Comments Add Comment

प्रदेश दुई : लकडाउन उल्लंघनदेखि कोरोनाविरोधी तयारीसम्म

१२ चैत, जनकपुरधाम । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले निर्णय गरेको लकडाउनको पहिलो दिन प्रदेश २ का धेरै ठाउँमा अवज्ञा भयो । सुरक्षाकर्मीले यो निर्णय लागू गराउन भरपूर प्रयास गरे पनि सर्वसाधारणले अटेरी गरे ।

लकडाउनको पहिलो दिन हाटबजार अन्य दिन झैं सञ्चालन भयो भने राजमार्गमा केही गाडीहरु पनि चले । राजमार्गमा सार्वजनिक सवारी नचले पनि ट्रक, ट्याक्टर र जीपहरु सञ्चालन भए । ट्याक्टरले कोचाकोच गरेर यात्री बोकेका दृश्य मंगलबार राजमार्गमा देखिए । दोस्रो दिन भने लकडाउन अलि कसिलो देखिएको छ ।

दोस्रो दिन २१ जना पक्राउ

लकडाउनको अवज्ञा गर्ने २१ जनालाई धनुषा जिल्लाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बिभिन्न ठाउँबाट बुधबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

लकडाउनको अवज्ञा गरी घरबाहिर निस्केका २१ जनालाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार ९४ वटा मोटरसाइकल, १ अटो रिक्सा र २ वटा ट्याक्टरलाई समेत नियन्त्रणमा लिइएको छ ।

यसअघि मंगलबार धनुषा प्रहरीले लक डाउनको अवज्ञा गर्ने २६१ जनाको मोटरसाइकल, ११ जनाको अटो रिक्सा, ७ जनाको जीप तथा कार र चारवटा बस तथा ८ जना मानिसलाई नियन्त्रणमा लिएको थियो ।

मंगलबार लकडाउनको अवज्ञा गर्ने बढेपछि सप्तरीमा सेनालाई नै बाहिर ल्याउनुपरेको थियो । लकडाउनविरुद्व आवत–जावत गर्ने २६१ जनाको मोटरसाइकल, ११ जनाको अटो रिक्सा, ७ जनाको कार र चार वटा बस मंगलबार धनुषा प्रहरीले नियन्त्रणमा लिएको थियो । लकडाउनको अवज्ञा गर्ने ८ जना मानिसलाई समेत नियन्त्रणमा लिइएको कार्कीले बताए । महोत्तरी प्रहरीले पनि लकडाउनको अवज्ञा गर्ने पाँच दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिएको थियो ।

तोकियो कोरोनाको उपचारस्थल

प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा कोरोना भाइरस संक्रमण रोक्न व्यवस्थापन समिति गठन भएको छ । मंगलबार बसेको सरोकारवालाहरुको बैठकले मन्त्री साहको संयोजकत्वमा समिति गठन गरेको हो ।

बैठकले वीरगञ्जस्थित केडिया टेन्टल क्लिनिक, रौतहटको गौरस्थित होटल सिया पैलेस र गौर नर्सिङ्ग इन्स्टिच्यूट, धनुषाका मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र नगराइनलाई क्वारेन्टाइनको रुपमा तयार भइसकेको जनाउँदै अब यसलाई प्रयोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै सप्तरीको रुपनी गाउँपालिकास्थित प्रहरी अस्पताल र जनकपुरधामस्थित मणीपाल मेडिकल कलेजको भवनलाई व्यवस्थित गर्दै क्वारेन्टाइनस्थल बनाउने र आवश्यकता अनुसार अन्य स्थानमा समेत क्वारेन्टाइन केन्द्रहरुको सम्भाव्यता अध्ययन गर्दै सञ्चालनमा ल्याउने निर्णय बैठकले गरेको छ ।

कोराना संक्रमितका लागि बीरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी मेडिकल कलेजको सिटी हस्पिटललाई उपचारका लागि तोक्ने निर्णय गर्दै बैठकले आठवटै जिल्ला अस्पतालमा १० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने जनाएको छ । कोरोनाका आशंकित व्यक्तिहरुलाई एम्बुलेन्स सेवा तथा क्वारेन्टाइन केन्द्रहरु र अस्पतालहरुलाई सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रशासनलाई अनुरोध गर्ने र आवश्यक उपकरण, औषधि सामग्रीका लागि अन्तर्राष्ट्रिय संघ संस्थालाई अनुरोध गर्ने निर्णय पनि मंगलबारको बैठकले गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई तत्काल कोरोना टेस्टका लागि तयार गर्न तदारुकताका साथ काम गर्ने तथा विभिन्न क्वारेन्टाइन केन्द्रहरु तथा अस्पतालहरुलाई आवश्यक पर्ने सम्पूर्ण उपकरण, औषधिको आपूर्तिका लागि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले तदारुकताका साथ उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

यसैवीच, महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गरिएको छ । यो होटल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ एवं प्रतिनिधि सभाकी सदस्य निर्जला राउतको हो । राउतले यो होटेल प्रदेश २ सरकारले चाहेको खण्डमा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने बताएकी थिएन् । यो होटलमा ४५ वटा कोठा छन् ।

राजपाका सांसदबाट कोरोना कोषमा सहयोग

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव केशव झाका अनुसार पार्टीका सबै संघीय सांसदले आफ्नो १५ दिनको तलव कोषमा जम्मा निर्णय भएको छ । राजपाका १७ जना प्रतिनिधि सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् । उनीहरु सबैले आफ्नो १५ दिनको तलव जम्मा गर्ने निर्णय भएको झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment