Comments Add Comment

‘राउटेले नागरिकता पाउने आधार बनिसक्यो’

संसारको जुनसुकै कुनामा गए पनि अब राउटेहरुले नेपाली हौं भन्न पाउँछन् : ओली

६ चैत, सुर्खेत । राउटे समुदाय आधुनिक मानव समाजभन्दा भिन्नै तरिकाले बाँच्छन् । उनीहरुको आफ्नै घर हुँदैन । तर, जंगल नै उनीहरुको साम्राज्य हो । उनीहरुको आफ्नै राज्य छ । जहाँ उनीहरुले चुनेका हुन्छन्, आफ्ना मुख्खे (मुखिया) ।

उनीहरुको साम्राज्यमा ‘नेपाल सरकार’ले चलाएको शासन चल्दैन । चल्छ त आफैंले बनाएको नीति र नियम । खस आर्य जातिको ठकुरी अन्तर्गत पर्ने राउटे सीमान्तकृत वर्ग हुन् ।

जंगलमै घुम्दै जीवनयापन गर्ने भएकाले उनीहरुको हातमा अझै ‘नागरिकता’ पुगिसकेको छैन । १ सय ५१ जनाको संख्यामा रहेका राउटे समुदाय नेपालको कर्णाली र मध्यपश्चिम क्षेत्रका घुम्दैफिर्दै जीवन चलाइरहेका छन् । केही समयअघिसम्म दैलेखको गाउँपालिकामा बसिरहेका उनीहरु त्यहाँ हिउँ पर्न थालेपछि ‘चिसो बढेको’ भन्दै सुर्खेत झरेका छन् ।

नागरिकताविहीन राउटे जातिलाई नेपाल सरकारले २०५२ सालदेखि मासिक ५ सय रुपैयाँ भत्ता दिन सुरु गरेको थियो । अहिले उनीहरु मासिक ३ हजार रुपैयाँ भत्ता बझ्दै आएका छन् । ‘सहरका राजाले खुब माया गर्छन् । जहाँ गया पनि भत्ता पठाउँछ । चामल पठाउँछ,’ राउटे महामुखिया मैनबहादुर शाही खुसी व्यक्त गर्छन् ।

नेपाली नागरिकताविहीन राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले ‘परिचय पत्र’ वितरण गरेको छ । आफ्नो ठाउँमा राउटेको परिवार सधैं बस्दैनन् भन्ने जानकारी हुँदा पनि गाउँपालिकाको विश्वास छ, ‘कम्तिमा नेपाली हुने एउटा परिचय दिएका छौं । अब संसारको जुन कुनामा गएपनि उनीहरु नेपाली परिचयपत्र बोकेर हिँड्ने छन् ।’

गुराँस गाउँपालिकाले पहिलो पटक ०७४ साल असारमा परिचय पत्र प्रदान गरेर ‘नेपाली’ बनाएको थियो । गाउँपालिका अध्यक्ष खेमराज ओली सुरुमा परिचयपत्र दिलाउन गाह्रो भएपनि अहिले उनीहरु ‘मख्ख’ परेको सुनाउँछन् ।

‘राउटेले नेपाली नागरिक नै हुन् । उनीहरुले नागरिकता पाउने गरी गाउँपालिकाले परिचय पत्र वितरण गरेर एउटा आधार खडा गरिदिएको छ,’ गाउँपालिका अध्यक्ष ओली सुनाउँछन्, ‘सुरुमा उनीहरुलाई सम्झाउनै ३ महिनाभन्दा बढी लाग्यो । तर, अब उनीहरु नागरिकताबारे थाहा पाइसकेपछि त्यसप्रति पनि सकारात्मक हुन थालेका छन् ।’

प्रस्तुत छ, दैलेख जिल्लाको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीसँग अनलाइनखबरले राउटे समुदायलाई वितरण गरिएको परिचयपत्रबारे गरेको कुराकानीको अंश :

राउटे समुदायलाई नेपाली बनाउन परिचय पत्र वितरण गरेका छौं भन्नुभयो । यसले नागरिकताकै काम गर्छ कि साधारण परिचयपत्रमात्रै ?

विगत २ वर्षसम्म उहाँ (राउटे समुदाय)हरुको त्यसमा उहाँहरु कहाँ जन्मिनु भयो ? उमेर कति हो ? बाआमाको नाम केहो ? भन्नेबारे कुनै परिचय थिएन । हामी सामाजिकीकरण भइसकेका नेपाली नागरिकको परिचय पत्र नागरिकता भनेजस्तै उहाँहरुको सम्पूर्ण परिचयसहित परिचय पत्र हो, त्यो ।

उहाँहरु नेपालको भूभागमा घुम्दै जीवनयापन गर्ने भएकाले मात्रै नेपाली हुन् भन्ने गरिन्थ्यो । तर, उहाँहरु घुम्दै हिँड्ने क्रममा भारत या अर्को मुलुकमा गएको भए हामीसँग ‘उहाँहरु हाम्रा नागरिक हुन्’ भनेर दाबी गर्ने कुनै आधार रहँदैन थियो ।

त्यसैका लागि गुराँस गाउँपालिकाले ‘राउटे पनि नेपाली नै हुन् है !’ भन्ने गराउनका लागि पहिलो परिचयपत्र जन्मदर्ता भनेजस्तै हामीले ‘राउटे स्थायी परिचय पत्र’ नाम दिएर वितरण गर्ने निधो गरेका हौं । परिचयत्रमा उहाँहरु कहिले जन्मिनु भयो ? उहाँको उमेर कति भयो ? बसाइँ स्थान कहाँ हो ? आमाबुवाको स्पष्ट परिचयसहित एकीन ठेगाना खुल्ने गरी परिचयपत्र दिएका छौं ।

भनेपछि अब राउटे समुदायले नागरिकता पाउँछन् भन्ने विश्वस्त हुन सकियो होइन त ?

राउटेहरुका महामुखिया मैनबहादुर शाही

उहाँहरुले नेपाली नागरिकता पाउने एउटा आधार खडा भएको छ । जन्मदर्ता परिचयपत्र भनेजस्तै उहाँहरुलाई सम्पूर्ण व्यहोरा खुलाएर परिचयपत्र दिएका छौं । उहाँहरुले नागरिकता लिन चाहनुभयो भने त्यही उमेर, नाम, ठेगाना राखेर नागरिकता दिलाउने प्रयत्नमा छौं । छलफल चलिरहेको छ ।

उहाँहरुले अझै पनि नागरिकता माग गर्नु भएको छैन । तर, सामान्य टुक्रे बसाइँमा उहाँहरुले नागरिकता लिन्छौं भन्नु भएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय दैलेखसँग पनि समन्वय भइरहेको छ । नागरिकता जसरी हुन्छ उपलब्ध गराउने प्रयत्नमा छौं ।

उहाँहरुले परिचय पत्र लिन सहजै मान्नु भयो त ?

हामीले उहाँहरुलाई २०७४ साल असार ३० गते परिचयपत्र वितरण गरेका थियौं । उहाँहरु एकदमै खुसी हुनुहुन्थ्यो । त्यो परिचयपत्र लिँदा उहाँहरुमा उल्लासपूर्ण वातावरण सिर्जना भएको थियो ।

तर, त्यही परिचयपत्र दिलाउन कम्तिमा ३ महिनासम्म निरन्तर पछि लाग्नुपर्‍याे । निरन्तर छलफल, को–अर्डिनेसन गरिरहनुपर्‍याे । परिचयपत्र दिने निर्णय भइसकेपछि ३ महिना त मनाउनै खर्च भयो ।

परिचयपत्रले त उनीहरुलाई नेपाली भनेर चिनाउने आधार त भयो । तर, यो परिचय पत्र लिँदा र नलिँदा उहाँहरुको, सेवासुविधामा केकस्तो असर पर्छ ?

सेवासुविधामा खासै असर पर्दैन । पहिले र अहिले पनि उनीहरुले पाउने सेवा, सुविधा उही हो । तर, कुनै पनि व्यक्तिलाई नागरिकता दिलाउँदा उहाँहरुको स्थायी ठेगाना खुल्नुपर्‍याे । परिचयपत्रले राउटेले नागरिकता पाउने आधार भयो ।

अर्को कुरा त्यही नेपाली नागरिक बन्ने विषयमा नै हो । घुमेर अर्को देशमा गएको भए हाम्रा नागरिक भन्ने आधार रहने थिएन । परिचयपत्र हेर्दा सामान्य देखिए पनि यसले उनीहरुको जीवनयापनमा र परिचयमा ठूलो भूमिका खेल्ने विश्वास लिएका छौं ।

दैलेखको गुराँस गाउँपालिकाले पहिलो पटक राउटेलाई परिचयपत्र बाँड्यो । तर, उनीहरु घुमिरहन मन पराउँछन् । अर्को ठाउँ, अर्को क्षेत्रमा जाँदा कसरी परिचयपत्र पाउने त ? केही व्यवस्था गर्नु भएको छ कि ?

हामीले गर्ने नै समन्वय र व्यवस्थापन हो । उनीहरुको उपचारदेखि अन्य कुरामा पनि हामीले ध्यान दिइरहेका हुन्छौं । अन्य स्थानीय तहसँग पनि समन्वय गर्ने छौं ।

अर्को कुरा उहाँहरुलाई हाम्रो गाउँपालिकाबाट परिचयपत्र वितरण भइसकेपछि उहाँहरु हाम्रा नागरिक हुनुहुन्छ । अब उहाँहरुको जनसंख्याको गणना पनि हाम्रै गाउँपालिकाबाट आउनुपर्छ भन्ने हाम्रो माग र दाबी हो ।

सामाजिक सुरक्षा भत्ता नेपालको संघ सरकारले मासिक रुपमा प्रतिव्यक्ति ३ हजार रुपैयाँ उपलब्ध गराउने नीति छ । सोही नीति अनुसार भत्ता उपलब्ध गराउँदै आएका छौं । राउटेको भत्ता हाम्रै गाउँपालिकामा आउँछ । त्यसकारण उहाँहरु जहाँ, जुन ठाउँमा गए पनि गुराँस गाउँपालिका त्यहीँ पुगेर भत्ता उपलब्ध गराउँदै आएको छ ।

गुराँस गाउँपालिका राउटेसँग एकदमै नजिक भएको गाउँपालिका हो । उहाँहरु सामाजिकीकरण भएर घर बनाएर समाजमै बस्न तयार हुुनुहुन्छ त ?

समाजमा आएर भर्खरै घर बनाएर ट्वाक्कै बस्ने आज नहोला ! तर, हामीले प्रयत्न गर्यौं, मिहिनेत गर्यौं र सरकारी तवरबाटमा अपनत्व महसुस गरेर अघि बढ्यौं भने पक्का हुन्छ । अहिले त गुराँस गाउँपालिकाले मात्रै एक्लै पहल गरिरहेको छ ।

संघ सरकार मासिक भत्ता दिएर सबै जिम्मेवारी सकियो जसरी बसिरहेको छ, त्यो गलत बुझाइ हो । यसरी सामाजिक सुरक्षा भत्ताको आधारमा मात्रै उहाँहरु सामाजिकीकरण हुनु हुँदैन । तर, उहाँहरुको सामाजिक र परम्परागत संस्कृतिलाई बचाउने गरी काम गर्यौं भने समय लाग्ला तर, उहाँहरु अवश्य समाजमा आउनुहुन्छ ।
यो पनि पढ्नुहोस राउटेलाई सहरले बिगार्‍यो !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment