Comments Add Comment

तीन पटक रद्ध भएको थियो ओलम्पिक

विश्व खेलकुदकै महाकुम्भ हो ओलम्पिक । जसमा करिब २ सय देशका खेलाडी विभिन्न विधाका खेलमा एकै पटक सहभागिता जनाउनेछन् ।

सन् १८९६ मा युरोपियन राष्ट्र ग्रीसको एथेन्सबाट शुरु भएको ओलम्पिकको २९ औं संस्करण यसै वर्ष जुलाई-अगष्टमा जापानमा हुने तय भएको छ । जसलाई टोकियो ओलम्पिक २०२० नाम दिइएको छ ।

उक्त खेल मेला आउन अब करिब ४ महिना मात्र बाँकी रहँदा प्रतियोगिता हुन्छ कि हुँदैन भन्ने अन्योल छ । अहिले विश्वभर कोरोना भाइरस डिजिज (कोभिड १९) फैलिएको छ । जसले गर्दा १० हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यही कारणले टोकियो ओलम्पिक हुन्छ कि हुँदैन भन्ने प्रश्न छ र कतिपयले यसलाई पछि सार्नुपर्छ भन्ने भनाइ राखेका छन् । ओलम्पिककै छनोट खेलहरुसमेत कोरोना संक्रमणको त्रासका कारण धेरै ठाउँमा स्थगित भइसकेको छ । खेलाडीहरुले पनि राम्रोसंग तयारी गर्न पाएका छैनन् ।

यसैगरी कोरोना भाइरसको संक्रमण फैलिरहेमा टोकियो ओलम्पिक स्थगित होला वा अर्को वर्ष सर्ला । त्यो केही समयपछि नै थाहा हुनेछ । ओलम्पिक  आयोजक राष्ट्र जापानमा समेत कोरोनाको संक्रमणले मानिसको मृत्यु भइसकेको छ ।

यो पहिलो पटक होइन

यसरी ओलम्पिक प्रभावित हुन लागेको यो पहिलो पटक भने होइन । यसअघि तीन पटक ओलम्पिक रद्ध नै भएको थियो । जसको कारण थियो विश्वयुद्ध ।

पहिलो विश्वयुद्धका कारण सन् १९१६ मा जर्मनीको बर्लिनमा हुने तय भएको ओलम्पिक स्थगित भएको थियो । सन् १९१२ मा स्वीडेनको स्टकहोममा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीको १४ औं बैठकले बर्लिनमा १९१६ को ओलम्पिक गर्ने निर्णय गरेको थियो ।

बर्लिनले २०१२ देखि ओलम्पिकको लागि तयारी थालेको थियो । तर पहिलो विश्वयद्धका कारण ओलम्पिक हुन सकेन । बर्लिनले फेरि १९३१ मा ओलम्पिक आयोजनाको लागि दरखास्त दिएको थियो र स्पेनको बार्सिलोनालाई पछि पार्दै १९३६ मा ओलम्पिक आयोजना गर्ने अवसर पाएको थियो ।

यस्तै दोस्रो विश्वयुद्धका कारण सन् १९४० र १९४४ को ओलम्पिक पनि रद्ध भएको थियो । १९४० को ओलम्पिक शुरुमा सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म जापानको टोकियोमा हुने तय भएको थियो । तर पछि त्यही वर्ष फिनल्याण्डको हेलसिन्कीमा जुलाई २० देखि अगष्ट ४ सम्म हुने गरी सारियो । तर विश्वयुद्धका कारण हुन सकेन ।

हेलसिन्कीले १९५४ र टोकियोले १९६४ को ओलम्पिक आयोजना गर्ने अवसर पायो ।

यस्तै दोस्रो विश्वयुद्धको कारण अर्को ओलम्पिक पनि हुन सकेन । सन १९४४ बेलायतको लण्डनमा ओलम्पिक हुने तय गरिएको थियो । १९३९ मा लण्डनमै भएको आईओसीको ३८ औं बैठकले लण्डनलाई आयोजना अधिकार दिएको थियो । तर विश्वयुद्धको कारण रद्ध भयो ।

१९४४ मा रद्ध भएकाले लण्डनले १९४८ को ओलम्पिक आयोजना गर्ने अवसर पाएको थियो । यस्तै १९४० र १९४४ को विन्टर ओलम्पिक पनि विश्वयुद्धकै कारण रद्ध भएको थियो ।

त्यसपछि पनि विभिन्न ओलम्पिकमा सहभागी राष्ट्रले बहिस्कार गरेका थिए तर ओलम्पिक भने निरन्तर आयोजना हुँदै आएको छ ।

यसअघि २००४ मा एथेन्स ओलम्पिकका बेला सार्स र २०१६ को रिओ ओलम्पिकका बेला जिका भाइरसको प्रकोप फैलिएको थियो । तैपनि ओलम्पिक आयोजना भएको थियो ।

यस पटक भने स्थिति भयावह छ । सबै महादेशमा कोरोनाले भ्रमण गरिसकेको छ । सबै खेलकुद गतिविधि ठप्प छ । यस्तोमा खेलाडीहरुको तयारीमा असर पुगेको छ । जसले गर्दा खेलाडीले शत प्रतिशत क्षमतामा खेल्न नसक्ने भन्दै विभिन्न देशका खेल संघले चिन्ता व्यक्त गरिरहेका छन् ।

अर्कोतिर आईओसी र जापान सरकारले भने तोकिएकै समयमा ओलम्पिक आयोजना गर्ने योजना भइरहेको जनाएको छ । टोकियो ओलम्पिककै लागि भनेर जापानमा धेरै तयारीसमेत भइसकेको छ । यदि ओलम्पिक स्थगित हुने र अर्को वर्षलाई सर्ने सम्भावना भएमा होटल बुकिङ, टिकट बिक्री, टेलिभिजन प्रशारण अधिकारलगायत धेरै विषयमा घाटा लाग्ने छ ।

धेरैजसो टिकटसमेत बिक्री भइसकेको छ भने जापानले ओलम्पिककै लागि अर्बौं डलर खर्च गरिसकेको छ । ७६ वर्षपछि विश्वयुद्धजस्तै महामारीको रुपमा देखिएको कोरोनाले ओलम्पिकलाई प्रभावित पार्न खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment