Comments Add Comment

विहारमा अहिलेसम्म किन छैनन् कोरोना भाइरस संक्रमित ?

६ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ ।

बुधबारको तथ्यांकअनुसार महाराष्ट्रमा कोरोना भाइरसको ४२ जनामा संक्रमण पुष्टि भएको छ । केरलामा १९ र उत्तर प्रदेशमा ११ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।

विहार भारतको तेस्रो सबैभन्दा ठूलो आवादी भएको राज्य हो । तर यहाँ अहिलेसम्म एक जनामा पनि संक्रमण देखिएको छैन । यस्तोमा अहिलेसम्म कोरोना भाइरस विहारमा नआएकै हो त ? भनेर प्रश्न उठ्न थालेको छ । धेरै मानिसले भने यसमा आशंका गर्न थालेका छन् । विहारका प्रख्यात डक्टर अरुण साह भन्छन् ‘यो आश्चर्यपूर्ण यसकारण पनि छ किन यहाँ मानिसहरुले उपेक्षा गरिरहेका छन् । सर्वसाधारणमा डर त छ तर, प्रणाली कमजोर र बेहाल अवस्थामा छ ।’

केवल स्कुल कलेज बन्द गर्नु, आयोजना बन्द गर्नु मात्र कोरोना भाइरस रोक्नका लागि पर्याप्त नरहेको उनको भनाइ छ । साबैभन्दा महत्वपूर्ण भाइरस संक्रमितलाई पहिचान गर्नु रहेको साह बताउँछन् । विहारमा भने अहिले प्रक्रिया नै हुन सकिरहेको छैन ।

साह भारतमा बिरामीको पहिचान र उनीहरुको परीक्षण प्रक्रियामा आशंका व्यक्त गर्छन् । उनी भन्छन् ‘सबैभन्दा पहिला त विहारमा कुनै प्रयोगशाला नै छैन, जहाँ यो भाइरस परीक्षण गर्न सकियोस् । विहारको सबै जिल्लामा गरिएको जाँचको नमूना पटनामा एकत्रित गरिन्छ र जाँचका लागि कोलकाता पठाइन्छ । कोलकाताबाट यसको रिपोर्ट आउँछ । यो निकै लामो प्रक्रिया हो ।  उक्त अवधिमा संकलित स्याम्पल्सको क्वालिटी जस्तो हुनुपर्ने हो, त्यस्तै रहन्छ त ?’

विहार सरकारको स्वास्थ्य विभागको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म जाँच गरिएको सबै ७० आशंकित बिरामीको नमूना नेगेटिभ अर्थात् भाइरस संक्रमण नभएको भन्ने आएको छ । तर पीएमसीएचको जुन वार्डमा भाइरसको आशंका गरिएका मानिसलाई राखिएको छ, त्यहाँ पुग्ने बाटो नै फोहोरले भरिएको र दुर्गन्ध फैलिएको छ । बाटोमा नालीको पाली बगिरहेको छ । बिरामीका साथै डक्टर र नर्स पनि त्यही बाटो हुँदै अस्पताल पुग्छन् ।

अहिले आशंका गरिएका मानिसलाई राखिएको स्थानमा जान रोक लगाइएको छ । सुरक्षाकर्मीकाअनुसार आशंका गरिएका व्यक्तिलाई राखिएको वार्डबाट एकजना मानिस भागेका थिए । त्यसैले पनि सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।

वार्डको अवस्था

कोरोना भाइरसको आशंका गरिएका मानिसहरुलाई राखिएको वार्डमा आफन्त भेट्न गएका मानिसकाअनुसार त्यहाँ पनि उनीहरुलाई राम्रोसँग राखिएको छैन । उनीहरुलाई जनावरभन्दा पनि खराब अवस्थामा राखिएको छ । उक्त वार्डमा भाइरस संक्रमण नभएको भन्ने रिपोर्ट आइसकेका मानिसलाई राखिएको छ । डाक्टर र नर्सहरुले पनि उनीहरुलाई अछूतजस्तो व्यवहार गरिरहेका छन् ।

यो वार्डभन्दा मुनि भेटिएका यसरी आशंका गरिएका मानिसका आफन्तले तीन दिनसम्म पनि नमूना परीक्षणको नतिजा नआउने गरेको बताए । केही आफन्तहरु अझै नमूना परीक्षणको नतिजा कुरिरहेका थिए । यसअघि दुबईबाट भारत फर्केका समस्तीपुरका विनोद कुमार चौधरीलाई पनि पीएमसीएचको कोरोना वार्डमा राखिएको थियो । उनले पनि चौथो दिनसम्म पनि आफ्नो नमूना परीक्षणको नतिजा पाएका थिएनन् ।

यसरी भाइरसको आशंकामा अस्पतालमा भर्ना भएका सबै मानिसको गुनासो अस्पतालको व्यवस्थापनको विषयमा देखिएको थियो । उनीहरुले लामो समयसम्म खाना र पानीको व्यवस्था नगरिएको, आफूहरुलाई राखिएको स्थान सफा नगरिएको र कपडासमेत फेर्ने व्यवस्था नमिलाएको गुनासो गरेका छन् । अहिलेसम्म यो वार्डमा १३ भाइरस आशंका गरिएका मानिसलाई भर्ना गरिएको छ ।

कति समयमा हुनुपर्छ कोरोनाको जाँच ?

डा. साहका अनुसार आशंका गरिएका मानिसबाट लिइने केही नमूना यस्ता हुन्छन् कि जसको परीक्षण ६ घण्टाभित्र गरिएन भने त्यसको क्वालिटीमा फरक पर्छ । त्यसैले उनी अहिले भइरहेको जाँचलाई बेकम्मा मान्छन् । अहिले त्यस्तै नमूनाको रिपोर्टको लागि धेरै समय लागिरहेको छ । उनकाअनुसार नमूनाको क्वालिटी फरक पर्‍यो भने स्वाभाविक रुपमा त्यसको नतिजा पनि नेगेटिभ आउँछ ।

पीएमसीएचका सुपरिटेन्डेन्ट विमल कुमारले नमूना संकलनबारे धेरै कुराहरु बताएका छन् । उनका अनुसार विहारमा केवल नमूना संकलनको काम मात्र हुन्छ । अधिकारीका अनुसार कोलाकाताबाट विहारमा नमूना पठाउन र मगाउनको लागि कम्तीमा १२ घण्टा लाग्छ । अधिकारीहरुले नमूना संकलन गरेर कोलकाता पठाउँदा ३/४ दिन लाग्ने गरेको विषयमा भने विहारबाट पठाइने गरिएको आरएमआरआईसँग नै सोध्नुपर्ने बताउँछन् ।

विदेशबाट आएका मानिसमा मात्र शंका ?

कोरोना भाइरसको संक्रमणको आशंका अहिले विदेशबाट आएका मानिस र उनीहरुसँगको सम्पर्कमा आएका मानिसमा मात्र गरिएको छ । त्यसैले एयरपोर्ट र अन्य मुलुकसँगको सीमा रोक लगाइएको छ । डा. शाह भाइरसको संक्रमित पत्ता लगाउने यो प्रक्रियामा पनि आशंका व्यक्त गर्छन् । उनका अनुसार विदेशबाट आउने मानिस हवाई यात्राबाट मात्र नआउने, यो भाइरस सबै छिमेकी मुलुकमा आइसकेको अवस्थामा अन्य मुलुकबाट आउने मानिसमा मात्र यसको परीक्षण गरिनु उचित नहुने उनको भनाइ छ । साथै भारतमा अत्यधिक भीडभाडको वातावरण हुने भएकाले पनि यो भाइरस फैलिनको लागि लामो समय नलाग्ने उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री के भन्छन् ?

विहारका स्वास्थ्यमन्त्रीले अहिले विहार सरकारले कोरोना भाइरसलाई वेवास्ता नगरेको बताएका छन् । उनका अनुसार भारतका धेरै राज्यमा यसको जाँच गर्ने प्रविधि छैन । आफ्नो तर्फबाट विहारले पनि उल्लेख्य प्रयास गरिरहेको उनको भनाइ छ ।

स्वास्थ्य विभागको तथ्यांकअनुसार अहिलेसम्म विहारमा ३१५ जनामा यो भाइरसको आशंकामा निरीक्षणमा राखिएको छ । राज्य सरकारले बुधबारदेखि महामारी नियम लागू गरेको छ । प्रतिवेदनअनुसार यस्तो घोषणा भारतको इतिहासमा पहिलोपटक गरिएको हो । बुधबार विहारको विधानसभामा मास्क लगाएर पुगेका मानिसलाई इंगित गर्दै मुख्यमन्त्री नीतिश कुमारले पनि यस्तो व्यवहारले त्रास पैदा हुने भन्दै यस्तो काम नगर्न उनीहरुलाई आग्रह गरेका थिए । उनले विहारमा कोरोना नभएको दाबी गरेका थिए ।

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment