Comments Add Comment

लकडाउनमा काठमाडौं महानगरले गर्न सक्ने काम

सरकारले कोरोना भाइरसको जोखिम कम गर्न एकहप्ता लकडाउन गर्ने निर्णय गरे पनि खाद्यान्न पसल, बैंकिङ क्षेत्रलगायतका अति आवश्यक पर्ने क्षेत्र भने निश्चित समयका लागि सुचारु गर्न सक्ने बताउँदा लकडाउनको निर्णय प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी विरोध  पनि भएको छ ।

लकडाउनको पूर्ण पालना नगर्ने हो भने देशले मानवीय र आर्थिक, दोहोरो हानी व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । लकडाउन गर्ने केन्ऽ सरकारको निर्णय भए पनि त्यसको कडाइका साथ पालना गर्नु/ गराउनु सबैभन्दा महत्वपूर्ण भूमिका स्थानीय सरकारको हुन्छ ।

काठमाडौँबासीका नाताले लकडाउन सफल बनाउन काठमाडौँ महानगरपालिकाले यसको नेतृत्व लियोस् र काठमाडौँ उपत्याकाभित्रका सबै महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई आफ्नो नेतृत्व प्रदान गरोस् ।

महानगरपालिकाले गर्न सक्ने र गर्नुपर्ने कामहरु

लकडाउनलाई सहज बनाउनका निम्ति महानगरपालिकाले आफू मातहतको वडा कार्यालयलाई स्थानीय मानिसको दैनिक आवश्यक वस्तुको लगत संकलन गरी महानगरपालिकामा पठाउने व्यवस्था गर्न निर्देशन दिनुपर्छ ।

महानगरपालिकाले काठमाडौँमा रहेको ठूला डिपार्टमेन्ट स्टोरसँगको समन्वयमा आवश्यक समान प्रत्येक वडा कार्यालयमार्फत घर-घर पुर्‍याउने व्यवस्था गर्न सक्छ । यसवापत लाग्ने ढुवानी खर्च  महानगरपालिका, आयातकर्ता केही अंश व्यवसायीहरुको समाजिक उत्तरदायित्व अन्तर्गतको शीर्षकमा राख्ने व्यवस्था गर्न सके सबैलाई राहत हुने अवस्था बन्ने थियो ।

उदाहरणका लागि काठमाडौँ महानगरपालिका अन्र्तगतको कुनै एक टोलका मानिसलाई केही समान आवश्यक पर्‍यो । तर, आवश्यकता अनुसारको समान खरिद गर्न सम्पूर्ण क्षेत्र लकडाउन छ । यस्तो अवस्थामा अब के गर्ने ? स्थानीय मानिसहरुलाई सामाजिक सञ्जालमा आफ्नो टोलबासीको समूह बनाउन आग्रह गर्ने । त्यो समूहमा प्रत्येक परिवारको एक व्यक्ति -घर भाडामा भए भाडावालको जिम्मा घरधनीले लिने व्यवस्था गर्न सकिन्छ) र वडा कार्यालयका एक प्रतिनिधिलाई अनिवार्य समावेश गर्ने ।

यसरी सामाजिक सञ्जालमा बनाइएको समूहले आफूलाई आवश्यक पर्ने समाग्री वडा कार्यालयमार्फत महानगरपालिकासँग माग गर्न सक्छ । महानगरपालिकाले माग भए अनुसारको सामाग्री सपिङ सेन्टर अथवा डिपार्टमेन्टल स्टोरसँगको सहकार्यमा बढीमा २४ घण्टाभित्र आपूर्ति गराउनेे वातावरण बनाउन सक्छ ।

वडा प्रतिनिधिको संयोजनमा डिपार्टमेन्ट स्टोरबाट गएका सवारी साधानबाटै समान वितरण गर्ने व्यवस्था गर्न सकिन्छ । यसरी समान लिन जाँदा समाजिक दुरी अनिर्वाय कामय गर्न कडाइ गर्न सकिन्छ । पैसाको भुक्तानी मोवाइल बैंकिङ्गको माध्यमबाट गर्न अभिप्रेरित गर्न सकिन्छ ।

यस्तोबेला कुनै घरमा अशक्त बूढाबूढी मात्रै भएको अवस्थामा वा सनमाजिक सञ्जाल प्रयोग गर्न नजान्ने र मोवाइल बैंकिङ्ग सुविधा नभएको मानिसको हकमा वडा कार्यालय र टोलबासीसँग समन्वय गर्न आग्रह गर्न सकिन्छ ।

काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका प्रत्येक वडालाई आफ्नो वडामा बस्ने मानिसको डाटावेस बनाउन निर्देशन दिनसक्छ । यो डाटावेसलाई मोबाइल एप्ससँग एकाकार गर्न पनि सकिन्छ ।  यो प्रक्रियाका लागि केही समय लाग्ने भए पनि भविश्यमा आउन सक्ने र लकडाउनकै अवस्था लम्बिएको अवस्थामा आधिकारिक हिसाबमा  नगरबासीले एप्सको प्रयोगबाट आफूले भोगेको समस्या सिधैँ मयेर, आफू बसोबास गरेको सम्बन्धित वडाका अध्यक्षसँग सक्षात्कार गर्न सहज हुन्छ ।

लकडाउनको अवस्थामा महानगरपालिकाभित्रको आपूर्ति व्यवस्था सहज बनाउन निजी तवरमा सञ्चालन भएका तर, लकडाउनका कारण हाल बन्द रहेको अनलाइन सपिङ पोर्टलसँग समन्वय गर्न सकिन्छ । यसो गर्दा महानगरपालिकालाई पनि आपूर्ति व्यवस्था बनाउन सहज हुन्छ । यसले महानगरपालिका र स्थानीयबासीलाई थप विकल्प पनि दिन सक्छ ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा यस्तो व्यवस्था हुनसके सरकारले अत्यावश्यक भनेर खुल्ला गर्ने निर्णय गरेको खाद्यान्न पसल, बैंक लगायतका क्षेत्र बन्द गर्न सकिन्छ भने मानिस घर बाहिर नआई पनि बाँच्न सक्ने अवस्था बन्न सक्छ । यो आजको परिस्थितिमा सबैभन्दा ठूलो राहत र कोरोना रोकथामका काठमाडौँ महानगरपालिकालाई मात्रै होइन, देशका अन्य स्थानीय तहलाई पनि विकल्प हुन सक्छ ।

लकडाउनको अवस्थामा काठमाडौँ महानगरभित्र खानेपानी अर्को ठूलो समस्याका कारण बन्न सक्छ। महानगरभित्रका अधिकांश घरमा बोरिङ्ग र रिर्जभ टंकीको व्यवस्था भएको पाइँदैन । खरिद गरिएको पानी नै गुजारा चलाउने माध्यम हुन्छ । कोरोना भाइरसबाट जोगिन साबुनपानीले हात धुनुपर्ने अवस्थामा पानीको थप खपत बढ्ने देखिन्छ । यस्तो अवस्थामा पानीको आपूर्तिको विषयमा पनि महानगरपालिकाले वडा कार्यालय, खानेपानी व्यवसायीसँगको संयोजनमा सहकार्य गरी आपूर्ति सहज बनाउनका लागि तत्काल पहल गर्दा राम्रो हुन्छ ।

वैश्विक संकटका रुपमा देखा परेको नोबेल कोरोना भाइरसका कारण छिमेकी देश भारतले बुधबारदेखि लागु हुने गरी तीनहप्ता सम्पूर्ण देश लकडाउन गर्ने निर्णय गरेको छ । यस्तै अर्काे छिमेकी देश चीनमा केही दिन भाइरस संक्रमितको संख्या शून्य भए पनि फेरि संक्रमित व्यक्ति देखिन थालेको समाचार आइरहेको परिप्रेक्ष्यमा नेपालमा लगाइएको एक हप्ताको लकडाउनको अवधि बढ्न सक्ने देखिएको छ ।

यस्तो अवस्थामा घरभित्र मात्रै बस्दा मानिसक समस्या आउन सक्ने विषयमा विचार राख्नुपर्ने हुन्छ । यसका लागि काठमाडौँ महानगरपालिकाले महानगरबासीको मानसिक स्वास्थ्यको ख्याल राख्दै मनोरञ्जनको वातावरण बनाउने विषयमा पहल गर्नुपर्छ । यसका लागि विभिन्न केबुल टीभी प्रदायक संघसंस्थासँगको समन्वयमा हालै प्रदर्शनमा आएका नयाँ नेपाली चलचित्रहरु दैनिक प्रदर्शन गर्ने व्यवस्था मिलाउन सकिन्छ ।

आजको मितिमा सूचना प्रविधि सबैका लागि अति आश्वयक छ । आज लकडाउनको अवस्थामा इन्टरनेट, केबल तथा टेलिकम सुविधा कुनै पनि कारण बन्द भएमा नगरबासीमा ठूलो अन्योल र कोलाहलको स्थिति उत्पन्न हुन सक्छ । त्यसैले यस्ता सुविधा अवरोध नहोस् भन्ने विषयमा ध्यान जान जरुरी छ ।

लकडाउनको अवस्थामा काठमाडौँ महानगरपालिकाले गर्नुपर्ने अर्को महत्वपूर्ण काम भनेको नगरभित्र बसोबास गर्ने वृद्धवृद्धाको लगत संकलन गरी ब्लड पेसर, सुगर, दमलगायतका दीर्घरोगीलाई आवश्यक पर्ने औषधिको नियमित आपूर्ती गर्ने व्यवस्था गर्नु हो ।

देशैभर कोरोनाको मात्रै चर्चा हुँदै गर्दा समान्य मानिसले उपचार नै नपाई अमूल्य ज्यान घुमाउनु नपरोस् भन्ने विषयमा महानगरको ध्यान जान जरुरी छ ।

लकडाउनको प्रत्यक्ष असर साना तथा मझौला व्यवसायी -एसएमई) लाई पर्ने छ । त्यसैले  महानगरपालिकाले एक वर्षको घरभाडा कर मिनाहा गर्न सक्छ र गर्नुपर्छ । कर मिनाह गरेको सूचना सञ्चार माध्यमबाट प्रकाशन/प्रशारण गरि काठमाडौँ महानगरपालिकाभित्र घरभाडामा बस्नेहरुलाई निश्चित अवधिको घरघाडा आधा मात्र तिर्न र पुरातिर्न बाध्य पारिए सम्बन्धित वडामा जानकारी गराउन अनुरोध गर्नुपर्छ ।

संकटको यो घडीमा साना तथा मझौला व्यवसायी आफ्नो र आफ्न्तको ज्यान कसरी जोगाउने भन्ने चिन्ता परेको अवस्थामा घरभाडाको अतिरिक्त तनावबाट मुक्ति दिने विषयमा महानगरपालिकाले तत्काल सोच्न जरुरी छ ।

साना तथा मझैाला व्यवयासी देशको अर्थतन्त्रको मेरुदण्ड हुन् । काठमाडौँ महानगरभित्र यस्ता व्यवसायीले ठूलो मात्रामा रोजगारीको अवसर सिर्जना गरेका छन् । विपतको यो घडीमा महानगरले घरभाडा कर मिनाह गर्दा त्यसको प्रत्यक्ष लाभ उनीहरुलाई हुन्छ ।  साना व्यवसायीहरुलाई राहत हुने किसिमको नीति अतिख्यार गर्न सके स्थानीय सरकारको भएको आभास दिन सकिन्छ । जसका कारण उनीहरुलाई आफ्नो व्यवसायबाट पलायन हुनबाट रोक्न सकिन्छ ।

सरकारले एकहप्तालाई लकडाउन गर्ने बताए पनि यो अवस्था एक हप्तामै टुङ्गन्िछ भन्ने अवस्था छैन । कोरोनाको संकट बढ्दै गएको अवस्थामा यो अझै बढ्न सक्छ । चीनको वुहान प्रान्त लकडाउन भएको दुई महिनामा खुलेको दृष्टान्त हामी माझ ताजै छ ।

लकडाउनको अवधि बढ्दै जाँदा प्रत्येक घरबाट दैनिक निस्किने फोहर मैलाको व्यवस्थापन महानगरका लागि अर्को चुनौती हुनेछ । एकातर्फ बढ्दो गर्मी र अर्कोतर्फ लम्बिँदो लकडाउन र मौसम परिर्वतनको समय । मौसम परिर्वतनसँगै डेंगु, मलेरिया लगायतका रोग देखा पर्न सक्छ । यस्तो बेला  फोहर व्यवस्थापन हुन नसक्ने हो भने त्यसले अर्को महामारी ननिम्त्याउला भन्न सकिँदैन ।

त्यसैले पनि फोहर मैला व्यवस्थापन आउने दिनमा कसरी गर्ने भन्ने विषयमा महानगरपालिका र त्यसको नेतृत्व अहिलेेदखि नै चनाखो हुनुपर्ने जरुरी देखिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरभन्दा तीन जिल्ला भए पनि यो काठमाडौँ उपत्याका हो । लकडाउनको अवस्था भए पनि यहाँ एउटा जिल्ला प्रभावित हुनेवित्तिकै तीनवटै जिल्ला प्रभावित हुने खतरा रहन्छ ।

त्यसैले काठमाडौँ उपत्यकाभित्रका सबै स्थानीय सरकारसँग उचित समन्वय गर्दै काठमाडौँ महानगरपालिका लगायतका उपत्यकाका सबै क्षेत्रलाई यो महामारीको अवस्थाबाट जोगाउन काठमाडौँ महानगरपालिकाले नेतृत्व लिनुपर्छ । हामी सबै एकजुट भई सहकार्य गरे कोरोना विरुद्ध लड्न सकिन्छ ।

स्मार्ट सिटी र लकडाउन

कुनै पनि शहर त्यहाँ उपलब्ध व्यवस्थित सार्वजनिक यातायात र पि|m वाईफाई मात्रले स्मार्ट हुँदैन । त्यसका लागि अन्य सेवाहरुको पनि आवश्यकता हुन्छ । देश लकडाउन हुँदै गर्दा साँचो अर्थमा स्मार्ट सिटीको अभाव खट्किएको छ ।

सरकारले मंगलबारदेखि लागु हुने गरी एक हप्ता देश लकडाउन गर्ने निर्णय गर्‍यो । तर, लकडाउनको पूर्ण पालना देशकै राजधानीमा भएको देखिएन । आखिर किन भएन त लकडाउनको पालना ?

लकडाउनको निर्णय अकस्मात थियो । बढ्दै गरेको स्वास्थ्य जोखिमलाई ख्यालमा राख्दा यो निर्णय स्वाभाविक र अनिवार्य पनि हो । तर, अत्यावश्यक वस्तुको जोहो गर्ने समय नै नपाएका कारण अधिकांश मानिस सामान खरिद गर्न बाहिर निस्किन बाध्य भए । यदि मानिसको अत्यावश्यक वस्तु घरमै उपलब्ध हुने वातावरणपछि लकडाउन हुन्थ्यो भने अवस्था फरक हुने थियो ।

मानिस एक हप्ता होइन, संकटको घडीमा त्योभन्दा बढी लकडाउनको अवस्थामा बस्न तयार हुन्थे र हुनुपर्छ ।  गत स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकालाई स्मार्ट सिटी बनाउने वाचा गरेका मयेर विद्यासुन्दर शाक्यको नेतृत्वमा काठमाडौँ महानगरपालिका छ । त्यतिबेला स्मार्ट सिटी के हो भनेर नबुझ्नेका लागि स्मार्ट सिटीको महत्व बुझाउने यो उपयुक्त अवसर हो । निर्वाचनमा सङ्कल्प गरेअनुरुप काठमाडौँ महानगरपालिकामा आज स्मार्ट सिटीको ठूलो आवश्यकता देखिएको छ ।

यद्यपि, समय अझै बितेको छैन । साँच्चै काठमाडौँ महानगरपालिकालाई स्मार्ट सिटी बनाउनेतर्फ मेयर शाक्यका लागि यो पहिलो र महत्वपूर्ण अवसर पनि हो ।

 (लेखक लिभएवल काठमाडौँका प्राविधिक संयोजक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment