Comments Add Comment

बसिबियाँलो : प्रकृतिमैत्री घर

‘जे भयो, राम्रै भयो ।’ कतिपय प्रतिकूलतामा पनि हामीलाई यस्तै लाग्छ । अहिले सर्वत्र कोरोना आतंक छ । सबै होम क्वारेन्टाइनमा छन् । बाहिर घुमफिर, कामकाज गर्न निषेध छ । एक हिसाबले काहीँ अप्ठ्यारो पनि होला । तर, घर परिवारसँग बस्न त पाइएको छ ।

हम्रो मुलुक मात्र होइन विश्वका अधिकांश मुलुक अहिले लकडाउनको अवस्थामा छन् । यातायात ठप्प छ । कल-कारखाना बन्द छ । यसको सबैभन्दा ठूलो प्रभाव चाहिँ पर्यावरणमा परेको छ । अहिले वातावरण सर्वत्र स्वच्छ छ । आकाश प्रदूषण मुक्त छ ।

यही मौकाको फाइदा किन नउठाउने ?

एक त घरमा बसिएको छ । अर्कोतिर केही इलम छैन । यतिबेला घर-बगैंचा बनाउने, स्याहार्ने काममा लाग्न सकिन्छ । विश्वको आकाश प्रदूषण मुक्त भइरहँदा हाम्रो घर-कोठालाई पनि किन प्रकृतिमैत्री नबनाउने ?

मौका कस्तो जुरेको छ भने यतिबेला बाली र बगैंचाको काम गर्न उपयोगी हुन्छ । बिरुवा रोप्ने र हुर्काउने मौसम पनि हो यो । सबै कुरा ठिकठाक छ । अब तपाईंसँग केही जाँगर भए पुग्छ, घरलाई हराभरा बनाउनका लागि ।

बगैंचामा मात्र होइन, बार्दली, भर्‍याङको कुना वा खाली भाग, बैठक कोठा र भान्साका लागि केही इन्डोर प्लान्ट रोप्न सकिन्छ ।  हामी घरलाई आकर्षक देखाउने चक्करमा अनावश्यक सजावटका सामग्री थुप्रो लगाउँछौं । जथाभावी फोटो राख्छौं । प्लाष्टिकको अर्थात् कृतिम फूल सजाउँछौं ।

घरलाई वातावरणमैत्री बनाउनका लागि ती सबै सामाग्री हटाउनु एवं व्यवस्थित गर्नुपर्छ, जो अनावश्यक छ । जस्तो कुनै कुर्सी काम नलाग्ने हुनसक्छ । कुनै भाँडावर्तन, कुनै फोटो फ्रेम । यस्ता अनावश्यक सामग्रीको भण्डार बनाउनु हुँदैन घरलाई ।

घरभित्र यस्ता कतिपय सामग्री हुन्छन् । जसले घरको शोभा बिगार्ने काम मात्र गर्दैन, घरलाई साँघुरो पनि बनाइरहेको हुन्छ । त्यस्ता सामग्रीहरु हटाउने वा व्यवस्थित गरेपछि घर खुला र सफा देखिन्छ । अब झ्याल-ढोकालाई खुलामा झुड्याएका वा राखिएका अनावश्यक सामग्री पनि हटाउनुपर्छ । झ्याल-ढोकाबाट ताजा हावा आउजाउ गर्न सक्ने बनाउनुपर्छ ।

यी सबै कुरा व्यवस्थित गरिसकेपछि घर एवं कोठा खुला देखिन्छ । अब उपयुक्त ठाउँहरुमा इन्डोर प्लान्ट सजाउन सकिन्छ । खासगरी बैठक कोठा, भान्सा, भर्‍याङको खुला भाग आदिमा । तुलनात्मक रुपमा भान्सामा बढी प्रदूषण हुन्छ । त्यसैले भान्साका लागि पनि इन्डोर प्लान्ट निकै उपयोगी हुन्छ ।

यद्यपि इण्डोर प्लान्ट सजाउँदा त्यसले हिँडडुल गर्न वा बस्न असहज हुनुहुँदैन । घरायसी कामकाज गर्न, हिँडडुल गर्न बाधा नपुग्नेगरी कुना वा खाली भागमा इण्डोर प्लान्ट लगाउन सकिन्छ ।

अब घर बाहिर बार्दली, कौसी लगायतमा पुदिना, घिउकुमारी जस्ता वनस्पति लगाउन सकिन्छ । यी वनस्पति औषधीय महत्व हुनुका साथै हावा शुद्धीकरण गर्ने गुण पनि हुन्छ । गर्मी सुरु भइसकेकाले झिँगा, लामखुट्टे आउने भय पनि त्यत्तिकै हुन्छ । त्यसैले झारपात उखेल्ने, खाल्डाखुल्डी पुर्ने र सफा गर्ने काम पनि यही मौकामा गर्न सकिन्छ ।

घरलाई स्वास्थ्यमैत्री बनाउने अर्को काइदा हो, कमभन्दा कम प्लाष्टिकको प्रयोग । तपाईंलाई सस्तो, छरितो र सजिलो त प्लाष्टिक नै लाग्छ । प्लाष्टिक पूर्णत: नष्ट हुँदैन । पच्दैन, गल्दैन  र हामीले घरमा यस्ता प्लाष्टिक ल्याउँछौं, जो पुन प्रयोग पनि हुँदैन । हामी त्यस्ता प्लाष्टिक जथाभावी मिल्काउँछौं, जसले पर्यावरणमा नकारात्मक असर पार्छ ।

त्यसैले, प्लाष्टिकको प्रयोग गर्नुको बदलामा तपाईंले काँच, फलाम वा तामाको प्रयोग गर्न एकदमै राम्रो हुन्छ । फलामको भाँडावर्तन स्वास्थ्यमैत्री मानिन्छ । फलामको भाँडामा पकाएको खानेकुरा सेवन गर्दा हाम्रो शरीरमा फलामको मात्रा पनि आपूर्ति हुन्छ । शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये एक फलाम पनि हो भन्ने त तपाईंलाई थाहा नै छ । तामाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छ ।

घरमा प्रयोग हुने विद्युतीय सामनको प्रयोग कसरी गर्नुहुन्छ ? त्यसले पनि तपाईंको स्वास्थ्यसँग सरोकार राख्छ । हामीले जथाभावी विद्युतीय सामग्रीको प्रयोग गर्दा त्यसले हाम्रो घरको व्यायभार मात्र बढाउँदैन, पर्यावरणमा समेत असर गर्छ । धेरै विद्युत खपत गर्ने, तापक्रम बढाउने विद्युतीय सामग्री प्रयोग नगरौं ।

त्यसको विकल्पमा अन्य सामाग्री प्रयोग गर्न सकिन्छ । जस्तो कि, सामान्य बल्बको ठाउँमा सीएफएल, एलईडी बल्ब प्रयोग गर्न सकिन्छ । यसले तपाईंले उर्जा बचत गर्न सक्नुहुनेछ । भनिन्छ, करिब ६६ प्रतिशत उर्जालाई तपाईंले बल्ब बदलेर पनि बचत गर्न सक्नुहुनेछ ।

अनावश्यक ठाउँमा विद्युतीय सामाग्री प्रयोग नगरौं । प्रयोग गरिसकेपछि माइक्रोवेभ, टिभी, वाशिङ मसिन आदिको स्वीच बन्द गरौं । यसले १५ प्रतिशतसम्म उर्जा खपत बचत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment