Comments Add Comment

जनता कर्फ्यूको असर, रक्सौल नाका सुनसान

मालबाहक गाडी भित्रिएनन्

९ चैत, वीरगञ्ज । भारत सरकारले आइतबार घोषणा गरेको जनता कर्फयूको प्रत्यक्ष असर वीरगञ्ज–रक्सौल नाकामा परेको छ ।

तीब्र गतिमा बढ्दै गइरहेको कोरोनाको संक्रमणसँग जुध्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार विहान ७ देखि राति ९ बजेसम्म जनता कर्फ्यूको आह्वान गरेका थिए ।

जनता कर्फ्यूमा भारतले रेलसमेत बन्द गरेका कारण रक्सौल वीरगञ्ज नाका सुनसान भएको हो । वीरगञ्जबाट भारतको रक्सौलतर्फ गइरहेका सवारीसाधनलाई भारतीय सुरक्षाकर्मीले दशगजास्थित मितेरीपुलबाटै फर्काइरहेका छन् । छिटपुट केही मानिसमात्र ओहोरदोहोर गरेका छन् ।

दैनिक हजारौं मानिस र सवारी साधन ओहोरदोहोर गर्ने वीरगञ्ज नाका बिहानैदेखि सुनसान रह्यो । सीमा क्षेत्रमा ठेलामा पसल सञ्चालन गर्दै आएका दशरथप्रसादले आवत जावत नभएका कारण व्यापार शून्य रहेको बताए । ‘खुल्ला रहन्थ्यो भने व्यापार हुन्थ्यो, गाडी घोडा चलेका छैनन् । त्यसैले व्यापार पनि छैन’ उनले भने ।

वीरगञ्ज भन्सार र एकीकृत भन्सार जाँच चौकी (आईसीपी भन्सार) गरेर दैनिक ६ सय देखि ८ सयसम्म मालबाहक सवारी नेपाल प्रवेश गर्ने गर्छन् । तर आइतबार मालबहाक सवारी साधन भित्रिएका छैनन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले आइतबार बिहानदेखि रक्सौल तर्फबाट वीरगञ्ज भन्सार नाका हुँदै कुनै पनि मालवाहक गाडी नभित्रिएको जानकारी दिए ।

नाका सुनसान भएपछि कोरोना भाइरसको संक्रमण भित्रिन नदिन वीरगञ्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्क अन्य दिनको भन्दा व्यवस्थित देखिएको छ ।

पैदल, साइकल र ईरिक्सामा आउने हेल्थ डेस्कका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले व्यक्तिगत विवरण लिएर तापक्रम नापेर मात्रै वीरगञ्ज प्रवेश गर्न दिएका छन् ।

आइतबार दिउँसोसम्म नाका हुँदै १२ सय मानिस मात्रै भित्रिएका छन् । सामान्य अवस्थामा ३ देखि ४ हजार मानिसहरु आउने गरेको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी बताउँछन् ।

वीरगञ्ज नाकामा महानगरपालिकाले माघदेखि नै हेल्थ डेस्क स्थापना गरी भारतबाट प्रवेश गर्ने मानिसको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी खटाएको थियो । हेल्थ डेस्कमा खटिएका सीमित स्वास्थ्यकर्मीले भारतबाट प्रवेश गर्ने सबैको परीक्षण गर्न भ्याइरहेका थिएनन् । अधिकांश भारतीय बिनापरीक्षण नेपाल प्रवेश गर्दै आएका थिए ।

शनिबारदेखि नेपाली सेनाको चण्डीप्रसाद गणबाट २ वटा थर्मल गनसहित सेनाका जवानहरु पनि हेल्थ डेस्कमा खटिएका छन् । महानगरपालिकाका स्वास्थ्यकर्मीसँगै सेनाले इन्फ्रारेड थर्मोमिटरबाट तापक्रम लिइरहेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सहयोग गरिरहेको छ ।

अन्य दिन भन्दा हेल्थ डेस्कमा चाप कम भएकोले सबैको विवरण राखेर स्क्रिनिङ गरिएको स्वास्थ्यकर्मी मिथिलेश यादवले जानकारी दिए । हेल्थ डेस्कमा महानगरपालिकाले ९ जना स्वास्थ्यकर्मी खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment