
१३ चैत, काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क संकलनको कार्य चैत मसान्तसम्म स्थगन हुने भएको छ । कोरोना भाइरसको कारण मुलुक नै लक डाउनमा रहेको भन्दै बीमा समितिले कम्पनीहरुलाई चैत मसान्तसम्म बीमा शुल्क संकलन स्थगन गर्न निर्देशन दिएको हो ।
बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंले कोरोनाको कारण यतिबेला सर्वसाधारणहरु नै समस्यामा रहेका कारण बीमा शुल्क संकलन स्थगन गरिएको जानकारी दिए ।
उनले मुलुक सहज अवस्थामा फर्किए पछि मात्रै संकलन गर्न निर्देशन दिएको जानकारी दिए । उनले सहज भए पछि शुल्क तिर्न आउनेहरुसँग चैत्र महिनाको ब्याज समेत नलिने कम्पनीहरुलाई निर्देशन दिइएको समेत बताए ।
यस अवधिमा समितिको खाता रहेको नविल बैंकमा दस्तुर जम्मा गरेर बीमा अभिर्ताको लाइसेन्स नविकरण भने गर्न सकिनेछ । बीमा अवधि समाप्त भएको हकमा बिमितको खातामा रकम जम्मा गरिदिन समेत समितिले भनेको छ ।
निर्जिबन बीमा कम्पनीहरुलाई तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि विद्युतिय माध्यमबाट प्रमणहरु लिन समितिले भनेको छ । यसरी लिएको प्रमाणका आधारमा अवस्थामा सामान्य भए पछि सर्भेयर खटाई तत्कालै भुक्तानी दिन समितिले निर्देशन दिएको अध्यक्ष चापागाईंले बताए ।
प्रतिक्रिया 4