 
																			१० चैत, काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिका–५, चौकीटार गोगनेकी ७० वर्षीया धनलक्ष्मी गुरुङका श्रीमानले भारतमा काम गर्दा हिराको टुक्रा ‘बक्सिस’ पाएका थिए ।
क्यान्सरबाट पीडित भएर गम्भीर अवस्थामा पुगेपछि उनले धनलक्ष्मीलाई १२ दशमलब २६० ग्राम हिरा दिएका थिए । उनले सुरक्षित साथ राखेको हिराबारे पछि छोरी–ज्वाइँले थाहा पाए । ज्वाइँले नै विक्री गर्न सुझाए । बरु आफूले पनि ग्राहक खोज्न पहल गरिदिने सुनाए ।
बुढेसकालमा हिराको टुक्रा राखेर मात्र के काम ? उनले पनि बिक्री गरेर कतै लगानी गर्नेबारे सोचिन् ।
ज्वाइँले काठमाडौंमा ग्राहक खोज्दै जाँदा दोलखाका राजन पकुवालसम्म पुगे । जसले हिरा किन्ने प्रलोभनमा लुट्ने योजना बनाए ।
लुटमा प्रहरी र कथित पत्रकारको ग्याङ
हिराबारे जानकारी पाएपछि राजनले भैंसेपाटीका १९ वर्षीय सुजन आचार्यलाई जानकारी गराए । उनले आफूलाई पत्रकारको रुपमा परिचित गराउँथे भने दुई÷तीनजना बडीगार्ड र वायर लेस सेट बोकेर रवाफ देखाउँथे । आचार्यले गृहमन्त्री र प्रहरीका हाकिमसम्म आफ्नो पहुँच रहेको बताउने गरेका थिए ।

यो टोलीमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बसेल, जवान वीरबहादुर बस्नेत र हिमकान्त पुन मगर पनि जोडिए । त्यसपछि मकवनपुर पुगेर हिरा किन्ने बहानामा लुट मच्चाउने योजनासहित टोली काठमाडौंबाट मुभ भयो ।
प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कारमा सवारी प्रहरी र आफूलाई पत्रकार भन्ने आचार्य आइतबार राति गुरुङको घरमा पुगे । तर, हेर्न भन्दै हिरा मागेका उनीहरुले पेस्तोल देखाएर हिरा लिएर भागे ।
त्यसपछि बल्ल गुरुङ परिवारले लुटिएको थाहा पाएर जिल्ला प्रहरी कार्यालयमा खबर गरेको मकवानपुर प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौर बताउँछन् ।
चेकपोइन्टमा प्रहरीले चलाखी नगरेको भए…
घटनाबारे जानकारी पाउने वित्तिकै प्रहरीले लुटपाटमा संलग्न गिरोहको खोजीका लागि नाकाबन्दी ग¥यो । प्रहरीले थाहा नगरको थानाबजारमा उनीहरु सवार गाडीलाई पनि छेक्यो तर, पत्रकार र सिभिल प्रहरीको रुपमा चिनाएपछि छाड्ने तयारी थियो ।
‘पत्रकार र प्रहरीको रुपमा परिचय दिएपछि उनीहरु घटनामा संलग्न होलान् भनेर शंका गर्ने ठाउँ थिएन । फेरि हामीसँग गाडीको हुलिया पनि थिएन’, मकवानपुरका एसपी राठौरले अनलाइनखबरसँग भने, ‘तर, हामीले जिल्लाबाट परिवारबाट सनाखत नगराई नछाड्न निर्देशन दियौं ।’
नभन्दै परिवारबाट सनाखत गराउँदा यही गिरोह नै घटनामा संलग्न रहेको देखियो ।
डाँका मुद्दामा १० दिन म्याद थप
एसपी राठौरका अनुसार पक्राउ परेको चारै जनामाथि डाँका मुद्दामा म्याद थप गरेर अनुसन्धान थालिएको छ । ‘जिल्ला अदालत मकवानपुरले अनुसन्धानका लागि १० दिनलाई म्याद दिएको छ’, उनले भने, ‘अब विस्तृत अनुसन्धान सुरु गर्छौं ।’
प्रहरीले उनीहरुको साथबाट १२.२६० ग्रामको हिरा पनि बरामद गरिसकेको छ । प्रहरीका अनुसार हिरा करिब एक करोड रुपैयाँ बराबर मूल्यको हो ।
प्रहरीका असई बसेलको साथबाट एउटा पेस्तोल पनि बरामद भएको छ । चारवटा वाकिटकी, एउटा क्यामरा, दुईवटा मेटल डिटेक्टर, ६ वटा मोबाइल र एउटा ल्यापटप पनि बरामद भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4