Comments Add Comment

सांसदले नै मान्दैनन् लकडाउन, सीडीओ भन्छन् – डन्डा लगाउँछु

१ सय ६७ सवारी साधनको चाबी र कागजात जफत

१२ चैत, पोखरा । कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशैभरि लकडाउन गरेको छ ।

अत्यावश्यकबाहेक घरबाट ननिस्कन अनुरोध गरेको छ । तर सरकारी आग्रहको बेवास्ता गर्दै सार्वसाधारणदेखि सांसदसम्म घर बाहिर निस्केका छन् ।

स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश र संघीय सरकारले विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक घरबाट ननिस्कन भनेका छन् । बिना काम बाहिर निस्कनेलाई प्रहरीले सम्झाएर घर फर्काउने गरिरहेको छ ।

यो पनि पढ्नुहोस लकडाउनमा साइकल चलाउने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनायो

बुधबार पनि बिहानैदेखि लकडाउनको उल्लघंन हुन नदिन प्रशासन खटिइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी राजकुमार केसी भन्छन्, ‘सरकारी आदेश पालना गराउन बिहानैदेखि खटिएका छौं । कसैले उल्लंघन गर्न भने कारबाही गर्छौं । तर हिजोभन्दा आज धेरै नागरिकले पालना गरेका छन् ।’

सर्वसाधारणले डकडाउनलाई सफल बनाउन लागि परेको भए पनि केही सांसदहरुले भने लकडाउन उल्लघंन गर्दै तस्वीर र भिडियो सामाजिक सञ्जालमै सार्वजनिक गरेका छन् । लकडाउनमा प्रदेश सभाका सांसद कृष्ण थापाले साथीहरु माझ ब्याडमिन्डन खेलेको भिडियो सार्वजनिक गरेका छन् ।

‘हाम्रो स्कुल पोखरा एकेडेमीमा यसरी पनि इम्युनटी पावर बढाउन सकिन्छ, कोरोनाका विरुद्ध,’ क्याप्सन लेखेर थापाले भिडियो सामाजिक सञ्जालमा हालेका छन् । सांसदले नै लकडाउनको उल्लघंन गर्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेपछि धेरैले आलोचना गरेका छन् ।

सांसद थापाले भने आफ्नो निजी बोर्डिङ स्कुलमा केही साथी मिलेर ब्याडमिन्टन खेलेको प्रतिक्रिया दिए । ‘लकडाउन भनेको घरमै बसेर मानसिक तनाव लिने होइन, हामी नजिकका साथी मिलेर ब्याडमिन्टन खेलेका हौं,’ सांसद थापाले भने ।

थापासँगै ब्याडमिन्टन खेल्ने र अरु गरी सोही ठाउँमा ७ जना देखिएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सरकारले बाहिर नै ननिस्कन भनेका बेला यसरी खेल्न नपाइने बताउँछन् । ‘सबै जना केही हुँदैन भन्दै नजिकको स्कुल वा मैदानमा खेल खेल्न निस्के भने के हुन्छ ?’ उनले भने, ‘यहाँका त कानुन निर्माताले नै कानुनको उल्लघंन गर्न थाले । मान्छेलाई पो सम्झाउन सकिन्छ र ।’

मंगलबार पनि सांसद राजीव पहारीले लकडाउनको पहिलो दिन घरमाथिको गुम्बातिर घुम्दै भनेर फोटो सार्वजनिक गरेपछि आलोचना भएको थियो । आलोचनापछि पहारीले फेसबुकबाट फोटो हटाएका थिए ।

गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल बुधबार बिहानै पोखरा शान्ति वनस्थित तरकारी तथा फलफूल मण्डीमा अनुगमन टोलीसहित पुगेका छन् । तरकारी तथा फलफूलको अवस्था बुझ्न भन्दै पुगेको टोलीमा मन्त्री लम्सालले मास्कसमेत लगाएका छैनन् ।

अनुगमन टोली लिएर पुगेका लम्साल भीडभाडमा देखिन्छन् । मन्त्रीले नै सावधानीका लागि मास्कसमेत नलगाउँदा सन्देश राम्रो नगएको धेरैले प्रतिक्रिया दिएका छन् ।

यो पनि पढ्नुहोस सुनसरीको खनारमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पिटेको भिडियो भाइरल

सरकारको निर्देशन र लकडाउनलाई हल्का रुपमा नलिन प्रजिअ ढकालले आग्रह गरेका छन् । लकडाउनको उल्लघंन गर्नेलाई अब डण्डा लगाउन पनि पछि नपर्ने ढकालको भनाइ छ ।

‘अत्यावश्यकबाहेक घरबाट ननिस्कनु भनेका छौं । अब पनि अटेर गरे प्रशासनले कडा कदम चाल्छ । कसैले कुनै बाहनामा छाड्दैनौं,’ प्रजिअ ढकालले भने, ‘सरकार एक्लैले कोरोनाविरुद्ध लड्न सक्दैन, नागरिकको साथ चाहिन्छ ।’

चाबी र कागजात जफत

मंगलबार लकडाउनको उल्लंघन गर्ने ४ जनाभन्दा बढी सवारी साधनको प्रहरीले चाबी जफत ग¥यो । बुधबार पनि उल्लघंन गर्ने क्रम रोकिएन ।

मंगलबार अत्यावश्यकबाहेक पनि सवारी साधन लिएर निस्केका ४ सय जनाको चाबी जफत गरेको कास्की ट्राफिक प्रहरीले बुधबार भने चाबी र कागजातसमेत जफत गरेको छ ।

‘मंगलबार चाबीमात्र जफत गरेर सवारी साधन डोर्‍याएर लैजान भनेका थियौं । बुधबार पनि लकडाउनको उल्लंघन गर्ने क्रम नरोकिएपछि चाबीसँग ब्लू बुक र लाइसेन्ससमेत जफत गरेका छौं,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले भने ।

लकडाउनको अवज्ञा गर्ने १ सय ६७ वटा सवारी साधन बुधबार समातिएका छन् । एक दर्जन साना गाडी र बाँकी मोटरसाइकल तथा स्कुटरको चाबी र कागजात जफत गरिएको रोकाले जानकारी दिए ।

यो पनि पढ्नुहोस लकडाउनमा लापरबाही : नबुझेको कि बुझ पचाएको ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment