Comments Add Comment

लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना तयार

१४ अर्बको बजेट, १० तलामा १२ सय शैय्या,छतमा हेलिप्याड

४ चैत, बुटवल । पश्चिम नेपालकै पुरानो र ठूलो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ गुरुयोजना तयार भएको छ । प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा लिएको यो अस्पतालकोे नया गुरुयोजना अबको १ सय बर्षका लागि अनुमान गरिएको छ ।

प्रदेश योजना आयोगले प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तयार पारेर प्रदेश ५ सरकारलाई बुझाएको हो ।

गुरुयोजना अनुसार अस्पतालको संरचनाका लागि १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने मुख्य भवन १० तलाको बनाइनेछ । अस्पतालको छतमा हेलिप्याडसमेत हुनेछ । जसमा १२ सय शैय्या बनाइनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट हुने गरी गुरुयोजना निर्माण गरिएको छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले मुख्यमन्त्री शंकर पोखरेललाई गुरुयोजना हस्तान्तरण गरेका छन् ।

‘यो देशकै लागि नमुना काम हो, हामी सबैले सहयोग गर्‍यौं भने हाम्रा सन्ततिका लागि पनि यो उदाहरणीय बन्नसक्छ, आम नागरिकको सहज सुविधा पाउन सक्छन्’ गौतमले भने ।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पतालका रुपमा निर्माण गर्ने बताए ।

उनले संघ र प्रदेश सरकारको बजेट तथा निजी क्षेत्रको समेत आर्थिक सहभागितामा निर्माणका लागि रकम जुटाउने बताए । डीपीआर तयार भएसँगै भवन निर्माणको काम शुरु हुने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

आर्किटेक इन्जिनियर विष्णु पन्थीले गुरुयोजना प्रस्तुत गर्दै अस्पतालको डिजाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए । पन्थीले गुरुयोजना अनुसार बन्ने अस्पतालमा सबै विशेषज्ञ सेवा आधुनिक भवनबाट दिन सकिने बताए ।

उनले सबै वार्डहरुलाई अन्तर्राष्ट्रिय शैली र मापदण्डअनुसार बनाएकाले जुनसुकै सरुवा रोगका बिरामीको उपचारमा पनि समस्या उत्पन्न नहुने जनाइएको छ ।
गुरुयोजना अनुसार अस्पताल निर्माण भए नेपालकै नमूना अस्पताल बन्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment