७ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले कम्युनिस्टको खोल छाडेर गुदी बोकेर हिंडेको जिकिर गरेका छन् । आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले असमानता र गरिबी अन्त्य गर्न नसक्ने कम्युनिस्टको खोल छाडेर हिंडेको बताए ।
‘तपाईंहरूले कम्युनिष्ट छोड्नुभएछ नि भन्नुभयो मलाई । मलाई धेरै साथीहरूले र्याखर्याख्ती पार्नुभयो’ उनले भने, ‘हामीले खोल चाहिं उतै छोडिदिएको, गुदी बोकेर हिंडेका छौं ।’
उनले थपे, ‘जहिले पनि खोल बोकिराख्नुपर्ने, सबै खालको असमानताको अन्त्य गर्छु भन्ने सबै खालको असमानता र अन्याय गरिराख्ने, अब संसारमा त्यस्तो कम्युनिष्ट पार्टी कहीँ पनि चल्दैन ।’
नेता किरातीले नयाँ पार्टीले असमानता, विभेद र सबैखाले शोषणलाई अन्त्य गर्ने बताए । ‘हामीले राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन चाहन्छौं । तपाईंहरूले भनेको पनि त्यही होला । तर भएन । त्यसैले तपाईंहरूको खोल तपाईंहरू नै राख्नुस् । हामीलाई त्यो खोल चाहिएन । हामी गुदी बोकेर हिंड्नेछौं,’ उनले भने ।
उनले थपे, ‘नेपाली जनता र नेपाल राष्ट्रलाई हामी स्वाधीन बनाउने छौं । हामी गरिबीको अन्त्य गर्नेछौं । हाम्रो अबको लडाईं नै गरिबी, असमानता र विभेदको विरुद्धमा हुनेछ ।’
उनले अब सांस्कृतिक समतासहितको आर्थिक समृद्धिसहितको समाज निर्माणको अभियानमा लाग्ने बताए ।
‘देश र जनताको समस्यालाई समाधान गर्ने सोच र शक्ति निर्माण गर्न चाहन्छौं । हामी बोलीलाई व्यवहारमा र अनुहारलाई आचरणमा परिवर्तन गर्न चाहन्छौं’ उनले भने, ‘सबै खाले भ्रष्टाचार हाम्रा निम्ति सबैभन्दा ठूलो शत्रु हुनेछ । भ्रष्टाचारले यो देशलाई गरिब बनायो ।’
प्रतिक्रिया 4