Comments Add Comment

कोरोनाको सकारात्मक पाटो : चुरोटदेखि जंकफूडसम्म कटौती

यो शीर्षक देखेपछि तपाईंको पारो तातिन सक्छ । तर, हरेक कुराको दुई पाटो हुन्छ भनिन्छ । कोरोनाले विश्वलाई पिरोलेको छ, यो सत्य हो । साथसाथै के पनि सत्य हो भने, यसले कतिपय खर्चमा कटौती  गरिदिएको छ । केही सकारात्मक सुधार पनि ल्याएको छ ।

जस्तो यतिबेला धेरैले चुरोट, मदिरा सेवन गर्न पाएका छैनन् । बालबच्चाले जंकफूड खान पाएका छैनन् । घरमा पाकेको खाना खाएका छन् ।  पारिवारिक मेलमिलापको वातावरण छ ।

हामीकहाँ अहिले लकडाउन छ । देशभरीका सबै नागरिकहरुलाई यो लकडाउनको अवधिमा कुनै पनि हालतमा घरबाट बाहिर निस्कन अनुमति छैन अर्थात यतिबेला बालबालिका, किशोर–किशोरी, युवा–युवतीदेखि वृद्ध–वृद्धादेखि सम्म सबै घरमै छन् । यतिमात्र होइन, अधिकांश घरबाट घरेलु कामदार तथा बाहिरबाट घरमा आएर काम गर्ने व्यक्तिहरुलाई समेत कामबाट वीदा दिइएको अवस्था छ ।

कोरोनाले हरेक व्यक्तिको जीवनलाई सुस्त बनाइ दिए पनि, दैनिकीलाई आलस्यमय बनाइदिए पनि, घरमा रहनुलाई हामीले जेलमा बसे जस्तो सोच्न बाध्य बनाइदिए पनि, यही कोरोनाले अप्रत्यक्ष रुपमा भने यो क्रममा थुप्रै प्रकारका अनावश्यक खर्चहरु समेत जोगाइदिएको छ । हाम्रो बजेटलाई नै बिगारिदिने कतिपय अनावश्यक खर्चहरु यतिबेला ह्वात्तै घटेको छ । अनावश्यक खर्च नभएपछि त्यो पैसा अहिले हामीले जोगाइरहेका छौं र त्यसरी बचेको पैसा निःसन्देश भविष्यमा हाम्रै लागि उपयोगी हुनेछ । यहाँ हामी त्यस्ता केही खर्च हुने सम्भावना बोकेका विषयहरुमा चर्चा गर्दछौं, जसलाई अहिले व्यवहारमा लागू नगरेर हामीले थोरै भए पनि रकम जोगाइरहेका छौं ।

होटलिङ

पछिल्ला केही वर्षहरुदेखि होटलिङ अर्थात होटल र रेष्टुराँमा खाना खान जाने एउटा फेसनमात्रै होइन स्ट्याटस सिम्बोल नै बनिसकेको छ । बर्थडे, एनिभर्सरी अथवा अन्य कुनै पनि साना–ठूला खुशीको अवसरलाई सेलिब्रेट गर्ने एउटामात्रै तरिका थियो सिंगारिएर होटल अथवा रेष्टुराँ जाने र त्यहाँ केही साथीभाइ अथवा परिवारका सदस्यहरुसंग रहेर खुशीयाली सेलिब्रेट गर्ने । १०–१२ जना मानिसहरु जम्मा भएर सानो पार्टी आयोजना गर्दा पनि औसत खर्च ८–१० हजार रुपैयाँभन्दा कम खर्च हुँदैन ।

अहिलेको अवस्थामा त्यो खर्च पूर्ण रुपले बन्द भएको छ । अहिले कसैको बर्थडे प¥यो भने पनि परिवारका सदस्यहरु मात्र घरमै जसोतसो सेलिब्रेट गर्न थालेका छन्, जसमा एक रुपैयाँ पनि अनावश्यक खर्च हुँदैन । महिलाहरुको किटी पार्टीहरुले पनि अचेल घरबाट होटलको बाटो समातेको छ । यसबाहेक जब–जब परिवारका सदस्यहरुलाई घरको खाना खाने मन हुँदैन, बाहिरको खाना अर्डर गर्ने अथवा बाहिर नै गएर खाने गरिन्थ्यो ।

फुडमाण्डुसहित विभिन्न खाना डेलिभरी गरिदिनेहरुले घरमै आफ्नो रोजाइका खानेकुरा ल्याइदिन्थे । तर, लकडाउनका कारण अहिले ती सबै कुराहरु एउटा निश्चित समयका लागि बन्द भएको छ । अहिले घरमा जे पाक्छ, त्यही खानु पर्ने बाध्यता छ । न त होटल जानु परेको छ, न त रेष्टुराँ नै । न त कसैले टेक अवे नै गर्ने सम्भावना छ । यस्तो बेलामा अनावश्यक खर्च पनि जोगिएको छ ।

अफलाइन शपिङ

एउटा अनुमानका अनुसार शहरी क्षेत्रका बालबालिकादेखि वयष्कसम्म नै हप्तामा कम्तिमा एक पटक शपिङ मल जान थालेका छन् । शहरमा खुलेका ठूल्ठूला शपिङ स्टोरहरुमा पुगेर थुप्रै प्रकारका अनावश्यक शपिङ गरिन्छ । परिवारका अग्रज सदस्यहरु मल–कल्चरबाट टाढै रहन खोजे पनि युवापुस्तालाई भने घुम्न, शपिङ गर्न तथा खानपिनका लागि भए पनि मल नै सबैभन्दा मनपर्ने गन्तब्य भैसकेको छ ।

तर अहिले त्यहाँ हुने सम्पूर्ण प्रकारका अनावश्यक शपिङ तथा खानपिनमा हुने सम्पूर्ण खर्च पुरै तरिकाले बन्द भएको छ । फलफूल तथा तरकारीहरुको उपलब्धता सीमित छ, त्यसैले तीनको किनमेलमा पनि कमी आइसकेको छ । बालबालिकाहरुले प्रायः सधैं माग गर्ने चकलेट, केक, पेस्ट्री, पिज्जा आदिको माग पनि पूर्ण रुपले बन्द भएको छ । हरेक प्रकारका शपिङमा हुने खर्च यदि गणना नै गर्ने हो भने त्यो चार अंकभन्दा कम कुनै पनि पनि हालतमा हुँदैन । अहिले त्यो खर्च पूर्ण रुपमा रोकिएको छ ।

अनलाइन शपिङ

अफलाइन शपिङका अतिरिक्त अनलाइन शपिङ पनि पछिल्ला केही वर्षदेखि निकै प्रचलनमा छ । घर बसीबसी विभिन्न बस्तुहरु मन पराउने र अर्डर गर्ने चलन पछिल्लो समय बढिरहेको छ । घर बसेर शपिङ गर्न चाहनेहरुको संख्या पछिल्लो समय बढिरहेको छ । दराज, रिचार्जर आदि एप्समार्फत घर बसीबसी सपिङ गर्न सकिन्छ । यतिबेला यी अनलाइन सपिङहरुले समेत आफ्नो सेवा स्थगित गरेका छन् । किनभने लकडाउनको बेला होम डेलिभरी गर्न मिल्दैन । त्यसैले यतिबेला अनलाइन शपिङमा हुने खर्च समेत जोगिएको छ ।

यातायात खर्च

अचेल छोटो दुरीको यात्राका लागि पनि टूटल, पठाओ गर्ने अथवा ट्याक्सी, माइक्रो, बस चढ्ने चलन छ । लकडाउनको बेला न त कुनै अफिस खुल्छन्, न त कुनै स्कूल र कलेज । अर्थात यतिबेला सवारीसाधानलाई तिर्नु पर्ने भाडामात्र होइन पेट्रोल–डिजेलमा हुने खर्च पनि पूर्ण रुपमा बन्द भएको छ ।

किनभने सामान्यतया अफिस र कलेजको दुरी १०–१५ किलोमिटरभन्दा बढी हुँदैन अर्थात एकदिनमा कम्तिमा एक लिटर पेट्रोलको खपतका अनुसार प्रतिदिन एक सय रुपैयाँको हिसाबले यो अवधिमा कम्तिमा तीन हजार रुपैयाँको वचत त निश्चित रुपमै हुने भएको छ । यातायात र डिजेल÷पेट्रोलमा खर्च गर्नु नपर्ने पैसालाई तपाईंले वचतकै रुपमा लिनु पर्छ ।

चिया–खाजा

अफिस जाने कामकाजी महिला तथा पुरुषहरुका लागि दिउँसोको चिया र खाजाका लागि हुने खर्च मात्र होइन, अफिसका साथीभाइहरुको बर्थडे, एनिभर्सरी जस्ता समारोहमा सहभागिता जनाउनु पर्दा हुने खर्च पनि यतिबेला बन्द भएको छ । अफिसमा साथीभाइ भेट्न आउँदा चिया–खाजा खुवाउनु पर्ने झन्झटबाट पनि बचिएको छ । यसले पनि तपाईंको दुई–चार हजार रुपैयाँ जोगिएको हुनुपर्छ ।

घुमघाम

चैतको दोस्रो सातादेखि करिव–करिव सम्पूर्ण विद्यालयहरु दुईदेखि तीन सातासम्म बिदा हुन्छन् । किनभने यतिबेला वार्षिक परिक्षा सकिएको हुन्छ । विद्यालयको नयाँ शैक्षिक सत्र प्रारम्भ हुनुअघिको समयमा बालबालिकाहरु आफ्ना अभिभावकसंग घुमफिर गर्न मन पराउँछन् ।

अझ नजिकिँदै गएको नयाँ वर्षको अवसरमा घुमफिर गर्ने परम्परा नै छ । यो अवधिमा अधिकांश मानिसहरु पर्यटनका लागि घरबाट बाहिर निस्कन्छन् । कोही धार्मिक पर्यटनका लागि पनि निस्कन्छन् । वीदाको सदुपयोग गर्नका लागि मानिसहरुले विभिन्न योजनाहरु बनाएका हुन्छन् । तर, कोरोना भाइरसको प्रकोपले लगाइएको लकडाउनका कारण घरबाट मुल सडकसम्म आउन–जानै प्रतिबन्ध लागेको बेलामा पर्यटनका बारेमा कसैले सोच्दा समेत सोच्दैन । कतै पनि जानु नपर्ने भएपछि उक्त बेला हुने अनावश्यक खर्चलाई तपाईंले बैंककै खातामा सुरक्षित राख्न सक्नु भएको छ  । यसबाहेक नातागोतामा सरसापटमा हुने खर्च पनि यतिबेला रोकिएको छ ।

फिल्म 

शहरमा मल कल्चरसंगै फस्टाएको अर्को कल्चर हो मल्टिप्लेक्स कल्चर । मानिसहरु मल्टिप्लेक्समा गएर फस्ट डे, फस्ट शो फिल्म हेर्न मन पराउँछन् । नाइट शो फिल्म हेरेर बाहिरै डिनर गरेर विकेण्ड मनाउन चाहनेहरु पनि उत्तिकै हुन्छन् । तर, अहिले न त कुनै सिनेमा हल खुलेका छन्, न त कुनै नयाँ फिल्म नै कतै प्रदर्शन भैरहेका छन् । नाटक मञ्चन हुने थिएटरहरु समेत बन्द छन् । यसरी सिनेमा हलदेखि थिएटर सम्म बन्द हुँदा तपाईंले गर्ने अनावश्यक खर्च भने बचिरहेको छ । यसबाहेक फिल्म हेर्ने क्रममा हाफ टाइममा हुने अतिरिक्त खर्च (पपकर्न, चिया, कफि) पनि अहिले बचिरहेको छ ।

समग्रमा, लकडाउनका कारणले हामीले घरमा बसेर विभिन्न प्रकारका समस्याहरु भोगिरहे पनि अर्कोतिर हामीले दुःख गरेर कमाएको पैसा अनावश्यक खर्च हुनबाट बचिरहेको छ । यो लकडाउनको अवधिमा खर्च हुने अनावश्यक पैसा बचेकोमा पो खुशी हुने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment