Comments Add Comment

ज्वरो आयो ? कोशी अस्पताल जानुहोस् !

शंकास्पदका परिवार नै अस्पतालमा

१३ चैत, विराटनगर । ज्वरो आएका हरेक विरामी कोरोना भाइरस (कोभिड-१९) का शंकास्पद संक्रमित होइनन् । तर अहिले ज्वरो आयो भनेर कोही निजी अस्पतालमा पुग्यो भने उसले गेटबाटै प्रवेश दिँदैन ।

भन्छ, कोशी अस्पताल जानुस् ।

विराटनगरका निजी अस्पतालहरुले सुरक्षा गार्डलाई ज्वरो आएका विरामी आए फर्काउन निर्देशन दिएका छन् ।

यसरी नै कोशी अस्पताल पुग्ने विरामीहरुको संख्या बढ्दो छ । अस्पताललेे फिबर क्लिनिक सञ्चालनमा ल्याएको छ । क्लिनिकमा मंगलबार र बुधबार उच्च ज्वरो आएका १३ जना विरामी आए, जसमध्ये धेरे रिफर भएका थिए ।

‘निजी अस्पतालहरुले आफ्नो जिम्मेवारी महसुस गरेजस्तो लाग्दैन’ कोशी अस्पताल विराटनगरकी मेसु डा. संगीता मिश्रा भन्छिन् ‘सामान्य ज्वरो आएका विरामीलाई पनि कोशी जानु भन्दै रेफर गर्छन् ।’

यसरी आएकाहरूलाई अस्पतालले भने फिबर क्लिनिकमा ज्वरो जाँचेपछि कोरोनाको शंस्कापद विरामी हो कि होइन छुट्याइने गरिएको छ ।

पछिल्लो तीन अस्पतालले ४ जनाको नमुना संकलन गरेर परीक्षणका लागि पठाएको छ भने थप दुई जनाको स्वाब शुक्रबार निकालिँदैछ । ९ जनालाई कोरोनाको लक्षण नदेखिएकाले होम क्वारेन्टाइनमा बस्नुुस् भनेर पठाइएको छ ।

परिवारका सबै पठाउँछन् स्थानीय जनप्रतिनिधि 

मंगलबार कोरोनाउसँग मिल्दोजुल्दो लक्षण भएका विरामी सप्तरीबाट कोशी अस्पताल आइपुगे । एम्बुलेन्समा दिउँसो आइपुगेका युवकलाई देख्दा चिकित्सक अचम्ममा परे । ज्वरो आएका शंकास्पद विरामीसँगै स्थानीय सरकारले परिवारका सबै सदस्यलाई कोरोना परीक्षणका लागि अस्पताल पठाएका रहेछन् ।

कोशी अस्पतालले युवकलाई आइसोलेशन वार्डमा भर्ना गर्‍यो । आफन्त भने अस्पताल वरीपरी घुमिरहे । साँझपख एम्बुलेन्स भेटिएपछि चिकित्सकले होम क्वारेन्टाइनमा बस्न भन्दै फर्काइदिए ।

मंगलबार नै रतुवामाई नगरपालिका, मोरङका जनप्रतिनिधिले पनि वैदेशिक रोजगारीबाट आएका युवकलाई ज्वरो आएको भन्दै परिवारका सदस्यहरुलाई पनि कोशी पठाइदिए ।

अस्पतालले भने वैदेशिक रोजगारीबाट आएका युवकको स्वाब लिएर अरुलाई होम क्वारेन्टाइनमा बस्न भन्दै घर पठाइदियो ।

कोरोना संक्रमणको आशंका गरिएका विरामीको स्वास्थ्य परीक्षणमा स्थानीय सरकारले पनि गल्ती गरिरहेको चिकित्सकहरु बताउँछन् ।

‘आशंकित व्यक्तिलाई अस्पतालमा ल्याएर अरु आफन्तलाई होम क्वारेन्टाइन मै राख्नुपर्ने हो’ कोशी अस्पतालका डा. डेनप्रसाद आचार्य भन्छन्, ‘यहाँ त परिवरका सबै सदस्यलाई एउटै एम्बुलेन्समा कोचर पठाइरहेका छन् ।’

शंकास्पद व्यक्तिको रिपोर्ट पोजेटिभ आए मात्र परिवारका सदस्यहरुको परीक्षण गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment