Comments Add Comment

बंगलादेशमा कोरोनाको संक्रमण फैलिने त्रास

काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएको छ । यो भाइरस नियन्त्रणका लागि विश्वका धेरै मुलुकले आफ्नो अन्तर्राष्ट्रिय उडान तथा बाहिरबाट आउने मानिसमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यसका साथै भीडभाड हुने क्षेत्र बन्द गर्ने र धेरै मानिस भेला हुन नपाउने नियम धेरै मुलुकले अघि सारेका छन् । तर, बंगलादेशमा भने बुधबार भाइरसको बढिरहेको समयमा हजारौं मानिस मस्जिदमा प्रार्थनाको लागि भेला भएका थिए ।

बंगलादेशको राइपुरमा १० हजार मानिस बुधबार भेला भएको स्थानीय प्रहरी प्रमुख टोता मियाहले बताएका छन् । तर केहीले भने उक्त स्थानमा भेला हुनेको संख्या ३० हजार रहेको दाबी गरेका छन् । यसअघि गत फेब्रुअरीमा मलेसियामा त्यस्तै किसिमको धार्मिक भेला कोरोना भाइरस फैलिनुको कारण रहेको खुलेको थियो ।

मलेसियाको उक्त भेलामा १६ हजार मानिस सहभागी भएका थिए । मलेसियामा पाइएको संक्रमण छिमेकी मुलुक ब्रुनाई, सिंगापुर र कम्बोडियाबाट आएको बताइएको छ । त्यसपछि मलेसियाले सबै सार्वजनिक भेलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । भाइरस रोक्न मलेसियाले आफ्नो सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै किसिमको धार्मिक भेला इन्डोनेसियाले पनि रद्द गरेको छ ।

प्रार्थना र सुरक्षा

बुधबार बंगलादेशमा कोरोना भाइरसको कारण बंगलादेशमा पहिलो मृत्युको पुष्टि भएपछि यो धार्मिक भेला आयोजना गरिएको थियो । अहिलेसम्म बंगलादेशमा १८ जनामा यो भाइरसको पुष्टि भइसकेको छ । तर, विज्ञहरुले भने सरकारको यो तथ्यांकप्रति आशंका व्यक्त गरेका छन् । मियाहका अनुसार, बुधबारको आयोजकले कुनै अनुमति भने लिएका थिएनन् ।

बीबीसी बंगालीका प्रतिनिधिले प्रार्थना गरेर फर्किएका मानिससँग कुरा गरेका थिए । उनीहरुले आफूहरु अब भने कोरोनाबाट मुक्त भएको बताएका थिए । उनीहरु धर्मको आस्थाले यो भाइरस नलाग्नेमा विश्वास गर्छन् ।

धेरै मानिसमा सर्ने आशंका

इन्डोनेसियामा ठूलो समूहमा गरिन लागिको तीन दिने धार्मिक सम्मेलन रद्द गरिएको थियो । ठूलो समूहमा यसरी सम्मेलन आयोजना गर्दा भाइरस फैलिने जोखिम उच्च हुने भन्दै उक्त भेला रद्द गरिएको हो । अधिकारीहरुको लामो प्रयासपछि बिहीबार मात्र आयोजक भेला रद्द गर्न सहमत भएका थिए ।

इन्डोनेसियामा अहिलेसम्म २५ जनाको ज्यान गइसकेको छ । मुलुकभर कोभिड–१९ संक्रमितको संख्या ३०९ पुगिसकेको छ । त्यसैले सरकारले यसलाई नियन्त्रणको प्रयासस्वरूप सार्वजनिक भेलामा रोक लगाउने निर्णय गरेको हो । मलेसियामा पनि सार्वजनिक भेलाबाट नै अहिले मुलुकभर संक्रमितको संख्या ९०० पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment