Comments Add Comment

प्रदेश २ सरकारको राहत : सार्वजनिक पदमा नभएकाले मात्र पाउने

१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरुले नपाउने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित भएकाहरुलाई प्रदेश सरकारले दिने भनेको राहत वितरणमा नयाँ मापदण्ड बनेको हो । जस अनुसार वास्तविक समस्यामा परेका बाहेक अरुलाई राहत नदिन लागिएको हो ।

प्रदेश सरकारको निर्णय अनुसार परिवारका कुनै पनि सदस्यहरु राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा नरहेको अवस्थामा मात्रै राहत पाउने भएका छन् ।

प्रदेश सरकारको निर्देशिका अनुसार घरायसी र पारिवारिक कुनै पेशा व्यवसाय नभएको, दैनिक ज्याला मजदुरी गर्नेबाहेक अन्य कुनै आयश्रोत नभएका व्यक्तिहरुलाई मात्र राहत दिइनेछ ।

निर्देशिकालाई मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

यसरी गरिनेछ गरिब, किसान र मजदुरको पहिचान

निर्देशिकाअनुसार राहत वितरण गर्नुअघि गरिब किसान र मजदुरको सूची तयार गरिनेछ । यसका लागि वडा अध्यक्षको संयोजकत्वमा राष्ट्रियस्तरका पाँच राजनीतिक दलका प्रतिनिधि, वडाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रतिनिधि रहेको समिति बनाइनेछ । समितिको सदस्य सचिवमा सम्बन्धित वडाका सचिव रहनेछन् ।

समितिले आफ्नो वडाभित्रका राहत उपलब्ध गराउनुपर्ने लक्षित समूहको पहिचान गर्नेछ । त्यो सूची स्थानीय तहले एकीकृत गरी सम्बन्धित जिल्ला समितिको कार्यालय र कोषको सचिवालय, सामाजिक विकास मन्त्रालयमा पठाउनुपर्नेछ ।

यसपछि वडा कार्यालयको लक्षित समूह पहिचान समितिको रोहवरमा राहत वितरण हुनेछ । वितरण गरेको राहतको विवरण पनि स्थानीय तहले जिल्ला समन्वय समितिको कार्यालय र सामाजिक विकास मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

दुई किसिमको परिवार निर्धारण गरिने

लक्षित समूहलाई चार जनासम्म सदस्य भएको परिवार र चार जनाभन्दा बढी सदस्य भएको परिवार गरी दुई समूहमा छुट्याइने भएको छ । उनीहरुलाई दिइने राहत नगद वा वस्तुगत वा दुबै हुनसक्ने भन्दै निर्देशिकामा भनिएको छ, ‘राहत हस्तान्तरण गर्दा लक्षित समूहका सदस्यको भौतिक दुरी न्यूनतम तीन फिट कायम गरिनेछ ।’

राहत वितरण स्थलमा सेनिटाइजर, साबुन पानी अनिवार्य रुपले राख्नुपर्नेछ भने राहत अनुदान बुझ्नुअघि र बुझेपछि हात धुनुपर्ने नियम बनाइएको छ ।

यसरी हुनेछ अनुगमन

राहत वितरणको स्थलगत अनुगमन सम्बन्धित प्रदेशसभा सदस्यले गर्ने नियम बनाइएको छ । त्यस्तै, प्रदेशसभा निर्देशक समिति र कार्यान्वयन सहजीकरण समितिले अनुगमन गर्नेछ ।

जिल्लास्तरमा जिल्ला विपद् व्यवस्थापन समितिले लक्षित समूहको पहिचान राहत अनुदान प्राप्तिको परिचालन र राहत वितरणको अनुगमन समेत गर्नेछ ।

संक्रमणको अवस्था नरहेको भनी राहत कार्यक्रम स्थगित गरेको अवस्थामा बाँकी रहेको रकम वा वस्तु प्रदेश सञ्चित कोषमा र कोषको सचिवालयमा जम्मा गरिनेछ र रकम जम्मा भएपछि यो निर्देशिका स्वतः खारेज भएको मानिनेछ निर्देशिकामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment