Comments Add Comment

कोरोना भाइरसबारे पाँच भ्रम र यथार्थ

विभिन्न सामाजिक सञ्जालहरूमा कोरोनाभाइरसबाट बच्ने उपाय भन्दै धेरै पोस्टहरू पाइने गरेका छन्। उदाहरणका लागि दश सेकन्डभन्दा बढी सास रोक्न सके कोरोनाभाइरसको संक्रमण छैन भन्ने थाह हुने, प्रत्येक १५/१५ मिनेटमा पानी पिउनुपर्ने लगायतका पर्छन् ।

तर इन्टरनेटमा पाइने यस्ता धेरै पोस्टहरू झुटो रहेको बीबीसीको रियालिटी चेक कार्यक्रमले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएच्ओ)ले आधिकारिक रूपमा नभनेसम्म यस्ता कुराहरूमा विश्वास नगर्न आग्रह गरेको छ । हाललाई साबुन पानीले हात धुनु नै कोरोनाभाइरसको संक्रमणबाट बच्ने उत्तम उपाय रहेको उक्त कार्यक्रमले जनाएको छ ।

यस्ता झुटा सन्देश केके हुन् त जसमा तपाईंले तत्कालै विश्वास गर्नुहुँदैन :

१. प्रत्येक १५/१५ मिनेटमा पानी पिउने

पानी पिउनु भनेको शरीरको लागि एकदमै उत्तम कुरा हो । उचित मात्रामा पानी पिउँदा तपाईं विभिन्न रोगहरूबाट बच्न सक्नुहुन्छ । तर पानी धेरै पिउँदा कोरोना भाइरस लाग्दैन भन्ने कुरा कतै पनि पुष्टि भएको छैन ।

कोरोनाभाइरस हाम्रो श्वास प्रणालीबाट शरीरभित्र जाने र फोक्सोलाई असर पुर्‍याउने हुँदा पानी पिउँदा भाइरसलाई शरीरबाट बगाएर पठाउन सकिन्छ भन्ने कुरा केवल एउटा भ्रम मात्र हो ।

त्यसै कारण रक्सीको सेवनले संक्रमण हुँदैन भन्ने कुरा पनि झुटो नै हो ।

तर आफ्नो मिर्गौलाको लागि उचित पानी पिउनचाहिँ नछोड्नुहोस् ।

२. दश सेकन्डसम्म सास रोक्न सकेमा कोरोनाभाइरस लागेको छैन भन्ने थाहा हुन्छ

धेरै पोस्टमा सासलाई १० सेकन्ड वा सोभन्दा बढी सहजताका साथ रोक्न सकेमा फाइब्रोसिस अर्थात फोक्सोको तन्तुमा केही घाउ नहुने र त्यसले गर्दा कोरोनाभाइरसको संक्रमण भएको छैन भन्ने कुराको पुष्टि हुने दाबी गरिएको छ ।

तर सासबाट फाइब्रोसिस भएको नभएको पत्ता लगाउन सकिँदैन र कोरोनाभाइरसको लक्षणमा फाइब्रोसिस पर्दैन । बरु सास फेर्न गाह्रो हुने, सुक्खा खोकी लाग्ने र अचानक ज्वरो आउनेलगायत पर्दछन् ।

३. घरेलु पदार्थहरूबाट सेनिटाइजर बनाउन सकिन्छ 

घरमा प्रयोग हुने साबुनजस्ता अरू क्लिनरहरूबाट स्यानिटाइजर बनाउन सकिन्छ भन्ने कुरा एउटा भ्रम हो । उक्त पदार्थहरू डिसइन्फेक्ट्यान्टका रूपमा काम गर्ने भए पनि यी कुराहरूमा अल्कोहलको मात्रा कम हुने हुँदा सेनिटाइजरको रूपमा प्रयोग गर्न सकिँदैन ।

ललितपुर महानगरपालिकाले दिएको घरेलु रक्सीबाट सेनिटाइजर बनाउने तालिम भने धेरैका लागि उपयोगी हुन सक्छ । तर भोड्कामा अल्कोहलको मात्रा कम हुने हुँदा भोड्काको सेनिटाइजरचाहिँ नबनाउनु होला ।

४. कोरोनाभाइरस धातु वा सिसामा धेरै दिनसम्म बाच्छ !

कोरोना भाइरस शरीर बाहिर कति समयसम्म बाँच्छ भन्ने आँकलन गरिएका धेरै हल्लाहरू फैलिएका छन् । कसैले १० वा १२ घण्टा भनेका हुन्छन् भने कोहीले महिनौसम्म भाइरस बाच्न सक्ने कुराहरू गरेका हुन्छन् । तर कोरोनाभाइरस बाहिरी वातावरणमा कुनै धातु, प्लास्टिक वा सिसाका सामानहरूमा २ घण्टादेखि ९ दिनसम्म संक्रमित हुन सक्ने जनाइएको छ ।

त्यसैले संक्रमणबाट बच्नुछ भने नियमित हात धुनुहोस् र मोबाइलसहित आफ्नो वरिपरिका कुराहरू नियामित रूपमा सफा गर्नुहोस् ।

५. गहुँतले कोरोनाभाइरस भगाउँछ

भारतमा कोरोनाभाइरसबाट बच्ने उपाय भन्दै गौमुत्र (गहुँत) सेवन गरी धेरै मानिसहरू बिरामी भएर अस्पताल भर्ना हुनु परेका समाचारहरू बाहिर आइरहेका छन् ।

नेपालमा पनि हिन्दु धर्म मान्नेहरूको बाहुल्य भएको हुँदा यता पनि यस्ता खाले अभ्यास अनुशरण नहोला भन्न सकिन्न ।
गौमुत्रलाई धेरै हिन्दुहरूले क्यान्सरलगायतका रोगको औषधि भन्दै सेवन गर्ने गरेका छन् । तर गौमुत्रले क्यान्सर र कोरोना भाइरसबाट बचाउँछ भन्ने कुरा भ्रम हो ।

अहिलेसम्म कोरोना भाइरसको खोप तथा औषधि पत्ता लागिसकेको छैन र आधिकारिक स्वास्थ्य संस्था वा डाक्टरको सल्लाह बाहेक सामाजिक सञ्जालमा पाइने यस्ता कुराहरू नपत्याउनुहोस् ।

नियमित हात धुनुहोस् र अत्यावश्यक कामहरू बाहेक सकेसम्म घरमै बस्नुहोस् । आफ्ना छोराछोरीलाई पनि अहिले छुट्टी होइन भनेर सम्झाउनुहोस् र घर बाहिर खेल्न जान नदिनुहोस् ।

घर बसेर सोफामा बसेर टिभी हेरेर देशको रक्षा गर्न सकिने सायद् यही नै पहिलो र अन्तिम अवसर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment