Comments Add Comment

प्रहरीलाई सहयोग लिन रोक, सशस्त्रले आफैं खाजा खुवाउने

१७ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लडाउन कार्यान्वयन गराउन सुरक्षाकर्मी १२ घन्टासम्म सडकमा खटिन्छन् ।

तर उनी सुरक्षाकर्मीहरुले कतिपय बेला पानी समेत खान पाउँदैनन् भने मास्कसमेत लगाएका हुँदैनन् । त्यसैले कतिपयले कार्यक्षेत्रमा खटिएका प्रहरी अधिकृतलाई मास्क, स्यानिटाइजर, भाइजर तथा खाजा दिन थालेका छन् ।

तर थोरै सामग्री बाँडेर सेल्फी खिचेर पोष्ट गर्ने प्रचलन बढेको भन्दै प्रहरीले सहयोग लिन रोक लगाएको छ ।

महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘प्रहरी कर्मचारीहरुलाई अरुले दिएको फ्रुटी र पानी सहयोग लिएर खानुपर्ने अवस्था छैन । सरकारले रासनको व्यवस्था गरेको छ ।’ जथाभावी सहयोग बाँड्दा संक्रमित हुने सम्भावना पनि रहने भएकाले जथाभावी सहयोग लिन निषेध गरिएको छ ।

सहयोग गर्ने भए संस्थागत रुपमा काठमाडौं प्रहरी वा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा सम्पर्क गरेर मजदूरहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । बोगटी भन्छन्, ‘सुरक्षाकर्मीका लागि नागरिक घरभित्र बस्नु नै ठूलो सहयोग हो ।’

यो पनि पढ्नुहोस कपडाको मास्ककै भरमा खटिन्छन् सुरक्षाकर्मी

सुरुवाती दिनमा प्रहरीलाई दिउँसो खाजाको व्यवस्था नभए पनि अहिले सम्बन्धित प्रहरी इकाइले स्थानीय स्रोतबाट खाजा र पानीको व्यवस्था गर्न थालेका छन् । काठमाडौंका एक डीएसपी भन्छन्, ‘सहयोग गर्छु भन्दै आउने त थुप्रै छन्, तर हामीले अहिले आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेका छौं ।’

सशस्त्र प्रहरी बलले भने लकडाउनको समयमा खटिने कर्मचारीलाई दिनमा एकपटक खाजाको व्यवस्था गर्न मातहतका युनिटलाई निर्देशन नै दिएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता नायव महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्यसबारे केन्द्रबाट अनुगमन पनि भइरहेको छ ।’

यसैबीच, प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत भक्तपुर, ललितपुर, काभ्रे वा अन्य क्षेत्रबाट आउने अधिकारीलाई नजिकैको प्रहरी कार्यालयमा हाजिर हुन भनिएको छ । आवश्यकता परे तुरुन्त परिचालित हुने गरी तयारी अवस्थामा रहन पनि भनिएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment