Comments Add Comment

पूर्वमा व्यापारीले गराए पेट्रोलियम पदार्थको कृत्रिम अभाव

३ चैत, विराटनगर । कोरोना भाइरसको त्रास फैलिरहेको अवस्थामा प्रदेश १ का पेट्रोलियम व्यवसायीले इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन् ।

विराटनगरसहित प्रदेश १ का अन्य जिल्लामा पेट्रोलियम व्यवसायीले इन्धनको कृत्रिम अभाव सिर्जना गरेका हुन् ।

मंगलबार नेपाल आयल निगमले मूल्य समायोजन गर्दैछ । मूल्य समायोजन हुनपूर्व व्यवसायीहरुले मूल्य घट्न सक्ने अनुमान गर्दै पेट्रोलियम पदार्थ खरिद नगरेका हुन् । आइतबार र सोमबार विराटनगरसहित प्रदेश १ का अधिकांश पेट्रोल पम्प बन्द छन् । तर व्यापारीहरुले महंगो मूल्यमा कालोबजारी गरिरहेका छन् ।

नेपाल आयल निगम विराटनगरका सूचना अधिकारी दिवस विष्टका अनुसार विराटनगर डिपोसँग इन्धन पर्याप्त छ । तर आइतबार र सोमबार नगन्य मात्रामा व्यावसायीले तेल लगेका छन् । ‘२० केएल (किलोलिटर) उठाउनेले मुश्किलले ३–४ केएल लगेका छन्’ उनले भने ‘निगमसँग इन्धन छ । तर व्यावसायीले लगेका छैनन् ।’

मुल्य समायोजन हुने भएपछि पम्पहरुले इन्धन बिक्री नगरेको उनको भनाइ छ । उनका अनुसार प्रदेश १ मा दैनिक सरदर एक हजार किलोलिटर डिजेल र करिब तीनसय किलोलिटर पेट्रोल खपत हुन्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले तत्काल पेट्रोल पम्प खोल्न निर्देशन दिइएको बताए । व्यावसायीले नखोलेपछि प्रहरी लगाएर पम्प सञ्चालनमा ल्याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment