+
+
Shares

आइसोलेसन वार्ड मन्त्रीको घोषणामा मात्र, कोशी अस्पतालमा बल्ल तयारी

हरि अधिकारी हरि अधिकारी
२०७६ चैत ४ गते १६:२९

४ चैत, विराटनगर । फागुन २१ गते प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरस संक्रमितलाई राख्न चारवटा अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार भएको बताएका थिए ।

२२ गतेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले सतर्कता उच्च बनाएको भन्दै ढुक्क हुन आग्रह गरे । तर कतै आइसोलेसन वार्ड तयार छैन । तयार भएका स्थानमा स्वास्थ्यकर्मीले प्रयोग गर्दै पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) पुगेको छैन ।

मन्त्रीले कोशी अस्पतालमा पाँच शैय्याको आइसोलेसन वार्ड तयार भएको बताएका थिए । तर अस्पतालले भर्खरै निर्माण गरिरहेको छ ।

अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट संगीता मिश्रले मंगलबारसम्म पाँचमध्ये तीनवटा आइसोलेसन शैय्या तयार हुने बताइन् । ठेकेदारले धमाधम निर्माण गरिरहेका छन् । कोशी अस्पतालले इमरजेन्सी वार्डसँगै रहेको अब्जरभेसन वार्डलाई आइसोलेसन वार्ड बनाउन लागेको हो ।

झुट बोलेको भन्दै मन्त्रीको राजीनामा माग

सरकारको तयारीबारे झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रीको राजीनामा माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सोमबारको प्रदेशसभा बैठकमा झुट बोल्ने विभागीय मन्त्रीको राजीनामा माग गरेका हुन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले २८ शैय्याको आइसोलेसन वार्ड तयार भएको बताएका थिए । तर कोशी अस्पतालमा भर्खरै निर्माण भइरहेको भन्दै कार्कीले नाम नलिई मन्त्रीले झुट बोलेको बताएका हुन् ।

विराट मेडिकल कलेजले १२ शैय्याको आइसोलेसन वार्ड तयार पारेको छ । तर पीपीई अझै नपाएको मेडिकल कलेजका प्रशासन प्रमुख सुधीरसिंह राठोरले बताए । ‘हामीले छुट्टै भवनमा शैय्या तयार राखेका छौं’ उनले भने ‘तर संक्रमितको उपचारमा प्रयोग हुने सामाग्री पाएका छैनौं ।’

प्रदेश सरकारमा विराट मेडिकल कलेजमा १२, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० र नोबेल मेडिकल कलेजमा आईसीयूसहितको एउटा आइसोलेन वार्ड तयार छन् ।

क्वारेन्टाइन बनाउन माग

गत बिहीबार कोशी अस्पताल विराटनगरमा शंकास्पद लक्षण देखिएका विरामीलाई अस्पतालले धरान रेफर ग¥यो । झापाबाट पनि शंकास्पद लक्षण देखिएका विरामी धरान रेफर भए । तर उनीहरुमा संक्रमण पुष्टि भएन ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक गौरीशंकर साह क्वारेन्टाइन निर्माणमा ढिलाइ हुँदा समस्या भएको बताउँछन् ।

प्रदेश सरकारले तत्काल क्वारेन्टाइन निर्माण गरी शंकास्पद बिरामीलाई निगरानीमा राख्नुपर्ने उनको भनाइ छ । शंकास्पद विरामी होम क्वारेन्टाइनमा बस्दा जोखिम आउन सक्ने उनी बताउँछन् ।

प्रदेश १ सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइन निर्माण गर्ने बताएको छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?