Comments Add Comment

कोरोनाले कुन–कुन मुलुकमा बन्द छन् शैक्षिक संस्था ?

४ चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस कोभिड–१९ को सन्त्रास फैलिएको छ । चीनको वुहानबाट सुरु भएको संक्रमण अहिले १६० भन्दा बढी मुलुकमा फैलिएको छ र आर्थिक र सामाजिक असर देखिएका छन् ।

कोरोनाको संक्रमण फैलिन नदिन विभिन्न मुलुकले योजनाहरु बनाएका छन्, जसमध्ये स्कुल बन्द एउटा हो ।

दक्षिण कोरिया, जापान, हङकङ, बहराइन र यूएईजस्ता मुलुकले विद्यालय लगायत शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् ।

अमेरिकाको पनि धेरैजसो राज्यमा विद्यालय बन्द छन् । तर पढाइमा कुनै असर नपरोस् भनेर अनलाइन पढाइको विकास गर्न पनि शैक्षिक संस्थालाई आग्रह गरेको छ । यस्तो प्रयास चीनले पनि गरेको थियो । कोरोनाका कारण झण्डै एक महिनासम्म विद्यालय बन्द हुँदा थुप्रै विद्यालय तथा विश्वविद्यालयले अनलाइन पढाई गरेका थिए ।

यूरोपमा पनि अधिकांश मुलुकले विद्यालय बन्द गरिसकेका छन् । तर नेदरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाले भने विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छैनन् ।

बेलायतले अहिले विद्यालय तथा शैक्षिक संस्था बन्द गर्नुपर्ने गरी भाइरस नफैलिएको बताएको छ ।

अष्ट्रेलियाले भने बन्द गर्दा उल्टो असर पर्नसक्ने भन्दै विद्यालय तथा स्वास्थ्य संस्था बन्द गर्न नहुने बताएको छ । प्रधानमन्त्री स्टक मोरिसनले विद्यालय बन्द गर्दा धेरै नर्सहरु बच्चा हेर्न घरमै बस्ने, अस्पतालमा नआउने र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने बताएका छन् ।

महामारी तथा संक्रामक रोगका विशेषज्ञ जोनाथान कारापेटिस विद्यालय बन्द नगर्ने निर्णय गर्नु रोग नियन्त्रणको लागि आवश्यक कुरा नभए पनि छलफल आवश्यक रहेको बताउँछन् । अष्ट्रेलियामा विद्यालय बन्द भए स्वास्थ्य क्षेत्रमा १० देखि २० प्रतिशत जनशक्ति घट्ने उनको भनाइ छ ।

नेपालमा पनि अहिले विद्यालय बन्द गर्ने वा नगर्ने बहस भइरहेको छ ।

सार्कका अन्य मुलुकमा बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भारतका केही राज्यमा पनि विद्यालय बन्द गराइएको छ । भुटानले बाहिरबाट आउने सबै पर्यटकमा प्रतिबन्ध लगाए पनि विद्यालय बन्द गरेको छैन भने अफगानिस्तानले पनि विद्यालय बन्द गराएको छैन ।

नेपाल सार्कमा सक्रिय भाइरस नरहेको मुलुक हो ।

नेपालमा अहिलेसम्म एकजना मात्र कोरोना भाइरसको संक्रमण भेटिएको र उनी पनि उपचारपछि निको भएर फर्किसकेका छन् । भुटानमा पनि एक जनामा यो भाइरसको संक्रमण देखिएको छ भने अफगानिस्तानमा २२ जनामा यो भाइरस देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment