्षकी रञ्जना राई, धनकुटा पाख्रिबासकी १९ वर्षकी अनिता राई, कैलालीकी १९ वर्षकी अनुष्का राउत रहेका छन् ।
त्यस्तै, मोरङ आइतबारेकी १७ वर्षकी सपना राई, मोरङका १५ वर्षका आशिष श्रेष्ठ र इलाम फाकफोककी २० वर्षकी मुस्कान राई छन् । त्यस्तै, सर्लाही लालबन्दीकी १६ वर्षकी रीता कार्की, ताप्लेजुङ खोक्सिङका २० वर्षका विकास राई, इलाम बतासेका १७ वर्षका आयुस मगर पनि पक्राउ परेका छन् ।
विप्लव समूहले उनीहरुलाई प्रलोभनमा पारेर सैन्य तालिम दिन खोजेको हुनसक्ने आधार भेटिएको प्रहरीले जनाएको छ । समूहका संलग्न सैन्यतर्फका भोजपुरका ४५ वर्षका मनोराम राई र इटहरीका २८ वर्षका विवेक खड्का पनि पक्राउ परेका छन् । उनीहरु समूहका कुन तहका नेता हुन् भन्ने खुलिनसकेको एसपी बस्नेतले बताए ।
उदयपुरतर्फ हिँड्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट साथबाट ११ वटा सकेट बम, ३ थान पेस्तोल र त्यसमा लाग्ने ९ राउण्ड गोली, एउटा प्रेसर कुकर, २ वटा खुकुरी, २ मिटर डेटोनेटर तार र २ थान मोवाइल सेट पनि बरामद भएको थियो ।
उनीहरुका साथबाट तालिम सम्बन्धि निर्देशिका र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको थियो । बरामद दस्तावेजहरुको अध्ययन गर्ने कार्य भइरहेको उनले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4