Comments Add Comment

उपेन्द्र सुब्बा देखिए जति राम्रोचाहिँ होइन है !

८ चैत, काठमाडौं । कुनै समय सहरमा उपेन्द्र सुब्बा कविका रुपमा चर्चित थिए । बिस्तारै उनको कविता कम प्रकाशित हुन थाल्यो । बरु लिम्बू समुदाय र पहाडी जनजीवनको मर्म मिसिएका कथा पत्रपत्रिकामा छापिन थाले ।

अनि उपेन्द्र सुब्बा (उपेन्द्रबहादुर आङेदेम्बे) को चर्चा कथाकारको रुपमा हुन थाल्यो ।

त्यही बखत उनको ‘लाटो पहाड’ कथासंग्रह आयो । संग्रहका लागि उनले ‘पद्मश्री’ पुरस्कार प्राप्त गरे । यसपछि सुब्बाका कथा कम छापिन थाल्यो । बरु उनको लेखनमा ‘कबड्डी’, ‘तान्द्रो’, ‘पुरानो डुंगा’लगायत चलचित्र रिलिज भए ।

‘कबड्डी’ भाग–३ सम्म बनिसकेको छ । तीनवटै भागमा सुब्बाकै कलम दौडियो । यसपछि उनले सिनेमा लेख्नेमात्र होइन आफैं निर्देशन गर्न थाले । उनको निर्देशनमा बनेको पहिलो चलचित्र ‘जारी’ आगामी जेठ २३ गते रिलिज हुँदैछ । साहित्यका सुरुवाती दिनमा उनी गीतकार भएको सुनाउँछन् ।

सृजना र कलामा उकालो चढिरहेका सुब्बाको जीवनकथा पनि उत्तिकै रमाइलो छ । यहाँ ‘जारी’ र  सुब्बाको जीवनबारे केही जिज्ञासा गर्न खोजिएको छ ।

चलचित्र निर्देशनको पहिलो अनुभव कस्तो रह्यो ?

म सिनेमासँग जोडिएको एक दशक भइसकेछ । यसबीच साथीभाइको सिनेमामा लेखक, सह–लेखक भएर काम गरेँ । सुटिङका लागि गाउँगाउँ गएँ । फिल्मबारे हुने चर्चा र बहसमा सहभागी भएँ । बिस्तारै म फिल्मकै वरिपरि रहेँ । एकदिन, मैले पनि निर्देशन गर्न सक्छु भन्ने लाग्यो । अनि ‘जारी’ निर्देशन गरेँ । अहिले रिलिजभन्दा अगाडिको सबै काम सकिएको छ ।

तपाईं आफैंले लेखेको अरु फिल्मभन्दा ‘जारी’ के फरक छ ?

‘जारी’मा पुरानै कथा भनिरहेको छैन म । किनभने प्रेमकथा त कहिल्यै पुरानो हुँदैन नि ! प्रेम अभिव्यक्त गर्ने शैली संसारका हर समुदायमा फरकफरक हुन्छ ।

‘जारी’मा मेरै लिम्बू समुदायको प्रेम कहानी उठाएको छु । धेरैलाई ‘जारी–प्रथा’बारे सुब्बाले फिल्म बनायो भन्ने लाग्यो होला । जारी प्रथाभन्दा पनि प्रेम निरन्तर भइरहने कुरालाई ‘जारी’ भन्न खोजिएको छ यहाँ ।

वर्ष २०७६ मा नेपाली फिल्मबारे भएका दर्जनौं बहस–छलफलमा नेपाली सिनेमा कमजोर भएको कुरा उठे । ‘जारी’ले ती बहसको चित्त बुझाउन सक्ला ?

समस्या भएरै त बहस भएको होला ! र, मलाई चाहिएको पनि यही हो कि हाम्रो सिनेमा माथि सधैं स्वस्थ बहस होस् । हामी आफ्नो कमजोरी स्विकार्न सकौँ ।

फिल्म समीक्षक अनुप सुवेदीलाई मैले ‘अरु गर्न नसके पनि एउटा खास नयाँ कथा टिपेर म सिनेमा बनाउँछु’ भनेको थिएँ कुनै दिन । अहिले मेरो कुरा यत्ति हो कि, नेपाली समाजको नछोइएको कथा टिपेर म सिनेमा बनाउने प्रयासमा छु ।

‘बाउले नपढेर दुःख पाए, मैले पढेर दुःख पाएँ’ भन्न तपाईको कविता चर्चित रह्यो । पढेरै दुःख पाउनुभएको हो त ?

पढेरभन्दा पनि जानेर चाहिँ दुःख पाइन्छ । आमाले मलाई किशोर हुँदा हलो बनाउने, दाम्लो बनाउने, डोको बुन्ने काम सिक्दै नसिक् भन्नुहुन्थ्यो । जानेपछि अरुले काम अह्राउँछन्, दुःख पाउँछस् भन्नुहुन्थ्यो । आखिर जानेपछि आफ्नो गल्तीको महसुस हुने रहेछ । कमजोरी बोध हुने रहेछ ।

त्यसो भए, जीवनमा साँच्चै दुःखचाहिँ कति पाउनुभयो ?

साँच्चै भन्नुपर्दा मैले दुःख पाइनँ ! बाल्यकालमा म घरको एक्लो छोरा, जिद्दी स्वभावले नै आफ्नो इच्छा पुरा गरेँ । युवा भएपछि घर छाडेँ । फेरि मसँग असम्भव लाग्ने ठूलाठूला सपना कहिले भएन । मलाई घर, गाडि, बाइक, नाम चाहिएन । यस्तो भएपछि स्वभाविक रुपमै दुःख कम हुने भयो । ३०–३५ वर्ष लाग्दा ओशो, कृष्णमूर्तितिर आकर्षण भयो । त्यसपछि त दुःख झन् सामान्य लाग्न थाल्यो ।

तपाईंको लेखनमा, खास गरेर कथा र सिनेमामा हास्य रसको प्रधानता छ । तपाईकाबारे किस्सा पनि धेरै सुनिन्छ । वास्तविक जीवनमा पनि यस्तै हो तपाईं ?

मलाई दुःख लुकाउन आउँछ । तर, मेरो चेहरामा गहिरिएर हेर्दाचाहिँ दुःख झल्किँदोरहेछ । म पीरमा छु भन्ने कुरा सधैं चिन्ने मान्छेले मेरो अवस्था हेरेर चिनिहाल्ने रहेछन् ।  तैपनि म पीर लुकाउन खोजिबस्दो रै’छु ।

म घोरिन, नबोल्न थालेँ भने छोरीहरू पनि डराउँछन् । सधैं हाँसिमजाक गर्नुपर्ने आदत भएकाले धेरै मान्छे म बोलिनँ भने डराउँछन् । अब त उपेन्द्र सुब्बा रमाइलो गरि बस्छ भन्ने भइसक्यो ।

एउटै विधामा किन अडिन नसकेको ?

गाउँमा गीत सुन्दासुन्दा मलाई पनि आफ्नै भावना फुर्न थाल्यो । त्यहीबेला दश–बाह्रवटा गीत लेखेँ । गीतमा रेडियो नेपालबाट पुरस्कार पनि पाएँ २०५६ मा । तर, गीतलाई वैशाखी चाहिने रहेछ । गायक, संगीतकार चाहिने त्यसपछि रेकर्ड गर्न खर्च लाग्ने । त्यसपछि गीत छाडेर म कविता लेख्न थालेँ । तर कवितामा जे चाहन्थेँ, त्यो लेख्नै सकिनँ । कवितामा सम्पूर्णमा अभिव्यक्त हुन सकिनँ । अनि कथा लेख्न थालेँ । प्रकाशकसँग संग्रह निकाल्ने सम्झौता गर्दा चाही मसँग तीनवटा मात्र कथा थिए । कथा लेख्दालेख्दै स्क्रिप्ट सुरु भयो । अनि फिल्म सुटिङमा जाने, फिल्मबारे चर्चा–परिचर्चा गर्दागर्दै फिल्म निर्देशन गर्ने अवसर जुर्यो ।

यही बानी भएर कुनै अन्तरवार्तामा ‘मलाई मेरा कविता मनै पर्दैनन्’ भन्नुभएको हो ?

भनेको थिएँ, पाँच/सात साल पहिले । किनभने, मैले जे सोचेर कवितामा हात हालेँ त्यसलाई पूर्ण रुप दिएर लेख्न सकिनँ । म आफ्नै कविताभित्र अधुरो भएँ । अहिले पनि मलाई आफ्ना कविता मन पर्दैन ।

फुर्नेबित्तिकै कविता लेख्नुहुन्छ ?

म त छुट्टि लिएर पो कविता लेख्छु त । कविताका १०/२० वटा थिम सोचेर बसेको हुन्छु । अब कविता लेख्छु भनेर बसेपछिमात्र एक हप्ताजति लगाएर केही कविता लेख्छु । कुनैबेला त दश दिनसम्म लगातार पनि लेखेको छु । ‘खोलाको गीत’ संग्रहमा भएका धेरै कविता यसरी नै लेखेको हुँ ।

एकसमय उपेन्द्र सुब्बा भन्दा लामो जटा पालेको कवि भनेर चिनिन्थ्यो । लट्टाभित्र लुकेका विशेष कुरा केही छन् कि ?

कपाल मैले बाल्यकालदेखि नै पालेँ । लट्टा भएकै कारण कबड्डी फिल्मका दुवै सिरिजमा झाँक्रीको रोल खेल्नुपर्यो । त्यसपछि बाटोबाटोमा मलाई झाँक्री भन्न थाले । अनि लट्टा फुकाएर कपाल छोट्याएँ । तर मेरो कपाल बाक्लो छ, जति झरेपनि सकिँदैन । अब त झन् सेतो हुँदैछ । विप्लव प्रतीकको जस्तो सेतो, लामो कपाल पाल्ने रहर छ । फेरि के विश्वास छ भने कपालले मलाई असी वर्ष भइन्जेल साथ दिन्छ ।

गोरु बेच्दै हिँडेका दिनहरुमा कुनैबेला आफ्नो किताब निस्किन्छ, फिल्म बन्छ भन्ने लागेको थिएन होला हगी ?

जीवनमा मैले खास उद्देश्य कहिल्यै राखिनँ । म जन्मेको पाँचथर आङसराङमा जीवनका दुई दशक बिताएँ । त्यस्तो विकटमा जन्मेको मान्छेले के बन्ने सपना देख्नु र ? हदै भए लाहुेरे, नभए मास्टर बन्ने सपनाबाहेक अर्थोक थिएन ।

गोरु बेच्न हिँड्दाका अरु रमाइला क्षण कस्ता थिए ?

गोरुमात्र होइन, खुर्सानी बेच्न भारत सिलगुढीसम्म पुगेको छु । गोरु बेच्दा कहिलेकाहीँ बहुत समस्या पथ्र्यो । कतिपय बेला मन परेकी केटीको गाउँ पनि पुगिन्थ्यो । दमकमा हिरो बनेर हिँड्नुपर्ने मान्छे, गाउँमा गोरु खेद्दै हिँडेको देख्छन् भनेर बहुत डराउथेँ ।

ताप्लेजुङदेखि गोरु खेदाउँदै दमक झर्नुपर्ने । बास नपाउँदा गोरुसँगै सुत्यो । गीत गाउँदै उकालो–ओरालो झर्यो, त्यही त हो गोठालो जीवन ।

रक्सी छोडेर पनि मानिस हाँस्न सक्छ र ! भन्ने कवि, आजकाल खानपान कस्तो छ ?

जीवनको तीन दशक खुब रक्सी खाएँ । चारपटक त बेहोशै हुने गरी खाएको याद छ मलाई । तर रक्सी छाडेपछि पनि त म रमाइलो गर्दोरहेछु ।

रक्सीमा जस्तै मासुमा पनि मेरो खुब मोह थियो । सानोमा एकपटक गाउँभरि कुखुरा, सँगुर नपाएपछि आमाले परेवासमेत मारेर मलाई मासु बनाइदिनुभो । काठमाडौं र धरान बस्दा एक किलोभन्दा कम सुंगुरको मासु कहिल्यै किनिनँ । आधा किलो किन्नुपर्यो भने त मलाई लाज लाग्थ्यो । मासु छोड्दा मलाई ‘अब के खाएर बाँच्नु’जस्तो लाग्थ्यो । तर, मोह छोड्नु भनेको ठूलो मुक्ति रहेछ । मासु खान छोडेपछिमात्र मलाई अबचाहिँ जे आदत पनि छोड्न सक्छु भन्ने विश्वास बढ्यो ।

स्वास्थका कारण मासु र रक्सी छाडेको पनि एक दशक भइसक्यो ।

मात्नुपर्यो भने के खानुहुन्छ ?

मात्नुपर्ने कारण नै के छ ! अहिले म सचेत भएर बस्छु । दिमाग केही कुरामा चलिबस्छ । लेख्छु–पढ्छु, साथीभाइ भेट्छु, परिवारसँग समय बिताउँछु । पुग्नेजत्ति मातिसकेको छु ।

उपेन्द्र सुब्बाको जीवनलाई कसरी बुझ्ने त ?

यत्ति बुझ्नु– उपेन्द्र सुब्बा जति राम्रो देखिन्छ, त्यत्ति राम्रो चाहिँ होइन है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment