Comments Add Comment

श्याम साहलाई मनपर्ने ५ कथा

१ चैत, काठमाडौं । सिराहाका कथाकार श्याम साहको ‘अब्बा’ कथासंग्रह प्रकाशित छ । राजनीति र सामाजिक उत्पीडनमाथि कथा लेख्न रुचाउने साह अन्य कथाकारको कथा पढ्न उत्तिकै मन पराउँछन् ।

नेपाली र विश्वसाहित्यको ‘कथा विधा’मा रुची राख्ने उनी सुरुमा रुसी र हिन्दी कथाबाट प्रभावित भएको बताउँछन् ।

आफूले पढेमध्ये बारम्बार सम्झनामा आइरहने पाँच कथाबारे साहले अनलाइनखबरसँग यसरी चर्चा गरे –

आत्महन्ता : नारायण ढकाल

‘आत्महन्ता’ कथामा ४६ सालपछिको वामपन्थी आन्दोलनमा छाएको चरम निराशाको सचित्र वर्णन गरिएको छ । राजनीति र त्यसको विकृतिलाई कथाको रुप दिएर बेजोड प्रस्तुत गरिएको छ ।

यसो त, नारायण ढकाल आफैँ पनि राजनीतिमा सक्रिय मान्छे ! उहाँले राजनीतिको भित्री परिदृश्यसँग जोडिँदा जे अनुभव गर्नुभयो, त्यसलाई आफ्नै अनुुभूतिसँग मिसाएर कथामा उतार्नुहुन्छ । झुट र पाखण्डको चर्को विरोध गर्नुहुन्छ । उहाँको यही विशेषता झल्किएको एउटा सानदार कथा हो, ‘आत्महन्ता’ ।

लाटो पहाड : उपेन्द्र सुब्बा

‘लाटो पहाड’ उपेन्द्र सुब्बाको कथा संग्रहको शीर्षकथा हो । लिम्बू समुदायका मानिसले च्याब्रुङ बनाउन रुख काट्दा राज्यले थुनामा राखेको विषय छ यसमा । आज हामी सामाजिक बहिष्करणको कुरा गर्छौँ । जाति, भाषा र संस्कृति कसरी राज्यको दमनमा पर्छ, त्यसको चर्चा गर्छौँ ।

यही कुरालाई उपेन्द्र सुब्बाले कलात्मक बनाएर ‘लाटो पहाड’मा अभिव्यक्त गरेका छन् । अनि, कथाको प्लटलाई किराती लवजमा प्रस्तुत गरिएकाले कथा झनै मौलिक बन्न पुगेको छ । उपेन्द्र सुब्बा, कथा र कवितामा लिम्बुवान्को स्वाद ट्वाक्क मिसाउन सिपालु भएकाले कथा स्मरणीय बन्न पुगेको छ ।

चलकेट : नयनराज पाण्डे

नयनराज पाण्डेले समाजको पीँधमा रहेका मानिसको शक्तिशाली चित्रण गर्छन् । सचेत भएर कथा लेख्ने उनको ‘चकलेट’ नामक कथा मलाई याद आइरहने कथा हो ।

‘उलार’मा प्रेमललवा, ‘लू’ मा सीमानाका कुरा उठाउने पाण्डेले यो कथामा चलकेट खाज्न जाँदा दुर्घटनामा परेकी एक बालिकाको कथा उतारेका छन् । उपन्यास र कथा दुवैमा आˆनो शक्तिशाली उपस्थिति देखाएका पाण्डेका अन्य मधेसकेन्दि्रत कथाहरू पनि उत्तिकै मन पर्छ ।

बाँस : नवीन विभास

यो कथामा जनयुद्धको समयमा एउटा आम मान्छे पहाडबाट झरेको र उसले भोग्नुपरेको युद्धको त्रासदी वर्णन गरिएको छ । राज्य र विद्रोही पक्ष दुवैको चित्रण छ । जनयुद्धको सबैभन्दा बढी पीडा खपेको रोल्पा, रुकुम र दाङ क्षेत्रबाट उदाएका कथाकार नवीन विभासको कथामा नेपाली समाज र युद्धको यथार्थ चित्रण पाइन्छ ।

उनको कथा पढ्दा कुनै बनावटी कहानी पढेजस्तो आभास हुँदैन ।

और अन्त में प्राथना : उदयप्रकाश

यो कथामा उदय प्रकाशले एक भारतीय डाक्टरको कथा चित्रण छन् । पुँजीवाद र शक्तिको दमनमा पनि डाक्टरले आफ्नो श्रमको मूल्य र पेशागत मर्यादा जोगाउन खोज्छन् ।

डाक्टरको धर्म निभाउन खोज्छन् । तर, सामाजिक व्यथितिले उनलाई आफ्नो कर्तव्य पूरा गर्नै दिँदैन । अनि ती डाक्टर आत्महत्या गर्न बाध्य हुन्छन् ।

यसरी पूँजीवाद र आतंकमा एउटा मानिसको मूल्य कसरी समाप्त हुन पुग्छ भनेर देखाइएको ‘और अन्त में प्रार्थना’ कथा म बारम्बार सम्झिरहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment