५ चैत, वीरगञ्ज । कोरानो भाइरस (कोभिड-१९) रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि वीरगञ्जमा सञ्चालित हेल्थ डेस्क र नारायणी उपक्षेत्रीय अस्पतालमा बनाइएको आइसोलेसन वार्डलाई व्यवस्थित बनाइने भएको छ । तर हेल्थ डेस्कमा आवश्यक सामाग्री र जनशक्तिको अभाव छ भने आइसोलेसन वार्ड औपचारिकता पूरा गर्नका लागि मात्रै स्थापना गरिएको छ । आइसोलेसन वार्डमा वेड र अक्सिजन बाहेकका अन्य बन्दोबस्ती नरहेको स्वंम मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले बताउँदै आएका छन् ।
विश्वव्यापी रुपमा महामारीको रुपमा फैलँदै गएको कोरोना भाइरस भारतका विभिन्न राज्यमा पनि फैलिरहेको छ । भारतको बिहार राज्यसँग १ सय ७ किलोमिटर खुल्ला सीमा रहेको र देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भएका कारण पर्सा जिल्ला उच्च जोखिममा छ ।
भारतका विभिन्न राज्यमा अध्ययन र कामका लागि नेपाली पुगेका छन् । भारतमा कोरोनाको संक्रमण फैलँदै गएपछि रोजगारीका लागि त्यहाँ पुगेका उनीहरु नेपाल फर्किरहेका छन् । स्थलमार्ग हुँदै आउनेहरुबाट कोरोना संक्रमण आउने जोखिम बढी रहेकोले सतर्क हुनुपर्ने विद्यार्थी नेता दिलिपराज कार्कीको भनाइ छ ।
तर जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले भने कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको बताएका छन् ।
मंगलबार बसेको कार्यालय प्रमुखको बैठक र बुधबार बसेको टाक्स फोर्सको बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण एवं व्यवस्थापनमै केन्द्रित रहेको टाक्स फोर्सका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
कार्यालय प्रमुखहरुको बैठकमा हेल्थ डेस्क, आइसोलेसन वार्ड सञ्चालनको लागि आवश्यक उपकरण, सामाग्री तथा स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था मिलाउन नेपाल सरकार तथा प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
बुधबार बसेको टाक्स फोर्सको बैठकले त्यसका लागि आवश्यक सामाग्रीको लागत सहितको सूची तयार गरी भोलिसम्म पेश गर्न कार्यदल गठन गरेको छ । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट संयोजकत्वमा गठित कार्यदलमा नेशनल मेडिकल कलेजका डाइरेक्टर, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सदस्य छन् ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की समेतको उपस्थितमा बसेको टाक्स फोर्सको बैठकले खाना पकाउने ग्यास एवं अन्य पेट्रोलियम पदार्थको कृत्रिम अभाव एवं कालोबजारी भए नभएको अध्ययन एवं अनुगमन गर्ने निर्णय गरेको छ । त्यसको अध्ययन अनुगमन गरी बिहीबार प्रतिवेदन पेश गर्ने नेपाल आयल निगम शाखा कार्यालय वीरगञ्जलाई दिइएको छ ।
यसअघि मंगलबार बसेको कार्यालय प्रमुखको बैठकमा भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका शंकराचार्य गेट नजिकै महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कको प्रगति, समस्या एवं चुनौतीका बारेमा समिक्षा गरेको थियो ।
बैठकले हेल्थ डेस्कमा थप जनशक्ति, उपकरण एवं सामाग्रीको व्यवस्था गरी यसलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सहायक प्रजिअ बस्नेतले बताए । ‘भारतबाट नेपाल प्रवेश गर्ने अन्य सीमानाकाहरुमा समेत भन्सार कार्यालय एवं अन्य सम्बद्ध कार्यालयहरुसँगको सहयोग एवं समन्वयमा सम्बन्धित स्थानीय तहलाई तत्काल हेल्थ डेस्क स्थापना गरी संचालन गर्न आग्रह गर्ने लगायत निर्णय गरेका छौं ।’

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4