Comments Add Comment
अष्ट्रियामा कोरोनाको कहर :

विना काम घर बाहिर निस्कनेलाई ३६ सय युरो जरिवाना

१३३२ संक्रमित, ४ जनाको मृत्यु, नेपालीहरु अहिलेसम्म सुरक्षित छन्

विश्वमा अहिले कोरोना भाइरस संक्रमणको सबैभन्दा डरलाग्दो संकटको सामना गरिरहेको युरोपेली मुलुक इटालीसँग सिमाना जोडिएको देश अष्ट्रियामा समेत कोरोना भाइरस संक्रमण तिव्र रुपमा बढिरहेको छ । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १३ सय ३२ पुगिसकेको छ भने ४ जनाको मृत्यु भैसकेको छ ।

संक्रमितको संख्या ३ दिनमा दोब्बर हुने गरी उच्च दरमा बढेसँगै गम्भीर अवस्था सिर्जना भएको ठहर गर्दै अष्ट्रियामा सरकारले विशेष नियम लागू गरेको छ । ‘अउसगाङ्ग स्प्येरे’ भनिने उक्त नियम अनुसार मानिसहरुलाई विनाकारण घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

यद्यपि कतिपय युरोपेली मुलुकमा जस्तो अष्ट्रियालमा आपतकालीन अवस्थाको घोषणा गरिएको भने होइन । भाइरस संक्रमण तथा फैलावट रोक्नका लागि सार्वजनिक गतिविधिमा रोक लगाइएको र मानिसहरुलाई घरभित्रै बस्न सरकारले आग्रह गरेको छ ।

अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएको पाइएमा पुलिसले पक्राउ गर्न सक्ने र ३६ सय युरो सम्म जरिवाना लगाउने नियम लागू भएको छ ।

खाद्यान्न पसलहरु, स्वास्थ्य संस्था तथा औषधि पसल तथा हुलाक लगायतका सेवाप्रदायक निकाय बाहेक सबै व्यापार व्यवसाय बन्द गराइएको छ । शिक्षण संस्थाहरु समेत आगामी अप्रिल मध्य सम्मका लागि बन्द गरिएको छ र विद्यार्थीहरुका लागि घरमै बसेर अनलाइनबाट पढ्न सक्ने व्यवस्था मिलाइएको छ ।

कुनै पनि सरकारी कार्यलय, अस्पताल र सार्वजनिक स्थलमा सिधै प्रवेश गर्ने अवस्था छैन । सामान डेलिभरी गर्नेहरुले ढोका बाहिर नै सामान दिनुपर्ने र भित्र छिर्नुपर्ने ठाऊँमा विभिन्न नियमहरु पालना गरेर मात्रै छिर्र्नेे व्यवस्था गरिएको छ ।

के छ अहिलेको नियममा ?

  • दैनिक जीवनको आधारभूत आवश्यकताहरू उदाहरणका लागि खाद्य सामाग्री किनमेल, फार्मेसी, बैंक एटिएम मसिन, चिकित्सकीय उपचार, घरपालुवा जनावरहरुको हेरचाहमा संलग्न कर्मचारी/कामदार तथा उपभोक्ताहरु मात्र घरबाहिर निस्कन पाउँछन् ।
  • घरबाहिर जाने ५ जनाभन्दा धेरै व्यक्तिहरु एउटै समूहमा बस्न नपाइने । आफ्नै परिवारको व्यक्तिसँग बाहेक अरुसंग संगै हिँड्न पनि नपाउने । सडकमा हिँड्दा एक मिटरको दूरी कायम गर्नुपर्ने ।
  • जिम सेन्टर, सिनेमा, शारीरिक स्वास्थ्य क्लव, सार्वजनिक स्विमिङ्ग पूल, कपडा पसल तथा सपिङ्ग मल सबै बन्द गरिएका छन् । मंगलबारदेखि सम्पूर्ण रेष्टुरेन्ट तथा बारहरु पनि बन्द छन् ।
  • कोरोना भाइरससँग सम्बन्धित कार्यमा बाहेक कुनैपनि कृयाकलापमा ५ जना भन्दा धेरै एक ठाउँमा जम्मा हुन प्रतिवन्ध ।

के गर्दैछ अष्ट्रियाको सरकार ?

अष्ट्रियाको संसदले कोरोना भाइरससँग सम्वन्धित दुईवटा विशेष कानूनहरु आइतबार नै पारित गरेको छ । जसले सरकारलाई कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि विशेष योजना लागू गर्नें अधिकार प्रदान गरेको छं । अष्ट्रियाको इतिहासमा पहिलो पटक आइतबार बिदाको दिनमा समेत संसद बैठक बसेको थियो ।

सरकारले आपतकालीन व्यवस्थापन कोष (COVID-19-Funds) र कोरोना फैलिन नदिन छुुट्टै नियम सहितको संघीय कानून (COVID-19-Maßnahmengesetz) पारित गरेको छ ।

अष्ट्रियन सरकारको यस नियमलाई देशबासीहरुले “अउसगाङ्ग स्प्येरे“ भनेर बुझ्दछन् । आपतकालीन कोषमा कोरोना भाइरससंग सुरक्षित रहने, उपचार गराउने, क्वारेन्टाइनमा बस्ने लगायत कोरोना भाइरसका कारण छुट्टीमा बसेकालाइ तलव खुवाउनका लागि आवश्यक रकम समेतको व्यवस्था छ ।

अष्ट्रिया सरकारले देशका कुनै पनि कम्पनीले कोरोनाको कारण देखाएर कामदारलाई कामबाट निकाल्न नपाउने नियम बनाएको छ । तर, पनि कोरोनाको प्रभावले धेरै कम्पनीहरु, संस्थाहरु र कार्यलयहरु बन्द भएपछि बेरोजगारहरुको संख्या अत्यधिक बढ्न पुगेको छ ।

आपतकालीन कोषको रकम ४ अर्ब युरो रहेको छ । अष्ट्रियाको प्रतिपक्षी दलले उक्त रकम कम भएको भनी गुनासो गरिरहेका बेला संसदमा बहुमतले सो कोषको प्रावधान पारित गरेको हो ।

आम मानिसहरुबीच सामाजिक दूरी कम गर्न तथा भेटघाट कम गर्नका लागि सरकारले आव्हान गरिरहेको छ । प्रधानमन्त्री (चान्सलर) सेवेस्टियन कुर्जले हरेक दिन सम्बोधन गर्ने र सरकारका नयाँ नीतिहरु सार्वजनिक गर्ने गरेका छन् । साथै उनले टेलिभिजन र रेडियो मार्फत टेलिफोनबाटै जनताका प्रश्नको जवाफ दिँदै उत्साह पैदा गरिरहेका छन् ।

अष्ट्रियामा विगत ५ वर्ष भित्रमा नागरिक सैन्य तालिम लिएका युवाहरुलाई राज्यको सेवा गर्न स्वयं सेवकको रुपमा खटाइएको छ । ती स्वयंसेवकहरुले खाद्यान्न पसलहरुमा सामान ओसार्ने र राख्नेदेखि घरघरमा क्वारेन्टाइनमा बसेकाहरुलाई खानेकुरा पुर्‍याउने सम्मको काममा खटाइएको छ ।

अष्ट्रिया सरकारले छुट्टि मनाउन तथा काम विशेषले देश बाहिर रहेका नागरिकहरुलाई जतिसक्दो छिटो सुरक्षित फिर्ता हुन अथवा सुरक्षाको विकल्प अपनाउन सूचना जारी गरेको छ ।

आफ्ना नागरिकहरुलाई चीनको हुबेई प्रान्त, फ्रान्स, इरान, इटाली, नेदरल्याण्ड, रूस, स्वीटजरल्याण्ड, स्पेन, दक्षिण कोरिया, युक्रेन र बेलायतको यात्रा नगर्न अनुरोध गरेको छ ।

सोमबारदेखि फ्रान्स, स्पेन र स्वीटजरल्याण्ड जाने हवाइ र रेलसेवा बन्द गरेको छ । बुधबारदेखि युके, रसिया, नेदरल्याण्ड, युक्रेनको सेवा बन्द हुनेछ । उक्त देशबाट अष्ट्रिया आउने यात्रुहरुले अन्य देशको हवाइसेवा उपयोग गर्न भनिएको छ ।

छिमेकी मुलुकहरु चेक रिपब्लिक, हंगेरी, क्रोएसिया, इटाली र स्वीजरल्याण्डसँगका सबै सीमाना बन्द गरिएको छ भने जर्मनीसँगको सिमाना आंशिक रुपमा खुल्ला छ ।

डेनमार्कले झण्डै एक हप्ताअघि नै हवाई सेवा बन्द गरेको छ ।

अष्ट्रियामा वैधानिकरुपमा बस्दै आएकाहरुका लागि संकटका बेला जीवनयापन र बेरोजगारी योजना सरकारले ल्याएको भएता पनि कागजपत्र नभएका अर्थात् अवैधानिक रुपमा बसिरहेका मानिसहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई चाहिँ सरकारी योजनाले समेटेको छैन ।

तथापि, कामकाज गुमाएर समस्यामा परेका त्यस्ता मानिसहरुको सहयोगका लागि रेडक्रस, कारितास र डायकोनी जस्ता संस्था तथा क्लवहरुले विभिन्न कार्यक्रम सुरु गर्न लागेको अष्ट्रियन मिडियाहरुले लेखेका छन् । तर, कोरोनाको परीक्षण तथा उपचारमा भने सरकारले कागजपत्र भएका र नभएकालाई कुनै भेदभाव नगरी–नगरी समानरुपले आवश्यक सहयोग गर्ने जनाएको छ ।

सरकारले हाल लागू गरेको नियम एक हप्ताको लागि मात्र हो । कोरोना भाइरस संक्रमणको अवस्था चर्किँदै गएको अवस्थामा आगामी हप्ताबाट नियममा झनै कडाइ गर्ने वा देशव्यापी रुपमा आपतकालको घोषणा हुनसक्ने प्रवल सम्भावना रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोनाका कारणले काम छाडेकाहरु अवस्था के होला ?

अष्ट्रिया सरकारले देशका कुनै पनि कम्पनीले कोरोनाको कारण देखाएर कामदारलाई कामबाट निकाल्न नपाउने नियम बनाएको छ । तर, पनि कोरोनाको प्रभावले धेरै कम्पनीहरु, संस्थाहरु र कार्यलयहरु बन्द भएपछि बेरोजगारहरुको संख्या अत्यधिक बढ्न पुगेको छ ।

कुनै पनि कारणले कामबाट निकालिएको भए पनि कामदारले बेरोजगार भत्ता लिन ब्ःक् मा नाम दर्ता गराउनुपर्छ । सोमबार मात्र १६ हजार जनाले आफु बेरोजगार भएको भन्दै अष्ट्रियाको बेरोजगार दर्ता गर्ने निकाय एएमएसमा आफ्नो नाम दर्ता गरेका छन् ।

आधिकारिक रुपमा काम गरिरहेका व्यक्तिहरु कोरोनाको कारणले काम रोकिएपनि महिनाको अन्तमा खातामा पैसा आउने व्यवस्था सरकारको आपतकालिन कोषमा रहेको छ ।

तर, त्यस्तो व्यक्तिले पाइरहेको तलवको ८० प्रतिशत देखी ९० प्रतिशतसम्म मात्रै पाउने व्यवस्था छ । भत्ता तथा अन्य सुविधा भने पाउने छैन । त्यो समय अवधिभर एएमएसले तलव रकम व्यहोर्ने छ । जसमा १० प्रतिशत रकम चाहिँ रोजगारदाताले व्यहोर्नुपर्नेछ ।

अष्ट्रियामा नेपालीको अवस्था कस्तो छ ?

अहिलेसम्म अष्ट्रियामा १२ सय जना भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको छ । हालसम्म कुनै पनि नेपालीलाई कोरोना भाइरस संक्रमण भएको छैन र संक्रमणको आशंकामा क्वारेन्टाइनमा बस्नु परेको अवस्था पनि छैन ।

भियनास्थित नेपाली राजदूतावासले अष्ट्रिया सरकारले जारी गर्ने सूचनाहरुको बारेमा राजदूतावासको फेसबुक पेजमार्फत जानकारी गराउँदै कुनै जानकारी आवश्यक परेमा तथा समस्या परेमा टेलिफोनमा सम्पर्क गर्न आग्रह गरेको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रियाका अध्यक्ष विनोद चौलागाईंले अष्ट्रियामा रहेका नेपालीहरुमा कोरोनाको संक्रमण हालसमम नदेखिएको भए पनि जीवनयापनका लागि गर्दै आएको काम कोरोनाका कारण गुमाउँदा कागजपत्रविहीन अवस्थामा रहेका नेपालीहरु समस्यामा पर्न थालेको बताएका छन् ।

उनका अनुसार कोरोना भाइरसका कारण अष्ट्रियामा विद्यमान अवस्था लामो समयसम्म रह्यो भने कागजपत्र वीहिन नेपालीहरुलाई ठूलो समस्या पर्ने देखिएको छ ।

अष्ट्रियामा त्यस्ता नेपालीहरुको संख्या ४०/५० जना रहेको छ । घरबाट बाहिर निस्कन नपाउने र काममा जान नपाउने कानून लामो समयसम्म कायम रह्यो भने उनीहरुको दैनिकी निकै कष्टकर हुने अवस्था आउने चौलागाईंको भनाइ छ ।

यदि त्यस्तो अवस्था आउने भयो समाधानका लागि के योजना छ त ? भन्ने प्रश्नमा चौलागाईले भने, ‘समाज र सरकारलाई सहयोगको अपील गर्नेछौं । त्यस्तो अवस्था आयो भने सहयोगका लागि सबै एकजुट भएर लागिपर्नेछौं । कसैलाई भोकभोकै बस्न दिन्नौ‌ं ।’

उनका अनुसार नेपाली व्यवसायीहरुसँग मिलेर समाजलाई २ महिनासम्म पुग्ने न्यूनतम खाद्य सामाग्री दाल तथा चामलको सञ्चयका लागि जोहो गरिसकिएको छ ।

यो समाचार लेख्दै गर्दा एनआरएनए केन्द्रीय अध्यक्षले बुँदागत रुपमा हरेक एनसीसीलाई आवश्यक क्रियाकलाप गर्न निर्देशन दिएको पत्र पाएको एनसीसी अध्यक्षले जानकारी गराए । त्यसै अनुसार क्रियाकलाप गर्न गैरआवासीय नेपाली संघले अनलाइनमै बैठक बोलाउने तयारी गरेको छ ।

उनका अनुसार अष्ट्रियाको नेपाली समाजमा छिटै नै कोरोना भाइरससंग सुरक्षित रहन र परी आएको आपतकालीन अवस्थामा क्रियाकलाप गर्न एउटा आपतकालीन सेवा समिति बनाउने अन्तिम तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment