Comments Add Comment

कोरोना प्रभावित कुन कुन देशले गरेका छन् लकडाउन ?

सरकारले एक साताको लागि सोमबारदेखि पुरै नेपाललाई लक डाउन गरेको छ । कफ्र्युभन्दा सामान्य अर्थमा भिन्नता रहेको लकडाउन सुरक्षाको बाहेक अरु कारणले जनताहरुलाई बाहिर निस्कन प्रतिबन्ध लगाउने व्यवस्था हो । नेपालमा नौलो अभ्यासको रुपमा रहेको यो व्यवस्थालाई नै कोरोना भाइरसको कारण धेरै विदेशी मुलुकहरुले भने पहिले नै लागु गरिसकेका छन् ।

विश्वभरका देशहरूले कोरोनाभाइरसको प्रसार नियन्त्रणका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका छन् । यसको लागि राष्ट्रिय क्वारेन्टाइनदेखि स्कूल बन्द गर्ने र त्यतिले पनि नपुगे लक डाउनसम्म गर्ने गरिएको छ ।

इटालीमा कोभिड १९ को संक्रमण धेरै भएपछि प्रधानमन्त्री ज्युसेप्पी कोन्टेले गत हप्ता सम्पूर्ण देशलाई लकडाउन गर्ने घोषणा गरे । जसले, करोडौं मानिसहरुलाई यात्रा, फुर्सदको समयमा घुम्न जाने काम, चर्च जाने र जीवनका अन्य पक्षहरूमा प्रतिबन्ध लगायो । स्पेन र फ्रान्सले पनि यही मार्गको अवलम्बन गरेको छ । त्यहाँका बासिन्दाहरूलाई ती देशका सरकारहरुले घरभित्रै बस्न आदेश दिएका छन् । इटालीमा अहिलेसम्म ६ हजारभन्दा धेरै व्यक्तिहरुको ज्यान गइसकेको छ ।

फ्रान्समा गत सोमबार लकडाउनको घोषणा गरियो । यसलाई चीन बाहिरको सबैभन्दा ठूलो क्वारेन्टाइनको रुपमा समेत ब्याख्या गरिएको छ । चीनमा फेब्रुअरी १७ देखि आधाभन्दा धेरै चिनियाँ यात्रीहरुलाई यात्राको लागि प्रतिबन्ध गराइएको थियो । सिएनएनका अनुसार सो दिनदेखि ७८ करोड बढी व्यक्तिहरुलाई यस्तो प्रतिबन्ध लगाइएको हो ।

यसबाहेक पनि धेरै मुलुकहरुले आफ्नो मुलुकसँग जोडिएका अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गराएका छन् । युरोपियन युनियनले पनि अहिले अत्यावश्यक बाहेक अरु यात्रामा प्रतिबन्ध लगाएको छ ।

जतिबेला विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गर्दै सबै देशहरुलाई यसको प्रसार कम गर्न आग्रह गरेको थियो । त्यतिबेलासम्म लकडाउन प्राविधिक विषयमा प्रयोग भएको शब्द थिएन । त्यतिबेलासम्म जनस्वास्थ्य अधिकारीहरुले अनिवार्य रुपमा भौगोलिक क्वारेन्टाइनमा राख्न र ऐच्छिक रुपमा आफ्नै घरमा बस्नको लागि आग्रह गर्दै आएका थिए ।

अहिले विश्वका अधिकांश मुलुकहरुले धेरै मानिसको लागि एकै खालको क्वारेन्टाइनको व्यवस्था गर्दै आएका छन् । चीनले मानव इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो मानव क्वारेन्टाइन निर्माण गरेको बिजिनेस इन्साइडरले जनाएको छ । चीनले जनवरीको अन्त्यसम्म मात्रै कम्तिमा १६ शहरहरुलाई लकडाउन गरिसकेको छ ।

अन्त्यसम्म चीनले आफ्नो देशको २० वटा भन्दा धेरै प्रदेशहरुलाई लक डाउन गरिसकेको छ । वाल स्ट्रिट जर्नलले जनाए अनुसार चीनले यति धेरै प्रदेशमा लक डाउन गरेको हो । यद्यपी चीनको हुवाई प्रान्तमा भने मंगलबारदेखि नै लकडाउन फिर्ता गरिएको छ । बुहानमा भने चीनले जनवरी २३ मा लकडाउन गरेको हो । त्यहाँ झण्डै ६ हप्तासम्म लकडाउन गरिएको छ ।

इटालीमा मार्च १० मा लक डाउन गरिएको थियो । अवस्था धेरै प्रतिकूल नहुँदासम्म लकडाउनको निर्णय नगरेको इटालीले अहलिे कडाईका साथ यसको कार्यान्वयन गराएको छ । झण्डै ६ करोड मानिस रहेको इटालीमा अति आवश्यक काम बाहेक अरु कार्य गर्न नपाउने गरी लकडाउन गरिएको छ ।

झण्डै ३००० मानिसको ज्यान गएपछि इटालीका प्रधानमन्त्री जियोसेप्पे क्वान्टेले क्वारेन्टाइन पोलिसीलाई व्याख्या गर्दै ’म घरमै बस्छु’ अभियानको सुरुवात गरेका थिए । बिबिसीका अनुसार उनको यो घोषणाले समेत अपेक्षित काम गर्न नसकेपछि सरकारले ठूला खेलका कार्यक्रमहरु, स्वीमिङ पुल जस्ता धेरै मान्छेरुको जमघट हुने स्कुल, संग्रहालय आदि बन्द गराएको थियो । त्यतिबेलासम्म त्यहाँ सार्वजनिक सवारी साधन र एयरपोर्टहरु भने सञ्चालनमा नै थिए । यसले स्थिति साम्य नभएपछि केवल आवश्यक यात्राको लागि मात्रै अनुमति दिइयो ।

वैध काम वा अरु अत्यावश्यक काममा जानको लागि प्रहरीसँग अनुमति लिएर मात्रै जान पाउने व्यवस्था गरियो । किराना स्टोर र फार्मेसी बाहेक सबै पसलहरू बन्द भए । धितो चुक्ताको काम निलम्बन गरियो । परिवारका सदस्यहरूलाई अनावश्यक रुपमा भेट्न अनुमति दिइएन भने स्वास्थ्यकर्मीहरूको छुट्टी रद्द गरियो । शनिबार राष्ट्रव्यापी क्वारेन्टाइन बनाउने दोस्रो यूरोपीयन देश बन्यो स्पेन ।

सुरुमा स्पेनले आंशिक लकडाउनको रुपमा १५ दिनसम्म बाटो खाली मात्रै राख्यो । सुरुमा उसले मान्छे हिँड्न प्रतिबन्ध लगाएन । फ्रान्सले पनि स्पेन र इटालीको जस्तै बाटो अपनायो । अतिआवश्यक बाहेक सबै व्यवसायहरु एक सातासम्मको लागि बन्द गरियो । गत सोमबारदेखि उसले पनि पूरा रुपमा लकडाउन गर्यो जसमा मानिसहरुलाई बाहिर हिँड्न समेत प्रतिबन्ध लगाइयो । रेष्टुरेन्टहरु सबै बन्द गरियो । यही दिन देखि नै फ्रान्सका प्रधानमन्त्रीले क्याफे, सिनेमा, नाइटक्लबहरु समेत सबै बन्द गरियो । गत मंगलबारदेखि नै फ्रान्समा १५ दिने लकडाउनको घोषणा भयो । त्यहाँ लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी समेत दिइयो ।

आयरल्याण्डले गत साता नै देशव्यापी लकडाउनको घोषणा गरिसकेको छ । आयरल्याण्डमा अहिले सबै किसिमका सांस्कृतिक कार्यक्रमहरु, स्कुल, कलेज जस्ता धेरै भीड हुने ठाउँहरु बन्द गरेको न्युयोर्क टाइम्सले जनाएको छ । आयरल्याण्डले घरभित्रै र बाहिरै पनि १०० जना भन्दा भेला हुन निषेध गरेको छ । घरबाहिर भने ५०० जनाभन्दा धेरै भेला हुन नपाउने व्यवस्था गरेको छ ।

बेल्जियमले गत बुधबारदेखि बेल्जियमले पनि लक डाउन गरेको छ । उसले अप्रिल ५ सम्मको लागि लक डाउन घोषणा गरेको हो । सरकारले नागरिकहरुलाई घरमा नै बस्नको लागि आग्रह गरेको छ । त्यहाँ पनि अत्यावश्यक सेवा बाहेक सबै किसिमका सेवाहरु बन्द गरेको छ ।

पोल्याण्डले गत शुक्रबार सबै किसिमका अन्तराष्ट्रिय उडानहरु र स्वदेशका समेत सबै व्यवसायहरु बन्द गर्न आग्रह गरेको छ । शुक्रबारदेखि नै सबै किसिमका रेस्टुरेन्ट एवं बारहरु बन्द गरिएको छ । बाहिरबाट आएका सबैलाई अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा राखिएको छ ।

न्युजिल्याण्डले पनि बाहिरबाट आएकाहरुलाई अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा राख्दै आएको छ । मार्च २१ मा संसदमा सम्बोधन गर्दै न्युजिल्याण्डका प्रधानमन्त्रीले सम्बोधन गर्दै यस्तो बताएका हुन् । अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्रीहरुले संयुक्त पत्रकार सम्मेलनको क्रममा २८ फेब्रअरीदेखि नै यस्तो घोषणा गरेका थिए ।

युरोपियन युनियनले गत सोमबारदेखि ३० दिनको लागि युरोपियन युनियन अन्तर्गत सबै मुलुकहरुमा घुम्न जान प्रतिबन्ध लगाएको छ । युरोपियन युनियन परिषद्का प्रमुख उर्सुला भोन डेरले युरोपियन युनियन कोरोनाको इपिसेन्टर रहेको भन्दै यस्तो घोषणा गरिएको बताए ।

कोरोनाभाइरस सङ्क्रमणको संङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडिकडाउ गर्नेगरी ’लकडाउन’ को घोषणा गरेको हो । नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको प्रधानमन्त्री जोन्सन जनाए ।

जर्मनीले पनि बोर्डर पूर्ण रुपमा बन्द गरेको छ भने १६ राज्यमा अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ । चान्सलर एन्जेला मार्केलले जर्मनीको इतिहासमा यस्तो समस्या दोस्रो विश्व युद्ध पछि कहिलै पनि नआएको भन्दै यस बिरुद्ध सचेत रहन आग्रह गरिन् ।

अर्जेन्टिनाले गत आइतबारदेखि सबै स्कूल एवं सार्वजनिक सवारी साधनहरु बन्द गर्‍यो । सबै बोर्डरहरु बन्द गरिएको छ । अर्जे्न्टिनाले सबै किसिमका आन्तरिक उडानहरु बन्द गरेको छ भने लामो दुरीको सबै सवारीहरु बन्द गरिएको छ । बाहिरबाट आएकाहरुलाई सरकारले १४ दिनसम्म क्वारेन्टाइनमा राखेको छ ।

यसबाहेक केन्याले अत्यावश्यक बाहेक सबै सेवाहरुबन्द गरेको छ । चेक रिपब्लिकले पनि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरिसकेको छ ।

मलेसिया सरकारले गत सोमबार सबै किसिमका व्यवसायलाई बन्द गरायो । नेपाली मिति अनुसार गत चैत ४ गतेदेखि दुई हप्तासम्मको लागि सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाउँदै प’रै देश लकडाउन गरेको हो । अत्यावश्यक बजार बाहेक युटिलिटी, ब्रोडकास्टिङ, बैंकिङ र स्वास्थ्य सम्बन्धी सेवा बाहेक अरु सबैलाई नियन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment