+
+
Shares

कम्युनिस्टको सरकार छ, कांग्रेस कलाकार ल्याएर उफार्ने ?

नेकपाका कलाकारलाई नबोलाउँदा मेला बन्द गरायौं : लेकाली

टोपराज शर्मा टोपराज शर्मा
२०७६ चैत २ गते १८:१३

२ चैत, बुटवल । नेपाल घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समिति प्रदेश ५ ले बुटवलमा फागुन २१ गतेदेखि चैत २ गतेसम्म मेला आयोजना गरेको थियो । तर, एक साता नपुग्दै मेला स्थगित भयो ।

जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण जोखिमलाई देखाएर मेला रोक्न लगाएको थियो । तर प्रशासनले कोरोनाभन्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध कालाकारहरुले आफूलाई मञ्च नदिएको भन्दै दिएको दबावमा मेला स्थगित गराएको खुलेको छ ।

नेकपासम्वद्ध कलाकार नारायण खनाल ‘लेकाली’ले ‘वामपन्थी नेता कलाकार’हरुलाई स्टेज नदिएका कारण आफूहरुले मन्त्री र प्रमुख जिल्ला अधिकारीलाई थर्काएर मेला बन्द गराएको दाबी गरेको फोनवार्ताको अडियो सार्वजनिक भएको छ ।

मेलाका सांस्कृतिक कार्यक्रम संयोजक राजवीर जैसवालसँग गरेको कुराकानीमा लेकालीले बुटवलमा कम्युनिष्टको ‘राज्य’ भएको तर मेलामा कांग्रेस कलाकारलाई उफार्न खोजेकाले आफूहरुले बन्द गराएको दाबी गरेका हुन् ।

कांग्रेस निकट धेरै कलाकारलाई बोलाउँदा कम्युनिष्ट कलाकारहरु अन्यायमा परेको भनेर गुनासो आएपछि २२ जना बलाकारकै सामुन्ने आफूले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरी, सामाजिक विकासमन्त्री सुदर्शन बराल र प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई टेलिफोन गरेर मेला बन्द नगरे युवा संघका ‘केटाहरु’लाई लगेर गेट भत्काएर आफैं बन्द गराइदिने चेतावनी दिएको उनको दाबी छ ।

उनले मेलामा बोलाइएका कलाकारमाथि अपशब्द समेत प्रयोग गरेका छन् । मेला सञ्चालन गर्न कम्युनिष्टको सरकारबाट पैसा लिएर कांग्रेस कलाकारलाई उफार्न लागेको भन्दै उनले नेकपानिकट कलाकारलाई नबोलाए प्रदेश ५ भर मेला महोत्सव गर्न नदिने चेतावनी दिएका छन् । कम्युनिष्टको ठाउँमा कांग्रेस कलाकार हावी भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर भए पनि रोक्ने उनको दाबी छ ।

‘हाम्रो पैसाले कांग्रेसले ढलीमली गर्ने, हाम्रा साथीहरु बीच पर्ने भनेर हामी आन्दोलन गर्‍यौं’ फोन सम्वादमा लेकालीले भनेका छन्, ‘पाँच जना नेता खाले (कम्युनिष्ट) कलाकार बोलाएको भए बुटवल मेला बन्द हुँदैनथ्यो, च्यानल मिलाएर चल्थ्यो, कोरोना त बाहिर देखाउन मात्र भनिएको हो ।’

आयोजकका अनुसार मेला आयोजना गर्न प्रदेश ५ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पाँच लाख रुपैयाँ दिने सहमति भएको थियो । कृषि मन्त्रालयले पनि केही रकम दिने भने पकि कति भन्ने तय भएको थिएन । प्रदेश सरकारले दिन भनेको पैसालाई नै कलाकार लेकालीले कम्युनिस्ट सरकारको पैसा भनेका हुन् ।

चन्द्र शर्मा र लेकालीको विवाद

टेलिफोन संवादमा लेकालीले राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मालाई कालो कांग्रेस भनेका छन् भने आफूलाई कालो कम्युनिस्ट ।

र, शर्मा प्रतिष्ठानको अध्यक्ष हुँदा लेकाली पदाधिकारीका उम्मेदवार बने पनि पराजित भएका थिए । त्यसबेला नै दुबैबीच देशका विभिन्न स्थानका हुने मेला महोत्सवमा कलाकार लैजाने ‘ठेक्का’को प्रतिस्पर्धा चल्थ्यो ।

बुटवलमा यो पटक शर्मालाई बोलाइएको थियो भने लेकालीलाई निम्तो थिएन । त्यही झोँकमा कलाकार लेकालीले आफ्नो शक्ति प्रयोग गरेर मेला स्थगित गराएका हुन् ।

यद्यपि रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत शर्माले भने कोरोना भाइरसको त्रास र मिडियामा आलोचना भएकाले प्रशासनले मेला बन्द गराएको बताएका छन् ।

मेला पूरा समय सञ्चालन गर्न नपाउँदा ८० लाख रुपैयाँ घाटा बेहोर्नु परेको आयोजकले बताएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?