Comments Add Comment
कोरोनाको प्रभाव :

अत्यावश्यक अवस्थामा मात्र मापसे जाँच, शान्ति मिसन पनि प्रभावित

२ चैत, काठमाडौं । विश्वभरि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न पूर्वतयारी स्वरुप मुलुकको चार वटै सुरक्षा अंगले अभ्यास थालेका छन् ।

सरकारले गठन गरेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्च स्तरीय समन्वय समितिको निर्देशनपछि सुरक्षा निकायले पूर्वतयारी थालेका हुन् ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उपत्यकाबाहिर पोखरा, इटहरी र नेपालगञ्जमा रहेको अस्पताल र फिल्ड एम्बुलेन्सको टोलीलाई मंगलबार जंगीअड्डामा पूर्वअभ्यास गराइँदैछ । सेनाले कारोना रोकथामका लागि कार्यविधि नै तयार गरेर कार्य गरिरहेको छ, जसका लागि एक जना चिकित्सकको नेतृत्वमा टाक्स फोर्स नै बनाएको छ ।

‘उपत्यकाबाहिर रहेका तीन अस्पताल र १८ वटा फिल्ड एम्बुलेन्स टोलीबाट दुई/दुई जनालाई कोरोनाको संक्रमण देखिन थालेको अवस्थामा कसरी काम गर्ने भनेर अभ्यास गराउँदैछौं’, सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुखसमेत रहेका सहायक रथी पाण्डेले अनलाइनखबरसँग भने, ‘तालिमको सहजीकरण सैनिक अस्पताल, छाउनीका प्राविधिकले गर्नेछन् ।’

नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा चार वटा आइसेलेसन बेड तयार छन् । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘आवश्यकताअनुसार अन्य बेड पनि थप्न सकिन्छ ।’

सशस्त्र प्रहरी बलले पनि १५ वटा आइसोलेसन वेड तयार गरेको छ । विभिन्न स्थानमा रहेका ८७ वटा हेल्थ डेस्कमा पनि सशस्त्र प्रहरीका अधिकृत, जवानहरु खटिएका छन् ।

सेना प्रहरीको शान्ति मिसन प्रभावित

कोरोनाका कारण नेपाली सेना र नेपाल प्रहरीको यूएन शान्ति मिसन प्रभावित भएको छ । संयुक्त राष्ट्रसंघको मिसनका लागि दक्षिण सुडान उड्ने तयारीमा रहेका ६९९ जना सैनिक अधिकारी रोकिएका छन् ।

कोरोनाका कारण मिसनमा आउने टोलीलाई यूएनले नपठाउन आग्रह गरेपछि अन्तिम समयमा शान्ति सेनामा खटिने अधिकृत नेपालमै रोकिएका हुन् । दक्षिण सुडान नै जाने पालोमा रहेका नेपाल प्रहरीका १८ अधिकृत पनि रोकिएका छन् ।

प्रवक्ता क्षेत्रीका अनुसार उड्ने तयारी भइरहेकै बेला संयुक्त राष्ट्र संघबाट कोरोनाका कारण देखाउँदै रोकिएको जानकारी आएको छ । यसअघि मिसनमा रहेर फर्किने तयारीमा रहेका अधिकृत पनि उतै अड्किएका छन् ।

सशस्त्र प्रहरीमा भने तत्काल ‘रोटेसन’ नभएकाले यूएन मिसनमा असर परेको छैन ।

‘अत्यावश्यक भए मात्र मापसे जाँच गर्नू’

कारोनालाई लक्षित गरेर प्रहरी प्रधान कार्यालय, नक्सालले अत्यावश्यक भए मात्र मादक पदार्थ सेवनको जाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

क्षेत्रीका अनुसार कोरोनाको माहामारीलाई लक्षित गरेर केही दिन अघि यो निर्देशन जारी गरिएको हो ।

‘मापसे जाँच गर्नु परे पनि पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) लगाएर मात्र गर्नु भनेका छौं’, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस गरिएका क्षेत्री भन्छन्, ‘सामान्य अवस्था जाँच नगर्न निर्देशन दिएका छौं ।’

उनका अनुसार विभिन्न प्रशिक्षण कार्यक्रममा पनि कोरोनासम्बन्धी सचेतनामूलक विषयलाई समावेश गरिएका छन् । आवासीय प्रशिक्षणका बेला दिइने ‘नाइट आउट’ पनि स्थगित गरिएको छ । सामान्य अवस्थामा आवासीय तालिमका वेला प्रहरी अधिकृतलाई शुक्रबार घर जान दिइन्छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सर्वसाधारणमा कोरोनाबारे प्रशिक्षण दिने काम पनि भइरहेको उनले बताए । त्यसका लागि माइकिङ र पर्चा पम्प्लेट वितरणलाई जोड दिइएको क्षेत्रीको भनाइ छ ।

अंगालो मार्न निषेध

तीन वटै सुरक्षा निकायले भिडभाडमा नजान र स्वास्थ्य सावधानी अपनाउन सम्पूर्ण युनिटलाई निर्देशन जारी गरिसकेको छ ।

नेपाली सेनाले सिपाहीलाई भीडभाडमा नजान, नियमित हात धुन र सबै जनामा नियमित रुपमा ज्वरो जाँच गर्न भनेको छ ।

नियमित जाँच गरेर कसैलाई ज्वरो आएको देखिए छुट्टै कोठामा राखेर स्वास्थ्य सावधानी अपनाउन पनि विभिन्न इकाइका कमाण्डरलाई निर्देशन दिइएको जंगीअड्डाले जनाएको छ ।

प्रहरीमा पनि हात मिलाउने, छुने वा अंगालो मार्ने कामलाई निषेध गरिएको छ । साथै, माक्सको नियमित प्रयोग गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment