Comments Add Comment

‘लकडाउन’लाई मानसिक स्वास्थ्यमा सदुपयोग गरौँ

हामीहरु अहिले विशेष परिस्थितिबाट गुज्रिरहेका छौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । हामी अहिले यो परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल सरकारले लगाएको विशेष किसिमको निषेधित अवस्था ‘लकडाउन’मा छौं ।

हामीले एकदमै विचार गर्नुपर्ने कुरा यो छ कि यो लकडाउन भोलिको दिनमा यस भाइरसले हामीलाई, हाम्रो परिवारलाई, हाम्रो समाजलाई संक्रमित गर्न नसकोस् भन्ने हेतुले गरिएको हो । महामारीको लकडाउनले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै असर गर्नसक्छ । त्यसैले शारीरिकका साथै मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान पुर्‍याउनुपर्ने बेला हो यो ।

यस किसिमको महामारीको समयमा एक किसिमको एन्जाइटी (चिन्ता) उत्पन्न हुन्छ । थोरै एन्जाइटी हुनुलाई मानसिक स्वास्थ्यको दृष्टिले धेरै खराब मानिँदैन । थोरै एन्जाइटी सबैलाई हुन्छ, यो सामान्य हो । यो एनजाइटीले हामीलाई निश्चित हदसम्म अनुशासित पनि बनाएको हुन्छ ।

एन्जाइटी नै भएन भने हामी ढुक्क भएर बाहिर हिँड्न सक्छौं । राज्य वा समाजले हामीलाई विशेष परिस्थिति र निश्चित समयावधिका लागि दिएका निर्देशन वा नीति नियमको बेवास्ता गर्न पनि सक्छौं । थोरै एन्जाइटी भयो भने केही डर हुन्छ । यस्तो डरले हामीलाई सुरक्षित बनाउन दिइएका आदेशहरु पालन गर्न बाध्य बनाउँछ ।

एन्जाइटीको मात्रा बढ्दै जाँदा चाहिँ हामी दैनिक रुपमा गरिरहेका कामकाज समेत गर्न नसक्ने अवस्थामा पुग्छौं । त्यस्तो बेलामा हामीले एकदम विचार पुर्‍याउनुपर्छ र एन्जाइटीलाई स्वीकार्य अवस्थामा ल्याउने विषयमा खास ध्यान पुर्‍याउनुपर्छ ।

अहिले सहज रुपमा चिकित्सकलाई भेट्न सकिने अवस्था समेत छैन । यस्तो बेला आफूभित्रका तनावहरुलाई आफैं समन र व्यवस्थापन गर्ने विभिन्न उपायहरु अपनाउन सकिन्छ ।

यस्तो बेलामा हाम्रो मनमा विभिन्न किसिमका प्रश्नहरु आउन सक्छन् ‘कतै मलाई यो कोरोना संक्रमण हुने त हैन ? कतै मलाई यो भाइरस सरेको त छैन ? आदि । यस्तो सोच बढ्दै गए अत्यन्त डराउने र अधिक डरले केही गर्नै नसक्ने अवस्थामा पुर्‍याउन सक्छ ।

यस किसिमको डरलाई हामी यो भाइरसको संक्रमणबाट जोगिन चिकित्सकहरुले दिएको सुझावहरुलाई म कडाईका साथ पूर्ण पालना गर्छु । त्यो अवस्थामा मलाई संक्रमण हुने सम्भावना नै रहँदैन भनेर समन गर्न सकिन्छ । मलाई अब संक्रमण हुनसक्छ भन्ने डरलाई समन गर्ने विचार भनेको आफ्नो सुरक्षाको लागि अपनाउनुपर्ने उपाय अपनाएर रोग सर्ने सम्भावना नै हुन नदिनु हो ।

फेरि, कुनै ठाँउमा यो संक्रमण भइसकेपछि त्यसले पूरै देशलाई गाँज्छ, शतप्रतिशत जनसंख्यामा संक्रमण हुन्छ भन्ने हैन । त्यसैले आफूले अपनाएका सावधानीहरु अत्यन्त प्रभावकारी छ भन्ने कुरा मनमा राख्नु जरुरी हुन्छ ।

त्यसबाहेक अरु ‘नन फर्माकोलोजिकल स्ट्राटिजिज’हरु पनि छन्, जसलाई अपनाएर यस किसिमका एन्जाइटी (चिन्ता)बाट राहत पाउन सकिन्छ । जस्तो, योग–प्राणायाम लगायतका श्वासप्रश्वास सम्बन्धी अभ्यास, प्रोग्रेसिभ मसल्स रिल्याक्सेसन(प्रगतिशील मांसपेशी विश्राम) र माइण्डफुलनेस विधिहरु । यस्ता अभ्यासले चिन्ता कम गर्न मद्दत पुग्छ ।

यस्तो महामारीका बेला मानिसहरुको मनमा अब काममा जान सक्दिन के गर्ने ? भोलि के होला ? भन्ने जस्ता चिन्ता पनि आउन सक्छ । यस्तो सोचलाई बढ्न नदिन अहिले मेरो लागि सबभन्दा महत्वपूर्ण मेरो परिवार, समाज, देश र समग्र मानवजाति हो भन्ने सोच्नुपर्छ । संक्रमण रोकेर मेरो परिवार, समाज, देश र समग्र मानवजातिको भलाई गर्न सुरक्षाका निर्दिष्ट उपायहरु अपनाउँछु, यसमा अरुलाई पनि सचेत गराउँछु भन्ने सोच्नुपर्छ ।

लकडाउनका बेला हामी दिनभर घरमा बस्छौं, जुन हाम्रो बानीको कुरा होइन । यस्तो बेलालाई पूरै परिवारसँग बिताउने अवसरका रुपमा लिन सकिन्छ । कतिपय परिस्थितिमा रहेकाहरुले यो बेला एक्लै बस्नपनि सिक्नुपर्छ । मानिसको जीवनमा आफूलाई आइसोलेट गरेर राख्ने अवसर बिरलै आउँछ भन्ने सोचेर केही साता एक्लै बस्न सकिन्छ । यो मानिसको एउटा ठूलो क्षमता हो । सधैं मानिसहरुले घेरिएर, अरुको आशा गरेर बस्नु त्यसैपनि मानसिक स्वास्थ्यको हिसाबले राम्रो होइन ।

योबेला कतिपयले परिवारसँग बसेर दुःख–सुखका कुरा आदान–प्रदान गर्दै राम्रो समय बिताउन सक्छन् भने कतिले स्वावलम्बी बन्न सिक्ने र कठिन परिस्थितिलाई एक्लै सामना गरेको अनुभव लिन सक्छन् ।

घरमा बालबालिका छन् भने उनीहरुसँग खेलेर उनीहरुलाई विभिन्न कथाहरु सुनाएर, चित्रकला लगायतका कुरा सिकाएर, एकसाथ काम गरेर पनि रमाइलोसँग बिताउन सकिन्छ । यो यस्तो समय हो, जसलाई सिर्जनात्मक लेखनमा रुचि भएकाहरुले कथा–कविता, लेख–निबन्ध लेखेर अनि आफ्नो आस्था अनुसारको आध्यात्मिक चिन्तन गरेर सदुपयोग गर्न सकिन्छ ।

सबभन्दा महत्वपूर्ण कुरा के हो भने तनाव व्यवस्थापन गर्न हामी आफैँ सक्छौं । तनाव हाम्रो दृष्टिकोणमा भरपर्छ । कुनै व्यक्तिले तनाव व्यवस्थापनको गलत प्रयास गरिराखेको छ भने त्यसबाट राम्रो नतिजाको अपेक्षा गर्न सकिँदैन । व्यवस्थापनको सही तरिका मनन् गर्ने हो भने हामी तनावबाट सहज रुपमा बाहिर निस्कन सक्छौं ।

तनाव व्यवस्थापनमा सकारात्मक तरिका अपनाए लकडाउनको यो बेला कतिलाई शारीरिक व्यायाम गर्ने त कतिलाई पठन वा साहित्य सिर्जनाको बानी बस्नसक्छ । मान्छेले आफूभित्र नियालेर हेर्ने एउटा राम्रो मौका पनि हो, यो ।

अहिले हामीले गरेको व्यवहार र प्रयासले नै भोलिलाई सुनिश्चित गर्छ । भोलि के होला भनेर चिन्ता गरेर बसेर भोलि सुनिश्चित हुँदैन । संकटको यो बेला सकारात्मक सोचमार्फत् मनोस्वास्थ्यलाई सुदृढ राख्दा हाम्रो ‘रेजिलियन्स पावर’मा पनि बढोत्तरी भई भोलिका दिनमा हामीलाई अझ सजिलो हुन्छ ।

यो डिजिटल युगमा हामी सबै समाजिक सञ्जालमा सक्रिय छौं, सूचनाको कुनै कमी छैन । ती सूचना वा जानकारी आधिकारिक श्रोत वा सम्बन्धित क्षेत्रका विज्ञबाट आएको हो, होइन भन्ने कुरा मनन गर्नु चाहिँ महत्वपूर्ण हुन्छ । सामाजिक सञ्जालमा जथाभावी ढंगबाट आएका सूचनाहरुले चाहिँ समाजमा भ्रम पैदा गर्नुकासाथै अनावश्यक चिन्ता बढाउने काम मात्र गर्छन् ।

अन्त्यमा, सरकारले हाम्रो स्वास्थ्य रक्षाका लागि लागू गरेको लकडाउनलाई सबैले जिम्मेवार नागरिकका रुपमा कडाईका साथ पालन गरेर कोरोना भाइरस संक्रमणको महामारी सामना गर्न सहयोग गरौं । यहाँहरुलाई कुनैपनि किसिमको मानसिक समस्या छ र मनोपरामर्श चाहनुहुन्छ भने यो लकडाउनको अवधिभर मोबाइल नम्बर ९८५१०४७३५४ मा मसँग सिधा सम्पर्क गर्न सक्नुहुनेछ ।

शर्मा चावहिलस्थित ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट र साइक्याट्रिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment