Comments Add Comment

कोरोना संक्रमित एक लाख निको भए

१० चैत, काठमाडौं । नोवल कोरोना (कोभिड-१९) भाइरसबाट संक्रमित मध्ये एक लाख भन्दा बढी निको भइसकेका छन् । दुई लाख ३७ हजार जनामा भने यसको संक्रमण अझै बाँकी छ । उनीहरू मध्ये गम्भीर बिरामीको संख्या भने ११ हजार जना छन् ।

१९३ देशमा पुगेको कोरोनाका कारण सोमबार साँझसम्म १५ हजार ४०९ जनाको ज्यान गएको छ ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सोमबार जानकारी दिए ।

यसअघि भेटिएका संक्रमित भने निको भएर घर फर्कीसकेका छन् ।

दक्षिण एसियामा सबैभन्दा बढी पाकिस्तानमा ८७३ संक्रमित फेला परेका छन् । त्यहाँ ६ जनाको ज्यान गएको छ ।

भारतमा ४३३, श्रीलंकामा ९२, अफगानिस्तानमा ४०, बंगलादेशमा ३३, माल्दिभ्समा १३ र भुटानमा २ जनामा संक्रमण देखिएको छ । भारतमा ८, बंगलादेशमा ३ र अफगानिस्तानमा १ जनाको मृत्यु भएको छ ।

सुरुमा कोरोना भेटिएको चीन भने नियन्त्रणतर्फ गएको देखिन्छ । त्यहाँ ८१ हजार ९३ जनामा कोरोना देखिएको थियो । त्यसमध्ये जम्मा ५ हजार १२० जनामा कोरोनाको संक्रमण बाँकी छ ।

चीनमा ३ हजार २७० जनाको ज्यान गएको छ भने ७२ हजार भन्दा बढी निको भएर घर फर्कीसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment