+
+
Shares

‘रोमान्स किङ’ शाहरुख खानको कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शाहरुख खानको जन्म २ नोभेम्बर १९६५ मा दिल्लीमा भएको थियो र उनको बाल्यकाल आर्थिक तथा सामाजिक कठिनाइले भरिएको थियो।
  • उनले टेलिभिजन सिरियल 'फौजी' मा मुख्य भूमिका निभाएर राष्ट्रिय पहिचान बनाएका थिए।
  • उनको फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' ले उनलाई विश्वभर चिनायो र भारतीय प्रेमकथाको शैली परिवर्तन गर्‍यो।

भारत सिनेमाप्रति असाधारण प्रेम राख्ने देश हो । हरेक वर्ष हजारौँ फिल्म बन्ने, करोडौँ दर्शक हलतिर ओइरिने र कुनै कलाकारको स्टारडमले आकाश छुनु यहाँ सामान्यजस्तै लाग्छ । तर यस चमकधमकको उज्यालो पछाडि केही कथाहरू लुकेका हुन्छन्, जसले मेहनत, संघर्ष र आत्मबलको वास्तविक रूप देखाउँछन् । त्यही कथामध्ये एउटा प्रेरणादायी यात्रा हो शाहरुख खानको ।

बाल्यकालका चुनौती र चञ्चलता

२ नोभेम्बर १९६५ मा दिल्लीमा जन्मिएका हुन् शाहरुख । उनको बाल्यकाल सहज थिएन। पिता मीर ताज मोहम्मद पेसावरबाट आएका थिए । परिवारले आर्थिक तथा सामाजिक कठिनाइ नजिकबाट भोग्यो । शाहरुख मात्र १५ वर्षका हुँदा पिता क्यान्सरका कारण बिते । यसले परिवारलाई भावनात्मक रूपमा त छेड्यो नै, जिम्मेवारीको भार पनि अचानक उनको काँधमा पर्‍यो । यी सबैबीच पनि उनले आफ्नो सपनालाई थाति राखेनन्, न त निराशाले उनलाई रोक्न सक्यो ।

शाहरुखका प्रारम्भिक वर्षहरू चञ्चलता, खेलकुद र ऊर्जाले भरिएका थिए । दिल्लीको सेट कोलम्बस स्कुलमा पढ्दा उनी साथीहरूको दृष्टिमा साहसी, लड्न सक्ने तर अत्यन्तै हिम्मतिलो केटाका रूपमा चिनिन्थे । फुटबल, हक्कीदेखि नाटकमा भाग लिने उनी सबैमा सक्रिय थिए । यही आत्मविश्वास र जीवनप्रतिको खुला दृष्टिकोणले उनलाई पछि आइपर्ने गम्भीर कठिनाइहरूमा पनि अडिन मद्दत गर्‍यो।

अभिनयप्रतिको आकर्षण र ‘फौजी’को ब्रेकथ्रु

अभिनयप्रतिको आकर्षण उनलाई अत्यन्तै छिट्टै तान्यो । छिमेकका रामलीलाबाट सुरु भएको उनको अभिनय यात्रा पछि दिल्लीका स्थानीय नाटकघर र रंगमञ्चमा विस्तारियो । यही क्रममा भेटिएका थिए- प्रशिक्षक बैरी जोन, जसले शाहरुखका प्रतिभा पहिचान गरी उनलाई अभिनयको कला गहिरोसँग सिकाए ।

उनको आत्मविश्वास, संवाद र शारीरिक अभिव्यक्तिको कला विस्तारै परिपक्व हुँदै गयो ।

यही तयारीले उनलाई टेलिभिजन सिरियल ‘फौजी’ को मुख्य भूमिकासम्म पुर्‍यायो । कडा अनुशासन, सैनिक जीवनको कठोरता र चरित्रको गहिराइ, शाहरुखले यी सबैलाई प्रभावकारी रूपमा प्रस्तुत गरे । सिरियल प्रसारण भएलगतै उनी राष्ट्रिय पहिचान बने, र ‘एबिडी’ नामले भारतभर चर्चित भए । अभिनय क्षेत्रमा आफ्नो उपस्थितिको ठूलो घोषणा यही सिरियलबाट भयो ।

मुम्बईको यात्रा र ‘डीडीएलजे’ले दिएको अमर सफलता

टेलिभिजनबाट पहिचान त बन्यो, तर शाहरुखको सपना ठूलो पर्दामा चम्किनु थियो । मुम्बईमा कदम राख्दा उनीसँग सीमित रकम, सानो झोलाबाहेक केही थिएन तर सपनामा अटुट विश्वास अवश्य थियो । ठूलो शहर, अपरिचित मानिस र अनिश्चित भविष्यबीच पनि उनी कहिल्यै विचलित भएनन् ।

त्यही लगनले उनी पहिलो फिल्म ‘दीवाना’ सम्म पुगे । फिल्म सफल भयो र शाहरुखले बक्स अफिसमा आफ्नो स्थान सुरक्षित गरे ।

तर वास्तविक स्टारडम उनले ‘दिलवाले दुल्हनिया ले जाएंगे (डीडीएलजे)’ बाट पाए। राजको भूमिकाले उनलाई केवल ‘रोमान्सको राजा’ मात्र बनाएन, विश्वभरका दर्शकको मनमा स्थायी रूपमा बसालिदियो। यो फिल्मले भारतीय प्रेमकथाको शैली नै परिवर्तन गरिदियो, र शाहरुखलाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो।

त्यसपछि आएको उनको करिअर यात्रा अझ विविध र दमदार बन्यो । ‘चक दे इन्डिया’ मा कडा कोचको भूमिका, ‘माई नेम इज खान’ मा भावनात्मक गहिराइ र ‘स्वदेश’ मा ग्रामीण भारतप्रतिको समर्पण यी हरेक फिल्मले उनी कति बहुमुखी र गहिरो कलाकार हुन् भन्ने प्रमाणित गर्‍यो।

व्यक्तिगत जीवन र मानवीय पक्ष

शाहरुख केवल पर्दामा मात्र होइन, व्यक्तिगत जीवनमा पनि उतिकै प्रेरणादायी छन् ।

गौरी छिबरसँगको लामो प्रेम सम्बन्ध, परिवारप्रतिको समर्पण र कडा कार्यतालिकाबीच पनि घरलाई प्राथमिकता दिन सक्ने क्षमता यी सबैले उनलाई एक उदाहरणीय व्यक्तित्व बनाउँछ।

सार्वजनिक जीवनमा सयौँ विवाद र आलोचना भेटिन्थे । तर उनले कहिल्यै आफ्नो शान्त स्वभाव, विनम्र बानी र अनुशासन छोडेनन् । उनी बारम्बार भन्ने गर्छन्-‘कुनै काम सानो हुँदैन, र सपनाको आकारभन्दा ठूलो हुन्छ तपाईंको मेहनत ।’

दिल्लीका गल्लीबाट विश्वका मञ्चसम्म

दिल्लीका गल्लीमा दौडिरहेको एउटा चञ्चले केटा, जसले केवल आफ्नो नामलाई लिएर ठूलो कलाकार बन्ने सपना देख्यो उही केटो आज विश्वभरको चलचित्रइ तिहासमा गहिरो छाप छाड्ने कलाकार बनेको छ।

उनको कथा केवल स्टारडमको यात्रा होइन, आत्मबल, समर्पण र कहिल्यै हार नमान्ने जिद्दीको जीवन्त उदाहरण हो । आज शाहरुख खानलाई हेरिँदा उनको कृतित्व, व्यक्तित्व र उपलब्धिहरू केवल बलिउडको इतिहासमा होइन, विश्व मनोरञ्जन क्षेत्रमा पनि प्रेरणाको श्रोत बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?