Comments Add Comment

‘लक्षण नभएका मानिसबाट पनि सर्न सक्छ कोरोना’

१० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको लक्षण नदेखिएका मानिसबाट यो भाइरस सरेको पाइएको छ ।

चिनियाँ समाचारपत्र द साउथ चाइना पोष्टले उल्लेख गरे अनुसार चिनियाँ तथ्यांकले एक तिहाइभन्दा बढी मानिसमा यो भाइरसको संक्रमणको लक्षण नै  नदेखिएका मानिसबाट सरेको हो । यसले कोरोना भाइरस नियन्त्रणमा थप चुनौती थपिएको छ ।

अहिलेसम्म यो भाइरसको विश्वभर ३ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । विश्वभर यसको कारण मृत्यु हुनेको संख्या पनि १४ हजार कटिसकेको छ ।

समाचारअनुसार फेब्रुअरी अन्तिमसम्म चीनमा ४३ हजारमा कोभिड–१९ को संक्रमण पाइएको थियो तर लक्षण देखिएको थिएन । त्यसैले सबैलाई क्वारेन्टाइनमा राखेर निगरानी गरियो । यो संख्या आधिकारिक संक्रमितमा पनि जोडिएन ।

अहिले पनि वैज्ञानिकहरु लक्षण नदेखिएका मानिसबाट यो रोग फैलिनसक्छ भन्नेमा सहमत हुन सकेका छैनन् । सामान्यतया यो भाइरसको बिरामीमा पाँच दिनसम्ममा संक्रमण देखिन्छ । तर कुनैकुनै अवस्थामा तीन सातासम्म लक्षण नदेखिन सक्छ ।

र, सबैभन्दा जटिल कुरा फरकफरक देशको तथ्यांक फरकफरक किसिमले मापन गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले भने कोभिड–१९ को परीक्षणमा संक्रमण देखिएका सबैलाई पुष्टि भएका संक्रमितको रुपमा लिएको छ । दक्षिण कोरियाले पनि यही मापदण्डलाई पछ्याएको छ । तर चीन सरकारले भने फेब्रुअरी ७ मा वर्गीकरणलाई परिवर्तन गर्‍यो । उसले कोभिड–१९ को लक्षण देखिएका र परीक्षणमा पनि पोजेटिभ पाएकाहरुलाई मात्र संक्रमित मान्ने निर्णय गर्‍यो ।

अमेरिका, बेलायत र इटालीले भने सामान्य रुपमा स्वास्थ्यकर्मीबाहेक अरु लक्षण नदेखिएका मानिसमा भाइरसको परीक्षण नै गर्दैनन् । चीन र दक्षिण कोरियाले भने बिरामीको नजिकको सम्पर्कमा आएका लक्षण नदेखिएका मानिसमा पनि परीक्षण गरिरहेका छन् । दुबै मुलुकमा भाइरस नियन्त्रणमा आउनुको एक कारण यो पनि हो ।

हङकङले पनि विमानस्थलमा आउने सबै मानिसलाई कोरोना संक्रमण भए नभएको परीक्षण गरिरहेको छ ।

यूरोपेली मुलुकहरुले भने लक्षण देखिएका मानिसमा मात्र यो भाइरसको परीक्षण गरिरहेका छन्, जसको कारण लगातार यो भाइरसको संक्रमितको संख्या बढिरहेको छ ।

अहिले संक्रमितहरुको संख्या उल्लेख्य रुपमा बढेसँगै डब्लुएचओको यसअघिको वक्तव्यबारे समेत प्रश्न खडा भएको छ ।

डब्लुएचओले कुनै पनि लक्षण नदेखिएका मानिसबाट यो भाइरस सर्ने सम्भावना निकै कम रहेको बताएको थियो । डब्लुएचओले केवल एकदेखि तीन प्रतिशत संक्रमितमा मात्र लक्षण नदेखिएका बिरामीबाट यो रोग सरेको बताएको थियो ।

अहिले कोभिड–१९ का बिरामीको संख्या बढिरहेको छ ।

यस्तोमा चीनभन्दा बाहिर अझै पनि धेरै मानिसमा कोरोना भाइरसको संक्रमितको पहिचान हुन बाँकी रहेको हुनसक्ने विशेषज्ञहरुले बताएका छन् ।

फेब्रुअरीमा सार्वजनिक गरिएको एक अध्ययनले जापानमा पनि ३० दशमलव ८ प्रतिशत संक्रमितलाई कुनै लक्षण नदेखिएका मानिसबाट कोभिड–१९ सरेको देखाएको थियो । यो तथ्यांक चीन सरकारको तथ्यांकसँग मेल खान्छ ।

दक्षिण कोरियाले पनि तीन लाखभन्दा धेरै मानिसमा यो भाइरसको परीक्षण गरिसकेको छ । र, २० प्रतिशतभन्दा बढी कुनै लक्षण नदेखिई संक्रमित भएको पाइएको थियो र उनीहरु उपचारपछि निको भएका घर फर्किएका छन् । दक्षिण कोरियाको तथ्यांक पनि चीनको तथ्यांकसँग मिल्दोजुल्दो नै छ ।

जापानको योकोहामामा एक पानी जहाजमा ७ सय १२ जना मानिसमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो, जसमध्ये ३ सय ३४ जनामा कुनै लक्षण देखिएको थिएन ।

युरोपेली युनियन (ईयू) को प्रतिवेदनलाई आधार मान्ने हो भने पनि इटालीमा ४४ प्रतिशत संक्रमितमा भाइरसको कुनै लक्षण देखिएको छैन । तर अझै पनि मुलुकमा धेरै क्षेत्रमा लक्षण नदेखिएका मानिसहरुलाई परीक्षण गरिएको छैन ।

हङकङमा पनि १३८ पुष्टि भएका संक्रमितमध्ये १६ जनालाई कुनै संक्रमण देखिएको थिएन । डब्लुएचओले भने अहिलेसम्म लक्षण नदेखिएका मानिसबाट यो भाइरस कसरी सर्छ भन्ने कुरा स्पष्ट नभएको बताएको छन् । तर लक्षणसहितका बिरामीबाट नै धेरैजसो मामिलामा यो रोग सर्न सक्ने डब्ल्यूएचओको निश्कर्ष छ ।

वैज्ञानिक तथा विशेषज्ञहरुले भने लक्षण नदेखिएका मानिसबाट यो रोग सर्ने सम्भावना उल्लेख्य रहेको बताएका छन् । केहीले भने दुवै किसिमका बिरामीबाट यो रोग सर्ने सम्भावना बराबर रहेको भन्दै चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment