
१४ चैत, काठमाडौं । अमेरिकन तल्लो संसद हाउस अफ रिप्रिजेन्टेटिभले कोरोना भाइरसको महामारीले प्रभावित भएको आर्थिक क्षेत्र सुधारको लागि दुई ट्रिलियन (करिब २० खर्ब) अमेरिकी डलरको वित्तीय प्रोत्साहन प्याकेजलाई स्वीकृत गरेको छ ।
कोरोनाभाइरसका कारण तीब्र रुपमा प्रभावित हुँदै गएको आर्थिक क्षेत्रको सुधारको लागि ल्याएको यो आर्थिक प्याकेज अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको बिबिसीले जनाएको छ ।
यो प्याकेज सम्बन्धी विधेयक यस अघि नै अमेरिकी सिनेटबाट पारित भइसकेको थियो । माथिल्लो संसदको रुपमा रहेको सिनेट पछि तल्लो संसदले समेत यसलाई पारित गरेपछि अब यो स्वीकृतीको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोमा पठाइएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
दुबै संसदबाट पारित भएको यो विधेयकलाई राष्ट्रपति ट्रम्पले समेत त्यसको आधिकारिक पत्र प्राप्त गर्ने बित्तिकै अनुमोदन गर्ने बताइसकेको बिबिसीले जनाएको छ।
यो प्याकेजलाई संसदमा रहेका रिपब्लिकन र डेमोक्रयाटिक पार्टीका प्रतिनिधिहरुले ध्वनिमतले स्वीकृत गरेका थिए । यो प्याकेजले कोरोनाका कारण व्यवसायमा घाटा व्यहोरेका व्यक्ति एवं कम्पनीहरुलाई प्रत्यक्ष रुपमा भुक्तानी गर्नेछ ।
अमेरिकामा अहिलेसम्म ८६ हजार बढीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोनाको कारण यहाँ बेरोजगारीको दर समेत बढिरहेको छ । बुधबार मात्रै अमेरिकामा कोरानाका कारण बेरोजगार बन्नेहरुको संख्या ३३ लाख पुगेको आँकडा आएको थियो ।
प्रतिक्रिया 4