Comments Add Comment

ठमेलका अधिकांश होटल रेष्टुराँ बन्द, कर्मचारीलाई बेतलबी बिदा

८ चैत, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण पर्यटकहरुको आवागमन ठप्प भएपछि त्यसको प्रत्यक्ष मारमा कर्मचारीहरु पनि परेका छन् । यतिबेला मुख्य पर्यटकीय केन्द्र ठमेलका अघिकांश होटल व्यवसायीले कर्मचारीलाई अनिश्चितकालको लागि बेतलबी बिदा दिएर घर पठाएका छन् ।

सरकारले लगभग सबै देशबाट नेपाल आउन बन्द गरेपछि ठमेलका होटलहरुले कर्मचारीलाई बेतलबी बिदामा घर पठाउन थालेका हुन् । ठमेल विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणाले अहिले अधिकांश रात्रि व्यवसायहरु बन्द भएको जानकारी दिए । अनलाइनखबरसँग राणाले भने, ‘अहिले होटल, रेष्टुराँ जस्ता अधिकांश रात्रि व्यवसायहरु बन्द छन् भने त्यहाँ कार्यरत अधिकांश कर्मचारीहरुलाई घर पठाइएको छ । धेरै कर्मचारीहरु घर जान पनि खुशी नै देखिन्छन् ।’

परिषद्का अनुसार अहिले ठमेल क्षेत्रभित्र मात्रै साना–ठूला गरेर ४ हजार जति होटलहरु छन् । त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ३० हजार कर्मचारीहरु छन् । राणाका अनुसार विभिन्न होटल व्यवसायीले होटलमा रहेका ८० देखि ९० प्रतिशत कर्मचारीहरुलाई घर पठाएका छन् । सुरक्षा, हाउसकिपिङ र पाकशालाका एकाध कर्मचारीबाहेक अधिकांश होटलले सबै कर्मचारीहरुलाई बिदा दिएका हुन् ।

सुरक्षा गार्ड र केही सीमित कर्मचारीहरु बाहेक बाँकी सबै कर्मचारीहरुलाई एउटै निर्णयबाट बिदाई गरिएको पर्यटन व्यवसायी एवं होटल सञ्चालकहरुले जनाएका छन्

यतिबेला सेकेण्ड लट (घुमघाम गरेर फर्किएका) पर्यटकहरु फाट्टफुट्ट ठमेलका बजारहरुमा देखिने गर्छन् । उनीहरुमध्ये कोही यही सुरक्षित मानेर स्वदेश फर्किन चाहिरहेका छैनन् भने कोही स्वदेश फर्किनको लागि टिकट नपाएर यहाँ बस्न बाध्य भएको होटल सञ्चालकहरु बताउँछन् ।

ठमेलको चाक्सिबारीमा रहेको होटल ग्रीन होराइजनमा रहेका झण्डै एक दर्जन पर्यटकहरु नेपाललाई नै सुरक्षित मानेर यहाँ बसिरहेका छन् । चीन, स्पेन र इटालीबाट आएका पर्यटकहरु अहिले स्वदेश फर्किन भन्दा नेपालमै सुरक्षित मानेर बसिरहेको होटलका सञ्चालक रमेश ढकालले जानकारी दिए । त्यस्तै, ठमेलमा रहेको नर्बुलिंक बुटिक होटलमा २० जना बेलायती पर्यटकहरु स्वदेश फर्किने टिकट नपाएर बसिरहेको होटल सञ्चालक रविन ढकालले जानकारी दिए ।

अहिले अधिकांश होटलहरुले फागुन महिनासम्मको तलब दिएर अनिश्चितकालको लागि कर्मचारीहरुलाई घर पठाएका छन् । सुरक्षा गार्ड र केही सीमित कर्मचारीहरु बाहेक बाँकी सबै कर्मचारीहरुलाई एउटै निर्णयबाट बिदाई गरिएको पर्यटन व्यवसायी एवं होटल सञ्चालकहरुले जनाएका छन् ।

होटल एसोसिएसन अफ नेपालको अग्रसरमा सरकारसँग ती कर्मचारीहरुलाई तलबको २५ प्रतिशतसम्म खर्च दिनेबारे पहल भइरहेको भए पनि त्यसबारे निर्णय भइनसकेकाले अहिलेसम्मका लागि सबै कर्मचारीहरुलाई बिना तलब अनिश्चितकालको लागि बिदाई गरिएको होटल नर्बुलिंकका सञ्चालक ढकाल बताउँछन् ।

ढकालले होटलका कूल ४० जना कर्मचारीमध्ये यतिबेला मुस्किलले ७/८ जना कर्मचारी बाहेक अरु सबैलाई बिदाई गरिएको जानकारी दिए । होटलले अहिलेको लागि अप्रिल ३० सम्मको लागि भनेर बिदा गरेको भएपनि अवस्था सामान्य भएपछि मात्रै बोलाउने गरी कर्मचारीलाई घर पठाएकाले अप्रिल ३० मा नै उनीहरुको पुनरागमन हुन्छ भन्ने यकीन नरहेको सञ्चालकहरु बताउँछन् ।

होटलले पछिल्लो १५ दिनदेखि नै नयाँ बुकिङ लिएको छैन । पहिले नै आएका २० जना आगामी २२ तारिकमा स्वदेश फर्किएपछि होटल पूर्णरुपमा बन्द गर्ने तयारीमा आफू रहेको ढकाल बताउँछन् । होटलले ८५ प्रतिशतभन्दा धेरै कर्मचारीहरुलाई अनिश्चितकालको लागि बिना तलब बिदा गरिएको जनाएको छ ।

त्यस्तै, द एड्रेस काठमाडौं नेपालका सञ्चालक नवीन भुजेल २२ तारिकसम्म बस्ने गरी आएका पाहुनालाई बिदाई गरेपछि अहिले कार्यरत २२ जना कर्मचारीहरुलाई बिदा गर्ने तयारीमा रहेको बताउँछन् । उनले यसअघि नै १० जना कर्मचारीहरुलाई १५÷१५ दिनको लागि कामबाट बिदा गरिसकेका थिए । अब उनीहरुलाई पनि पूरा महिना नै बिदा दिने तयारीमा आफू रहेको भुजेलले बताए । ‘हामी कर्मचारीहरुसँग छलफल गरेर नै उनीहरुलाई बिदा दिने तयारीमा छौं,’ उनले भने, ‘पाहुनाहरु नआएपछि कर्मचारी पाल्न सक्ने अवस्था छैन । भुजेलको होटलमा रहेका ३२ कर्मचारी अब कोरोनाको कारण बेरोजगार हुने निश्चित भएको हो ।’

त्यस्तै, चाक्सिबारीमा रहेको होटल ग्रीन होराइजनका सन्चालकले भने अहिले तत्काल बन्द गर्ने तयारीमा नरहेको बताएका छन् । होटलका सञ्चालक रमेश ढकालले अहिले झण्डै १० वटा जति कोठामा पर्यटकहरु रहेका कारण तत्काल होटल बन्द गर्ने तयारीमा आफू नरहेकोे बताए ।

उनका अनुसार अहिले बेईजिङबाट आएका ३ जना पर्यटकहरु चीन जान नमानेर यही होटलमा बसिरहेका छन् । त्यस्तै, क्यानडाका एक जना, इटालियन एक जना र स्पेनका एक पर्यटकहरु आफ्नो देश फर्किन नमानेको उनले बताए ।

यद्यपि होटलमा समेत कर्मचारी कटौतीको क्रम भने चलिरहेको उनले बताए । ढकालका अनुसार कूल १४ जना कर्मचारी रहेको सो होटलबाट ४ जना कर्मचारीहरुलाई अहिले बेतलबी बिदा दिइएको छ । त्यस्तै, ८ जना कर्मचारीहरु अहिले १५÷१५ दिनको सिफ्टमा काममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment