Comments Add Comment
उद्योगी–व्यवसायीको होम क्वारेन्टाइन :

खाना पकायो, किताब पढ्यो, फोनमै छलफल

१८ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको आठौं दिन बितिसक्यो । दिनभर व्यक्तिगत तथा कार्यालयीय काममा व्यस्त हुनेहरु सबै घरमा थुनिएका छन् । अरुबेलामा एकछिन पनि फुर्सद नहुने उद्योगी व्यवसायीहरु पनि यतिबेला फुर्सदिला बनेका छन् । ठूला उद्योगी व्यवसायीले लकडाउनको समयमा कसरी बिताउँदैछन् त दैनिकी ?

उद्योग व्यवसाय क्षेत्रको उच्च पदमा पुगेकाहरु व्यवसायमा आएको संकटलाई भुल्ने हो भने सामान्य जीवनशैली रमाइलोसँग बितिरहेको सुनाउँछन् । लगभग सबैको दैनिकी उस्तै छ, भेटघाटमा समय खर्चिनु परेको छैन । परिवारसँग रमाउन समय मिलेको छ । बस्, व्यवसायिक अवस्था ध्वस्त छ । अरु सबै रमाइलो छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदै गर्दा नेपालका चर्चित उद्योगी-व्यवसायीहरु चुनावको तयारी गर्दै थिए । उद्योगी-व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको २८ चैतमा चुनाव हुँदै थियो । यसका लागि भोट माग्नमा नै व्यस्त थिए अधिकांश व्यवसायीहरु । तर, यही बीचमा लकडाउन घोषणा भयो । चुनाव ८ जेठमा सार्न उद्योगीहरु बाध्य भए ।

सरकारले लकडाउन घोषणा गरेसँगै उद्योगीहरु ‘होम क्वारेनटाइन’ मा छन् । आइतबार सहयोग रकम लिएर प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुको दैनिकी कसरी बितिरहेको छ त ? यहाँ चर्चा गरौं ।

भवानी राणा

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लकडाउनले परिवारलाई पर्याप्त समय दिन पाएको बताउँछिन् । अन्य समयमा धेरैजसो घरबाहिर जानुपर्ने भएपनि अहिले उनलाई ढुक्कजस्तै छ । तर, पूरै दिनभर नै परिवारलाई नै समय भने दिन पाएकी छैनन् ।

महासंघका अध्यक्ष भएका कारण पनि अहिले उनी फोनबाटै व्यवसायीहरुको गुनासो सुन्ने र सम्भव भएसम्म समाधान गराउन सक्रिय छिन् । ‘घरपरिवारलाई समय दिन पाइएको छ । तर, पूरै फुर्सदचाहिँ होइन’ अध्यक्ष राणा भन्छिन्, ‘फोनबाटै धेरै कुराहरुको संयोजन गर्नुपर्ने हुन्छ, कहिले सरकारसँग त कहिले उद्योगी–व्यवसायीसँग ।’

आइतबार भने सहयोग रकम हस्तान्तरण गर्न महासंघको नेतृत्व गर्दै उनी सिंहदरबार पुगिन् । त्यसबाहेक कममात्रै बाहिर निस्कनुपरेको उनी सुनाउँछिन् । फोनमा भने व्यस्तता कायमै रहेको अध्यक्ष राणा बताउँछिन् ।

‘धेरैजसो हामी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफलमै हुन्छौं, उद्योगी व्यवसायीहरुसँग हुनै पर्‍यो’ अध्यक्ष राणा भन्छिन्, ‘फोनबाट बचेको समयचाहिँ परिवारसँग बसेर रमाइलो गर्छौं ।’ उनले घरमा नयाँ–नयाँ परिकार बनाएर स–परिवार बसेर खाने गरेको सुनाइन् ।

अन्य समयमा परिवारसँग बसेर फिल्म हेर्ने समय छुट्याउन निकै मुस्किल थियो । अन्य कामका अलवा अहिले परिवारसँग बसेर दैनिकजसो फिल्म हेरेर दिन बिताउने गरेको उनले सुनाइन् ।

राजेशकाजी श्रेष्ठ

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको दैनिकी उस्तै छ । साधारण समयमा उद्योगी–व्यवसायीहरु र सरकारका अधिकारीहरुसँग भेट्दैमा दिन बित्ने गरेका श्रेष्ठ अहिले दिनभर घरमै बस्छन् ।

अन्यबेला दैनिकजसो केही न केही कार्यक्रममा सहभागी भइरहने भए पनि अहिले घरमै बस्नु परेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

भन्छन्, ‘अहिले त आनन्द छ, भेटाघाट पनि ठप्पै भइहाल्यो । दिनभर घरमै बित्छ, गफ गर्‍यो, फोनमा कुरा गर्‍यो ।’

घरमै बसे पनि उद्योगी व्यवसायीहरुको नेता भएका कारण पनि उनी नियमित सम्पर्कमै हुन्छन् । अरुबेला समय व्यवस्थापन गर्न चुनौती खेप्नुपरेका उनलाई अहिले फोनमा कुरा गर्न भ्याई–नभ्याई छ ।

श्रेष्ठ भन्छन् ‘भेट गर्न नमिलेपछि अहिले फोनमै कुरा हुन्छ, फोनको व्यस्तता बढेको छ ।’

शेखर गोल्छा

महासंघको नयाँ अध्यक्ष बन्ने पक्का भएका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको दैनिकी भने फरक छ । अध्यात्ममा रुचि राख्ने गोल्छालाई लकडाउनले आफ्नो इच्छा पूरा गर्ने समय मिलेको छ । लकडाउन भएयता गोल्छा अध्यात्ममा रमाउने गरेका छन् ।

उनी रहेक दिन बिहान उठेर योग गर्छन् । दिउँसो पनि अत्यात्मका पुस्तकहरु अध्ययन गर्ने गरेका छन् । ‘म धार्मिक होइन, आध्यात्मिक मान्छे हुँ’ अनलाइनखबरसँगको कुराकानीमा गोल्छाले भने, ‘अहिले अध्यात्मलाई दिने समय मिलेको छ, अध्यात्ममै रमाउने गरेको छु ।’

अहिले जीवनलाई नजिकबाट बुझ्ने कोसिस गरिरहेको गोल्छाले बताए। उनले जीवनलाई नजिकबाट चिन्नकै लागि दिनभर अध्यात्मका किताबहरु पढ्ने गरेको सुनाए । ‘जीवनलाई नजिकबाट बुझ्ने कोसिस गर्दैछु, बाहिर जान नसकेपछि म शरीरभित्र पस्न खोज्दैछु, आफ्नो शरीरभित्र’ गोल्छाले भने, ‘हाम्रो दिमागभित्र पस्दैछु, आफ्नो जीवनको लक्ष्यलाई म फेरि स्पष्टताका साथ हेर्ने प्रयास गर्दैछु ।’

गोल्छा नेपालका ठूला उद्योगीमात्रै होइनन्, नेपालका उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने नेतृत्वकर्ता समेत हुन् । विषम परिस्थिति सिर्जना नभएको भए उनी आगामी २८ गतेदेखि निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन उद्योग वाणिज्य महासंघको अध्यक्ष हुने पक्का थियो ।

तर, कोरोनाको त्रासका कारण महासंघको अधिवेशन सरेका कारण अधिवेसनको मिति सरेको छ । ‘तपाई त निजी क्षेत्रको नेता पनि हो, यतिबेला निजी क्षेत्र समस्यामा छ, तपाईं के गर्नुहुँदैछ ?’ भन्ने अनलाइनखबरको जिज्ञासामा गोल्छाले आफूले यसका लागि पनि समय छुट्याउने गरेको सुनाए ।

उद्योगी-व्यवसायीहरुको गुनासा सुन्ने र सरकारसम्म पुर्‍याउनुपर्ने आफ्नो काम निरन्तर नै भइरहेको बताए । तर, अन्य समयमा प्रत्यक्ष भेटबाटै यस्ता गतिविधि हुन्थे भने अहिले फरक अवस्था रहेको उनले अनुभव सुनाए ।

गोल्छाले भने, ‘म उद्योगी–व्यवसायीका समस्या र सरकारसँग समन्वय पनि टेलिफोन र विद्युतीय माध्यमबाटै गरिरहेको छु ।’ अत्यावश्यक अवस्थामा भने बाहिर पनि निस्कने गरेको उनले सुनाए । कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि गोल्छा पनि आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए ।

अन्य बेला भने अध्यात्मका पुस्तक पढेरै दिन बताउने गरेको उनले दोहोर्‍याए ।

चन्द्र ढकाल

उद्योगी चन्द्र ढकालको दैनिक पनि अहिले टेलिफोन र भिडियो कन्फ्रेन्समै बितेको छ । २८ चैतमा हुने महासंघको वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका ढकाल लकडाउन घोषणा हुनुअघिसम्म भोट माग्नमा नै व्यस्त थिए । काठमाडौं-उपत्यकाभन्दा बाहिरी जिल्लाहरुमा नै भोट माग्न व्यस्त भइरहेका बेला लकडाउन भएपछि ढकालको दैनिकी अहिले घरमै बितेको छ । प्रत्यक्ष भेटघाट हुन नपाएपछि उद्योगी-व्यवसायीहरु अहिले भिडियो कन्फ्रेन्समा जोडिएर छलफल गर्ने गरेको ढकालले सुनाए ।

फुर्सदमा उनले अहिले विभिन्न पुस्तकहरु अध्ययन गर्ने गरेको बताए । ‘दिनभर त टेलिफोन मै बित्छ, अहिलेको भेटघाट भनेको विद्युतीय माध्यम नै हो’ ढकालले भने, ‘साथीहरुसँग भिडियोमा पनि कुराकानी हुन्छ, फुर्सद हुनेवित्तिकै घरमा भएका पुस्तकहरु अध्ययन गर्ने गरेको छु ।’

जीवनकै सबैभन्दा नयाँ अनुभव लिएको बताएका ढकाल घर बस्ने उत्तम मौका मिलेको अनुभव सुनाउँछन् । अन्य साधारण समयमा घरमा बस्न चाहे पनि फुर्सद नमिल्ने गरेको तर लकडाउन भएपछि खुसी नै लागेको उनले सुनाए ।

मंगलबार लकडाउनको आठौं दिन पूरा भएको छ । सुरुका दिनमा धेरै बोरिङ लागे पनि अहिले भने बानी परिसकेको उनले सुनाए ।

उमेशलाल श्रेष्ठ

उद्योगी उमेशलाल श्रेष्ठको दैनिकी पनि उस्तै छ । अहिले परिवारका लागि पर्याप्त समय दिन पाएको श्रेष्ठ सुनाउछन् । लकडाउन सुरु भएपछि भेघटाटका लागि समय छुट्याउनु परेको छैन । भेटघाटका लागि छुट्याउने समय सबै अहिले घर परिवारलाई दिएको श्रेष्ठ सुनाउँछन् ।

महासंघका उपाध्यक्षसमेत रहेका उनी सामान्य समयमा कामको व्यस्तताका कारण खाने सुत्नेको ठेगान नभए पनि अहिले समयमा खाने र समयमा सुत्ने बानीको विकास पनि हुँदै गएको बताउँछन् । अहिले श्रीमतीसँग सुख, दुःखका कुरा साट्नेमात्रै होइन, खाना पकाउन पनि श्रेष्ठले सघाउने गरेका छन् । लक डाउन भएको त उनलाई भगवानको उपहारजस्तै लागेको छ ।

‘लकडाउनको अवधि आरामसँग बितेको छ, फुर्सद पर्याप्त भएको छ, कहिले खाना पकायो त बुढाबुढी दुःखसुखका गफ गर्‍यो’ उमेशलाल भन्छन्, ‘पहिले पनि कहिलेकाहीँ खाना बनाउथें, अहिले त श्रीमतीलाई सघाउने मौका पाएको छु ।’

आइतबार अध्यक्ष राणासँगै कोरोना रोकथाम तथा नियन्त्रण सरकारी कोषमा सहयोग रकम हस्तान्तरण गर्न सिंहदरबार पुगेका उनी लकडाउन सुरु भएको दिनदेखि बढीमा ४५ मिनेट बाहिर निस्कन्छन् । त्योभन्दा बाहेकको सबै समय घरभित्रै वित्छ ।

लकडाउनले शरीरको तौल घटाउन पनि सहयोग पुगेको उनले सुनाए । ‘मादक पदार्थ खाने भए, स्न्यास्कहरु खाइन्थ्यो र मोटाइन्थ्यो होला, म खाँदिनँ । घरमा काम गरेकाले लकडाउनपछि ३ किलो घटिसकें ।’

एक महिनापछि कच्चा पदार्थ अभाव भएर उद्योगमा समस्या हुने हो कि भन्ने बाहेक उनलाई सबै कुरा ठीक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment