Comments Add Comment

आधा सिलिण्डर ग्यासको रहस्य

१५ चैत, काठमाडौं । नेपाल आयल निगमले बुधबार राति एकाएक ग्यास उद्योगहरुलाई निर्देशन दिँदै भन्यो, ‘अब १४.२ केजीको साटो ७.१ केजी मात्रै ग्यास भरेर बेच्नू ।’

केही दिनअघिसम्म मागेजति ग्यास दिने भनिरहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको वचन तोड्दै जनता लकडाउनमा परेका बेला किन यो निर्णय भयो होला ? धेरैको मनमा यस्तो प्रश्न उब्जेको छ ।

सरकारले अहिलेको माग धान्दै उपभोक्तालाई सहजै ग्यास उपलब्ध गराउन र कालोबजारी रोक्न नाकाबन्दीकै अभ्यास दोहो¥याएको बताएको छ ।

तर, वास्तविकता त्योभन्दा फरक रहेको निगमकै अधिकारीहरु बताउँछन् । केहीदिन अघिसम्म सरकारलाई विश्वास थियो, लकडाउनका बेला जनता लाइनमा नआएपछि ग्यासको आपूर्ति सहज बनाउन सकिन्छ ।

तर, अहिले सरकारको त्यो आशा धर्मराएको छ । यसको मुख्य कारण हो, भारतको तीन साता लामो घोषित लकडाउन र त्यसबाट आपूर्ति व्यवस्थामा देखिएको र पर्नसक्ने प्रभावको आँकलन ।

भारतमा लकडाउन भएपछि नेपालमा खाना पकाउने ग्यासको व्यवस्थापन गर्न हम्मे–हम्मे पर्ने चिन्ताले सरकारलाई छोएको छ ।

भारतीय आयल कर्पोरसनसँग पेट्रोलियम किनिरहेको नेपालमा लकडाउनपछि ग्यासको चरम अभाव सिर्जना हुने जोखिम रहेको आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए ।

त्यसका मूलतः दुई कारण छन्, पहिलो भारतीय ग्यास बुलेटहरुलाई ग्यास लिएर आउन समस्या पर्नु र भारतीय पेट्रोलियम रिफाइनरी (प्रशोधन केन्द्र) ले उत्पादन घटाउनु ।

ग्यास बुलेटको ‘असहयोग’को डर

भारतले पनि बुधबारबाट २१ दिने लकडाउन गरेको छ । भारतीय बुलेटका चालकहरुले दुबै देशमा लकडाउन भएकाले कतिपय ट्रान्सपोर्ट कम्पनीले ग्यास ढुवानीमा समस्या पर्ने बताउन थालेका छन् ।

खाना खाने सबै होटलहरु बन्द भएकाले लामो यात्रामा खाना खान बुलेटका चालकहरुलाई समस्या पनि छ । अहिलेसम्म नेपालको आफ्नै ग्यास बुलेट छैन । व्यवसायीले ल्याएका बुलेट पनि भारतले स्वीकृत नगर्दा भारतमा ग्यास लिन जान पाएका छैनन् ।

यस्तो अवस्थामा भारतको लकडाउनपछि त्यहाँका चालकहरुले आनाकानी गरेमा देशमा ग्यास आयात प्रभावित हुने जोखिम छ । लकडाउन पछि अरु सवारी साधनहरु कम चल्ने भएकोले सुरक्षाका कारण समेत भारतीय बुलेट चालकहरुले नेपालमा राति ग्यास ल्याउन आनाकानी गर्ने गर्छन् । पूर्ण रुपमा भारतीय बुलेटमा भरपर्दा उनीहरुको अनिच्छाले पनि आपूर्ति व्यवस्था खल्बलिने जोखिम छ ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय चालकहरुले समस्या देखाएपछि वीरगञ्जबाट भित्रिने बुलेटका चालकलाई अमलेखगञ्ज डिपोमा खाना खुवाउने प्रवन्ध गरिएको बताउँछन् । उनले फर्किँदा पनि उद्योगहरुलाई चालकहरुका लागि आवश्यक बन्दोबस्तीका खानेकुरा दिएर पठाउन भनिएको उनको भनाई छ ।

तर, भैरहवा, विराटनगर, मेची, नेपालगञ्ज, गौरीफन्टा लगायतका नाकाबाट भित्रिने ग्यास बुलेटका चालकहरुलाई यस्तो समस्या परिरहेको छ ।

भारतमै आपूर्तिमा समस्या परेपछिको चिन्ता

अहिले ग्यासको अभाव नेपालले मात्रै हैन, भारतले पनि भोगिरहेको छ । पेट्रोलियम पदार्थ खपत गर्ने सवारी साधन, उद्योग कलकारखाना, विकासे आयोजना सबै बन्द भएपछि भारतीय पेट्रोलियम रिफाइनरीहरुले २५ देखि ३० प्रतिशतसम्म प्रशोधनको मात्रा घटाएका छन् । केही दिनपछि यो कटौती ५० प्रतिशतमाथि पुग्ने अनुमान छ ।

एलपी ग्यास कच्चा तेल प्रशोधन गर्दा निस्कने दुई दर्जन बढी पदार्थमध्ये एक हो । कच्चा तेल प्रशोधन गर्दा करिब १५ प्रतिशत हिस्सा एलपीजीमा रुपान्तरण हुन्छ ।

तर, भारतमा पेट्रोल र डिजेलको खपत कम भएपछि ठूला भारतीय रिफाइनरीहरुले प्रशोधन कटौती गरेका छन् । प्रशोधित तेल भण्डारण गर्ने ठाउँ नभएको भन्दै रिफाइनरीहरुले प्रशोधनमा कटौती गरेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

कोरोनाको सन्त्राससँगै भारतमा तेलको माग बढेपछि त्यहाँको भण्डारण केन्द्रहरु भरिएका थिए । अब लकडाउन भएपछि भारतमा तेलको खपतमा अत्याधिक गिरावट आएको छ । खपत नहुने भएपछि रिफाइनरीहरुमा एलपीजीको उत्पादन बढाउन चुनौती थपिएको छ । यद्यपि भारतमा पनि एलपीजी माग ह्वात्तै बढेकाले भारतले ग्यास रिफाइनरीहरुलाई साविककै क्षमतामा चलाइरहेको छ ।

नेपाल आयल निगमका एक अधिकारीका अनुसार आइओसीका उच्च अधिकारीहरुले अब नेपाललाई दिइँदै आएको एलपीको परिमाण घटाउनुपर्ने अवस्था आउनसक्ने पूर्वसूचना अनौपचारिक रुपमा दिएका छन् । यद्यपि निगममा त्यस्तो आधिकारिक जानकारी पनि आइसकेको छैन ।

‘अहिले भारतलाई पनि ग्यासको माग बढेर हैरानी छ । झन् तेल रिफाइनरीहरुले प्रशोधन घटाउनु परेपछि ग्यासको माग र रिफाइनरीको तालमेल मिलाउन भारतलाई अप्ठेरो परेको छ,’ निगमका एक अधिकारीले भने, ‘नेपाललाई अब भारतले दिने ग्यासको परिमाण कटौती हुने निश्चित जस्तै छ । उसले पनि ग्यासको आपूर्ति व्यवस्थापन गर्न ग्यासको जोहो गर्छ ।’

अहिलेसम्म नेपालमा सरकारको आफ्नै ग्यास भण्डारण छैन । ग्यास उद्योगहरुमा रहेका सीमित भण्डारण बुलेटका भारमा ग्यासको आपूर्ति व्यवस्था टिकेको छ । नाकाबन्दीपछि ग्यासको आफ्नै भण्डारण केन्द्र बनाउने घोषणा कागजमै सीमित छ ।

ग्यासको आयात, माग र खपतको अवस्था हेरेर सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगका त्यस्ता भण्डारण बुलेटको आधा परिमाणको ग्यास सरकारको निर्देशनअनुसार मात्रै सिलिण्डरमा भरेर बिक्री वितरण गर्न पाइनेगरी निर्देशन जारी गरेको थियो । यदि आधा सिलिण्डरमा नजाने हो भने अब भारतबाट ग्यासको आयात घटेमा झन् ठूलो समस्या पर्ने देखिएको निगमका अधिकारीहरु बताउँछन् ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरे भारतीय रिफाइनरीहरुले ग्यासको लोडिङ यथावत नराखे आपूर्ति प्रणालीमा अफ्ट्यारो अवस्था आउने बताउँछन् । उनले अहिले पनि मागेजति ग्यास नपाएको भन्दै आपूर्ति बिथोलिने चिन्ता प्रकट भएको बताए ।

‘भारतले आफ्ना ग्यास रिफाइनरीहरुमा ग्यासको उत्पादन कटौती गरेको छैन, तत्कालै समस्या नभएपनि लकडाउन लम्बियो भने प्राविधिक रुपमा ग्यास आपूर्तिमा समस्या आउन सक्ने जोखिम हुन्छ,’ उनले भने,‘आपूर्ति प्रभावित हुन नदिन बलियो पहल र समन्वय जरुरी छ ।’

आयल निगमका एलपी ग्यास विभाग प्रमुख दीपक बराल आइओसीले मागेजति तेल दिइरहेको भन्दै समस्या नरहेको बताउँछन् । उनले उपभोक्तामा ग्यास नपाइने त्रास भएको र खाली सिलिण्डर सबै भर्न थालेकाले भविष्यमा समस्या नआओस् भनेर अहिलेदेखि नै आधा मात्रै भरेर वितरण गर्न थालिएको बताए ।

‘सबैले घरमा भरी सिलिण्डर मौज्दात राख्दा भविष्यमा संकट पर्नेसक्ने आँकलन गरेरै यस्तो निर्णय गरिएको हो,’ उनले भने,‘भारतको लागि हामी सानो बजार हौं, त्यसैले उसले हामीलाई अफ्ट्यारोमा पार्दैन ।’

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतले अहिलेसम्म नियमित रुपमै ग्यास दिइरहेको बताए । दैनिक औसत एक हजार मेट्रिकटन ग्यास भित्रिरहेको भन्दै उनले आधा सिलिण्डर बिक्री सम्बन्धी निर्णयको कार्यान्वयनले अभाव हट्ने दाबी गरे ।

‘लकडाउन लम्बियो भने के हुन्छ, त्यो भोलिको कुरा हो,’ उपाध्यायले भने,‘अहिलेसम्म ग्यासको आयातमा समस्या छैन हामीलाई विश्वास छ, त्यस्तो अफ्ट्यारो अवस्था आउँदैन पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment