+
+
Shares

एसईई स्थगित हुँदा विद्यार्थीलाई सास्ती

रामहरि ओझा रामहरि ओझा
२०७६ चैत ६ गते १०:४७
एसईई परीक्षा स्थगित भएपछि घर फर्किंदै डोटीका विद्यार्थीहरु ।

६ चैत, डोटी । डोटीको केआई सिंह गाउँपालिका–४, बालावनस्थित झिमे मालिका माविमा अध्ययनरत छात्र त्रिलोचन भट्ट एसईई परीक्षा दिन भन्दै जीपमा पाँच सय रुपैयाँ भाडा तिरेर बोगटान फुडसिल गाउँपालिकाको खत्याडी पुगे । ऋण सापट गरेर एसईई परीक्षा दिन खत्याडी पुगेका उनको बी प्लस ल्याउने सपना थियो ।

तर, उनी अन्तिम समयमा परीक्षा सर्दा निकै दुःखी छन् । उनी भन्छन् ‘होटेलमा खाना खानु पर्ने, होटेलमै बस्नु पर्ने, अनावश्यक खर्च भयो, अब फर्किने तयारीमा छु ।’

त्रिलोचनकी आमा शारीरिक रुपमा अशक्त छिन् । बुवा सानैमा बिते । परिवारमा अर्को कमाउने कोही छैन । आर्थिक अवस्था कमजोर भएका कारण एसईईको परीक्षा फाराम भर्दा लाग्ने शुल्क समेत विद्यालयले मिनाह गरेको थियो ।

०००

केआई सिंह–४ कै खेमा जोशीको अवस्था पनि उस्तै छ । आर्थिक अवस्था कमजोर भएका कारण आफन्तको घरमा डेरा गरी बसेकी उनी घर फर्किने कि एसईईको नयाँ तालिका केही दिन कुर्ने भन्ने अलमलमा छिन् ।

०००

डोटी जोरायल गाउँपालिका–२ बुडरमा रहेको रामपुर माविकी छात्रा पुष्पा धामी परीक्षामा सहभागी हुन मंगलबारै गाडीमा पाँच घण्टा यात्रा गरेर जिल्ला सदरमुकाम पुगिन् र ज्ञानु होटेलमा बसिन् । सदरमुकामको पद्म पव्लिक मावि केन्द्रबाट परीक्षा दिने तयारीमा रहेकी एसईई स्थगित भएको खबर पाएपछि बिहीबार बिहान साथीहरुसँगै घर फर्किइन् ।

०००

शिखर नगरपालिका–९ मा रहेको सिताराम माविमा प्राविधिकतर्फ अध्ययनरत नवीन बलायर पनि एसईईका लागि मंगलबारै जिल्ला सदरमुकाम पुगेका थिए । उनले सदरमुकामको रिमझिम होटेलमा कोठा लिएर बसेका थिए । कोठा भाडा, खाना, नास्ता, गाडी भाडा गरेर करिब तीन हजार रुपैयाँ खर्च भएकामा उनी चिन्तित छन् ।

०००

डोटीको सबैभन्दा बिकट मानिने बडीकेदार गाउँपालिका–२ को बर्छैन मावि परीक्षा केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारी बोकेर मंगलबारै पुगेका शिक्षक नन्दराम पुनले बुधवार दिनभरी लाएर काम सके । बिपीनगर चौकीबाट प्रहरी बोलाउने, प्रहरीको खाना र बासको व्यवस्था गर्ने, सिट प्लानिङ्ग गर्ने सबै काम सकेर डेरामा पुगेपछि मात्र उनले परीक्षा स्थगित भएको खबर पाए । नौ विद्यालयका एक सय ७४ विद्यार्थी सहभागी हुने उक्त केन्द्रमा परीक्षा दिन करिब ६ घण्टा पैदल हिँडेर विद्यार्थीहरु आएका थिए । विद्यार्थीहरु पनि बिहीबार बिहान घर फर्किँदै छन् ।

०००

कोरोना भाइरसको त्रासका कारण सरकारले अन्तिम समयमा एसईई परीक्षा स्थगित गर्नुका परिणाम हुन् यी सबै । डोटी जिल्लाका तीन हजार ९६ विद्यार्थीहरुले १२ परीक्षा केन्द्रबाट एसईई परीक्षा दिने तयारी गरिरहेका थिए । तर अन्तिममा परीक्षा स्थगित भएपछि उनीहरु निराश छन् ।
सरकारले दुई–तीन दिन अगाडि नै परीक्षा स्थगित गरिदिएको भए आफूहरुले दुःख नपाउने र खर्च पनि जोगिने डोटीका अधिकांश विद्यार्थी, अभिभावक र शिक्षकहरुको धारणा छ ।

‘विद्यार्थीहरु सबै होटेलमा बसेका छन्, उनीहरुको अनावश्यक खर्च भयो,’ बिहीबार बिहान अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै बर्छैन माविका केन्द्राध्यक्ष पुनले भने, ‘सार्नु पर्ने अवस्था थियो भने कम्तिमा दुई दिन अगाडि नै सारेको भए हुन्थ्यो ।’

पद्म पव्लिक माविकी प्रधानाध्यापक गीता जोशीको भनाइ पनि यस्तै छ । ‘परिस्थिति यस्तै आएपछि परीक्षा सार्नु त स्वाभाविकै हो, तर अलि एक–दुई दिन पहिले निर्णय गरेको भए विद्यार्थीहरुले अनावश्यक खर्च गर्नु पर्ने थिएन ।’ अब विद्यार्थीहरुको पढाई बिग्रिन्छ कि भन्ने चिन्तामा छिन् उनी ।

विद्यार्थीहरुले घरमै बसेर स्वयं पढाइ जारी राख्नुपर्ने बताउँदै उनले भनिन्, ‘अब फेरि एक ठाउँ जम्मा गरेर कक्षा चलाउने अवस्था पनि रहेन, विद्यार्थी आफैं सचेत हुनुपर्छ आफ्नो पढाइप्रति ।’

झिमे मालिका मावि वायलका प्रधानाध्यापक नरबहादुर कार्की पनि विद्यार्थीको तयारी बिग्रिने हो कि भन्ने चिन्ता गर्छन् । उनी भन्छन्, ‘वर्षभरी मेहनत गराइयो, अन्तिममा परीक्षा रोकियो ।’

उनी परीक्षा सार्नु राम्रो नभएको बताउँछन् । ‘अब विद्यार्थीहरुको पढाइको बारेमा हामीले चिन्ता लिनुबाहेक अरु केही गर्न सक्ने अवस्था छैन,’ कार्की भन्छन्, ‘अब अभिभावकहरु र विद्यार्थी आफैंले बुझ्नु पर्ने अवस्था छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?