Comments Add Comment
प्रधानमन्त्रीको सम्बोधन :

देशभित्र यातायात बन्द, भारतीय सीमा नाका खुल्ला !

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भन्छन्- दुबै देशको समन्वयमा निर्णय हुन्छ

७ चैत, काठमाडौं । नेपाल सरकारले कोरोनाको जोखिमका कारण लामो दुरीका सवारी साधनको आवगनमा चैत १० गतेदेखि केही अवधिका लागि रोक लगाउने घोषणा गरेको छ । तर भारतीय नाकाबाट आवत-जावतमा भने बञ्देज लगाएको छैन ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधनमा देशभित्र चल्ने आन्तरिक सवारी साधनका विषयमा यस्तो भनिएको छ, ‘आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’

साथै नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि रोकिएको छ ।

तर सीमा नाकाबाट आवत-जावत गर्ने सवारी साधनका हकमा भने सरकारले चल्न दिन नीति लिएको छ । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने छ ।’

भारतमा कोरोनाको जोखिम बढिरहे पनि सरकारले नाकामा लकडाउन गर्ने हिम्मत देखाएको छैन ।

यसअघि सरकारले सीमा नाकामा मानवीय आवतजावत रोकेर आपूर्ति व्यवस्था मात्र सूचारु राख्न भारतीय पक्षसँग प्रस्ताव थरेको थियो ।

तर भारतबाट प्रष्ट जवाफ नआएपछि सरकार लक डाउनतर्फ अघि बढेन । शुक्रबारमात्रै पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग टेलिफोनमार्फत कुराकानी गरेको थिए । वार्तामा दुबै विदेशमन्त्रीले आपूर्ति सहज बनाउन जोड दिएको बताइएको छ ।

भारतीय नाकाहरु खुल्ला हुँदा भारतका विभिन्न राज्यका धर्मावलम्बीहरु काठमाडौंको पशुपतिनाथ सम्म आउने क्रम रोकिएको छैन ।

कोरोनाको जोखिम देशभित्रको सार्वजनिक सवारीमा मात्र हो या सीमानाबाट नेपाल भित्रिने सवारी साधानबाट पनि जोखिम आउन सक्छ भन्ने प्रश्नहरु प्रधानमन्त्रीको सम्वोधनपछि सामाजिक सञ्जालमा उठ्न थालेका छन् ।

अहिले भारतीय नाकाबाट मात्र नभएर केरुङ र तातोपानी नाकाबाट पनि आवत-जावत सुचारु हुन थालेको त्यहाँ कार्यरत व्यवसायीहरु बताउँछन् ।

पाँच देशको उडानमा फरक नीति

त्यसो त नेपाल सरकारले ६६ देशबाट नेपाल प्रवेशमा रोक लगाइरहँदा पनि ५ देशलाई भने अनौठो ढंगले छुट दिएको थियो । खाडी मुलुकबाट कामदारहरु नेपाल आउन रोक लगाएको सरकारले चीन, भारत, अमेरिका, थाइल्याण्ड र सिंगापुरसमेत ५ देशको उडानलाई चाहिँ रोक लगाएन । सरकारको यस्तो दोहोरो नीतिको औचित्य प्रष्ट हुन सकेको छैन ।

तर, शुक्रबारको प्रधानमन्त्रीको सम्वोधनले चैत ९ गतेदेखि १८ गतेसम्म चीन, भारत, अमेरिका, थाइल्याण्ड र सिंगापुर लगायतका सबै अन्तरराष्ट्रिय हवाइ उडान नेपाल भित्रिन नपाउने भएका छन् ।

सरकारले सीमा नाकाको आवत-जावत किन बन्द नगरेको होला ? अनि किन अमेरिका लगायत ५ वटा देशको आवागमन नरोकिएको ? यस विषयमा हामीले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईसँग संक्षिप्त कुराकानी गरेका छौं ।

डा. भट्टराईलाई हाम्रो पहिलो प्रश्न सीमा नाका बन्द नगरिएको विषयबाटै-

सरकारले आन्तरिक यातायात र आवागमन चाहिँ रोक्यो, तर भारतसँगको सीमा नाका बन्द गर्ने किन नसकेको ? यसो गर्दा भारतबाट कोरोना भित्रिने जोखिम हुँदैन र ?

प्रथमतः यसमा कुरा के छ भने नाका बन्द गर्ने वा जे गर्ने हो, त्यो दुई देशको समन्वयमा गर्नुपर्छ । जे गर्दापनि उनीहरु र हामीवीच एउटा सहमितमा पुगेर नै गर्ने हो ।

दोस्रोचाहिँ यस्तो खालको स्थिति हामीले पहिलोपटक अनुभव गर्दैछौं । यसभन्दा अगाडि उनीहरुकोतिर चुनाव हुँदा या हाम्रोतिर चुनाव हुँदा नाका बन्द हुने गर्दथ्यो । तर चुनावको बेलामा बन्द हुँदा भारतीय पक्षसँग त्यहीँ स्थानीय तहमै कुराकानी हुन्थ्यो र स्थानीय तहमै त्यसको समझदारी हुन्थ्यो । तर यो चाहिँ पहिलोचोटि आएको समस्या हुनाले यसको मोडालिटी के हुने भन्नेबारे केन्द्रीय स्तरबाटै समन्वयन नगरिकन पुरानो चुनावी तरिकाबाट मात्रै गर्न सकिँदैन । हामीले एकैचोटि यसो गर्छौं भनेरमा मात्र जाँदा यसको कार्यान्वयनमा अप्ठ्यारो पर्छ ।

यसकारणले गर्दा आज प्रधानमन्त्रीज्यूको सम्वोधनमा हामीले स्पष्ट भनेका छौं कि सीमालाई व्यवस्थित गर्न जरुरी छ । यो कुरामा हामी दुबै छिमेकी गरेर नाकाहरुलाई व्यवस्थित गर्छौं भन्ने भाषा हामीले त्यस हिसाबले राखेका हौं ।

भनेपछि सीमा नाकाहरु के गर्ने भन्नेबारे दुई देशको सहमतिमा गर्ने भन्ने हो ?

हो । आपसी समन्वयबाटै गर्नुपर्छ । किनभने, सीमा नाका भनेको दुबैतिरको चासोको विषय हो । दुबैतिरको समन्वय भएन भने एकतर्फीमात्रै गर्छु भनेर त्यो लागू हुन गाह्रो हुन्छ । त्यसकारण यसबारे छिमेकीहरुसँग समन्वय गरेर सरकार अगाडि बढ्छ ।

के यस विषयमा भारतसँग कुराकानी भएको छ कि छैन ? परराष्ट्रमन्त्रीले पनि भारतीय समकक्षीसँग कुराकानी गरेका खबरहरु आइरहेका छन्….

एकदम राम्ररी हाम्रो कुराकानी भइरहेको छ । यहाँको तहबाट पनि कुराकानी भएको छ, हाम्रो दिल्ली दूताबासले पनि कुराकानी गरिरहेको छ ।

तर, भारतसँग जोडिएका नाकाहरुबाट धमाधम मानिसहरु नेपाल आइरहेका छन्, यो अवस्थामा कोरोना भित्रिने जोखिम बढ्दैन र ?

त्यो त हामीले केही नगर्दा पनि मानिसहरु आफ्नो चेतनाले आउने क्रम त रही नै रहन्छ । आजकै तथ्यांक हेर्दाखेरि पनि सबैतिर फ्लो बढेको छ । हाम्रा नेपाली कामदारहरु सुरक्षित ठाउँ खोजेर उताबाट र्फकन थालेका छन् ।

यो अवस्था रहिरहँदाखेरि कोरोना नेपालमा छिरिसक्यो कि भन्ने त्रास त झनै बढ्ने भयो नि हैन र ?

त्यो त छ । त्यो रिस्क हामीले महसुस गरेका छौं । त्यही भएर नै हामीले भैरहवा, नौतुना, कृष्णनगरमा अलि बढी कडाइ गरेका छौं । यता वीरगञ्ज, बिराटनगर, काँकरभिट्टामा पनि अलि कडाइ भएको छ । सबै ठाउँको मैले पनि जानकारी लिएको छैन । हाम्रा नाकाहरु धेरै ठाउँमा छन् । त्यही भएकाले हामीले यो यो ठाउँबाट मात्रै आउन पाउने भनेर तोकेका छौं ।

निश्कर्षमा भन्दाखेरि दुबै सरकारहरुले ती ठाउँहरुमा कडाइपूर्वक नियमन गर्ने कुरा प्रधानमन्त्रीको सम्वोधनमै आइसकेको हुनाले अब हामी यसलाई कार्यान्वयनमा लिएर जान्छौं ।

उत्तरतिर पनि अहिले केरुङ र तातोपानीमा आवत-जावत सहज हुन थालेको हो ?

रिस्क कम हुँदा केही सहज हुन थालेको हो । अहिले सामानहरु चाहिँ ल्याउने कि भन्ने कुरा चलिरहेको छ । यसमा पनि समन्वय गरेरै गर्नुपर्छ ।

दक्षिणका नाकाहरुको सन्दर्भमा कुरा गर्दा आपूर्ति व्यवस्थाका कारणले पनि हामीले नाका बन्द गर्न हिच्किचाउनुपरेको पो हो कि ?

हाम्रो संवेदनशीलता त्यो पनि छ । किनभने हामीले आपूर्ति व्यवस्था रोक्न सक्दैनौं । किनभने हाम्रो धेरै वस्तुहरुका लागि डिपेन्डेन्सी उतैतर्फ छ ।

सरकारमाथि अर्को पनि प्रश्न के उठेको छ भने खाडी मुलुक लगायतका देशबाट नेपाल आउन रोक लगाइरहँदा अमेरिका, सिंगापुर, थाइल्याण्ड, चीन र भारत लगायत ५ देशको आवागमन चाहिँ किन नरोकेको ? खाडीबाट सर्वसाधारण नेपाली आउने, अमेरिकाबाट ठूलाबडाहरु आउने भएर पो हो कि भन्ने पनि छ नि ?

त्यो होइन । त्यहाँको महामारीको अवस्थालाई हेरेर यो व्यवस्था गरिएको हो । उतातिरको कडाइलाई आधार मानेर त्यो व्यवस्था गरिएको हो । त्यहाँबाट उड्नु अगाडि नै त्यहाँ कडाइपूर्वक चेकअप हुन्छ । चेकअप हुँदा त्यहाँ केही शंकापस्पद अवस्था देखियो भने उनीहरु उड्नै पाउँदैनन् ।

तर, आज प्रधानमन्त्रीको सम्वोधनपछि अब पर्सिबाट त सबै नै बन्द भइहाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment