Comments Add Comment

मूर्ख दिवसका दिन धूर्तको कुरा

शत्रुबाट डराउनु पर्दैन, मूर्खबाट डराउनुस् भन्ने भनाइ फेरेर मूर्खबाट नडराउनुस्, धूर्तबाट जोगिनुस् भन्नुपर्ने बेला आएको छ । संकटका बेला धूर्तलाई चिन्नु र जोगिनु बुद्धिमानी काम हो ।

शत्रु बन्ने वा बनिने कुरा हो, शत्रु बन्न सक्छन्, नबन्न पनि सक्छन् । शत्रुलाई मित्र बनाउन कुनै बेर लाग्दैन । यो वैरभावसँग सम्बन्धित छ ।

मूर्ख मानसिक अवस्था हो । यसमा एकोहोरो सोचाइ र जिद्दीपनासहित अज्ञानताको अंश बढी हुन्छ । जसले मूर्खतापूर्ण ब्यवहारबाट आफू वा अरुलाई हानी नोक्सानी गर्न सक्छ ।

तर, धूत्र्याइँ मनुष्यको स्वभाव हो । धुर्तमा ज्ञानको अंश ज्यादा हुन्छ, छिटो सोच्न र कदम चाल्न सक्ने मानिसले क्षमताको दुरुपयोग गरेर अरुलाई हानीनोक्सानी पुर्याउन सक्छ । तर आफू हानी नोक्सानी र जोखिमवाट सर्लक्क किनारा लाग्न सक्छ ।

कुनै प्रतिक्रिया नजनाउने वा तुरुन्तै प्रतिक्रिया जनाइहाल्ने स्वभावभन्दा कुरा बुझेर धैर्यताका साथ क्रिया वा प्रतिक्रिया गर्ने विवेकशील मानिसको खाँचो छ

 

धूर्तले अरुको चेतनामा अतिक्रमण गर्ने कला जानेको हुन्छ । आफ्ना कुरा भनेको भनै गरेर त्यसै हो भन्ने बनाउन सक्छ । र, आफ्नो भलाईलाई स्थापित गराई छाड्छ । त्यसैले भनिन्छ, हे भगवान ! मलाई धूर्तबाट बचाउनुस्, मूर्खबाट म आफैं बच्नेछु ।

मूर्ख सिधासाधा वा फुर्के हुन सक्छ । तर, धूर्त चतुर र बाठोपनासँग नजिक हुन्छ । प्रचलित चिनियाँ उखानले भन्छ, मलाई एकपटक मूर्ख बनायौ, तिमीलाई धिक्कार छ । तर, मलाई पटक– पट क मूर्ख बनायौ, मलाई नै धिक्कार छ । धूर्तले अरुलाई पटक–पटक मूर्ख बनाउँछ । कतै हाम्रो धूर्त र चतुर स्वाभावले अरु पीडित हुनुपरेको त छैन ? आत्मविश्लेषण गरौं ।

सुन्दा अर्थ उस्तै–उस्तै लाग्ने यी शब्दहरुमध्ये धूर्त अलि कडा र बहिर्मुखी स्वभाव होजस्तो लाग्छ । यस लेखमा कसैलाई धूर्त र कसैलाई सोझो भनेर छुट्याउन वा कुन ठीक/बेठीक भन्न खोजिएको हैन । तर, यदि हामीमा परिस्थितिहरुलाई आफ्नो बसमा पारेर आफू अनुकुल बनाउने स्वभाव वा मानसिक क्षमता छ भने त्यसको दुरुपयोग गरेर बरिपरिका साथीभाइ, सहकर्मी, आफन्त, बन्धुवान्धवलाई प्रत्यक्ष वा अप्रत्यक्ष दुःख पीडा पुगेको छ कि ! कसैलाई पिरमर्का पो परेको छ कि ! भनेर आफ्नै मनको कसीमा तौलेर धूर्त स्वाभावको चिरफार गर्ने प्रयास गरिएको छ ।

हामी कसैले केही राम्रो काम गर्यो, जिम्मेवारी वा भूमिका निभायो भने स्यावास् स्यावास् भन्न पछि पर्दैनौं । अरुले काँधमा बोकेको जम्मेवारीको भारी देखेर प्रशंसा गर्दै ताली बजाउन उदार हुने हामी आफैं त्यो जिम्मेवारी बहन गर्न तयार हुन्छौं कि हुन्नौं, मनन गर्नुपर्ने कुरा हो । धूर्तले अरुलाई फुर्क्याउन जानेको हुन्छ । अरुलाई राम्रो, ‘अति राम्रो भन्न पछि पर्दैन । तर, आफू भने जिम्मेवारी लिन अघि सर्दैन ।

कहिलेकाँही परिस्थितिअनुसार चलाखी गर्नु नराम्रो होइन । चलाख हुनु भन्नाले चनाखो हुनु, सजग हुनु वा होसमा रहनु भन्ने बुझिन्छ । कोही चलाख भएर कसैलाई हानी नोक्सानी हुँदैन । चलाख मानिसले संकटमा आफूसहित अरुलाई समेत जोगाउँछ । धूर्तले अरुलाई संकटमा धकेलेर आफू जोगिन्छ ।

अहिलेको समयमा मान्छेले आफ्नो मानसिक क्षमताको सदुपयोग कम, दुरुपयोग बढी गरेको छ । कुनै पनि घटना वा विषयवस्तुलाई सोझो मान्छेले भएको भन्दा कम बुझ्छ भने बाठो मान्छेले भएको भन्दा बढी बुझ्छ । कुनै पनि घटना वा विषयवस्तुलाई आ–आफ्नै मानसिक क्षमता अनुसार ब्याख्या र विश्लेषण गरिन्छ । तर, हामीलाई जे–जस्तो भएको छ, त्यसलाई त्यति मात्रै बुझ्ने सामान्य सरल मनुष्य चाहिएको छ ।

कुनै प्रतिक्रिया नजनाउने वा तुरुन्तै प्रतिकृया जनाइहाल्ने स्वभावभन्दा कुरा बुझेर धैर्यताका साथ क्रिया वा प्रतिक्रिया गर्ने विवेकशील मानिसको खाँचो छ । मान्छेको धुर्त्याइँ र चतुर्याइँले गर्दा मान्छेहरु मान्छेदेखि नै डराउन थालेका छन् ।

विकसित देशमा मानिसहरु आफन्त साथीभाइहरुसँग भन्दा घरपालुवा जनावरसँग संगत गर्न रुचाउँछन् । केटाकेटीहरु बाबुआमासँग बोल्नु भन्दा डिजिटल गेम खेल्न र भिडियो हेर्न र बयस्कहरु सामाजिक सञ्जालमा डुब्न मन पराउँछन । मान्छेहरु मान्छेदेखि नै वाक्क दिक्क हुनुको कारण धूर्ततालाई सहयोग गर्ने अनावश्यक प्रतिकृया, आशा, अपेक्षा, आशंका र नियन्त्रण हावी हुनु नै हो ।

नेपाली समाजमा धूर्त स्याल, चतुर काग, चनाखो कुकुर र चोर बिरालो भन्ने विशेषण जनावरलाई समेत लगाइएको छ । धूर्त स्यालले घरपालुवा पशुपंक्षी चोर्छ । रातको सन्नाटामा कराएर शान्ति भंग गर्छ । धूर्त चतुर मान्छेलाई कागको फूल चोर्नेजस्तो बाठो भनिन्छ ।

बाठोका रुपमा चिनिँदा हामी मख्ख पर्छौं । तर कागसँग दाजिँदा खुसी हुनुपर्ने ठाँउ छैन । चलाख कुकुर निन्द्रामा समेत चनाखो हुन्छ र आज्ञाकारी जनावरमा गनिन्छ । बिरालो म्याउँ म्याउँ गर्दै अपिल गर्न माहिर हुन्छ र मौका परे सुटुक्क घरभित्र पसेर खानेकुरा चोर्न बेर लगाउँदैन ।

जनावरका स्वभाव र दिइएको विशेषणबाट धूर्त, चतुर र चलाखमा भेद पाउन सकिन्छ । हाम्रा विचार, बोली र ब्यवहारमा धुर्त्याइँको अंश कति छ भन्ने थाहा पाउन तिनको स्रोतसम्म पुग्नुपर्ने हुन्छ । ती विचार, बोली र ब्यवहारहरु कुनै ईच्छा, आकांक्षा वा अपेक्षाबाट निर्देशित हुन् कि ? सुक्ष्म निरीक्षण गर्नुपर्ने हुन्छ ।

आफ्नो अहम पूरा गर्नैपर्ने, कुनै चीज वा वस्तु पाउनैपर्ने, अवसर लिनैपर्ने, कुनै लत पूरा गर्नैपर्ने, आफूले जित्नैपर्ने, जस वा फाइदा वा लाभ लिनैपर्ने, ठूलो पल्टिनैपर्ने र ईच्छा अभिष्ट पूरा गर्नैपर्ने स्वाभाव बनेमा तत् तत् कुराहरु पूरा गर्न जानी वा नजानी मानिसले धूत्र्याइँको सहारा लिन्छ ।

शब्दकोषमा धूर्त भन्नाले धोका दिने, झूठो बोल्ने, कपट र छलपूर्ण आचरण वा स्वभाव भएको ब्यक्ति भनिएको छ । यस्तो स्वभावमा जालझेल, दाउपेचवा प्रपञ्चद्वारा आफ्नो काम जसरी भए पनि गर्ने वा गराउने क्षमता हुन्छ, जुन कुरा अरुले भेउ पाउन वा नपाउन सक्छन् ।

धूर्तको दृष्टान्त रुपमा लिंदा यदि कसैले राज्यवाट अनेक दाउपेच परिपञ्च गरेर चुपचाप अर्बौं सुविधा लिन्छ । तर, हल्लाखल्ला गरेर केही हजार गरिव दीन दुःखीलाई सहायता गर्छ । लाखौं मानिसहरुलाई हानी पुर्याउनेखालका वस्तु र सेवा उपभोगको लत बसाइदिन्छ र पछि त्यही लत छुटाउने अस्पताल खोलेर दुबैतर्फवाट फाइदा लिन्छ ।

सामान्य मानिसहरुले यी कुरा आँकलन गर्न सक्दैनन् । कोही धूर्तहरु तन्त्र साधनामा सिद्धि हासिल गर्छन् र त्यसको दुरुपयोग गर्न थाल्छन् । यस्तो दुरुपयोग खासगरी अनुयायीहरुलाई बशमा पार्न, महिलाहरुलाई बशीकरण गर्न र ठूला मान्छेहरुलाई प्रभावमा पारी फाइदा लिने कार्य गर्छन् । यस्ता धुत्र्याइँ हरेक क्षेत्रमा हुन्छन् ।

मान्छेको धुर्त्याइँ र चतुर्याइँले गर्दा मान्छेहरु मान्छेदेखि नै डराउन थालेका छन्

 

धूर्तहरु खोज्न टाढा जानुपर्दैन । हामीले हाम्रै घरपरिवार, टोल, छिमेक, समूह, कार्यालय, संघसंस्थामा यत्रतत्र देखेका भोगेका हुन सक्छौं ।

धूर्त स्वभावका लक्षणहरु के कस्ता हुन्छन् त ? केलाउने प्रयास गरौं ।

केही काम गर्नु परे आफूलाई लाभ वा स्वार्थको केन्द्रमा राखेर मलाई के प्राप्त हुन्छ भन्ने शर्त राख्नु । अवसरमा एकपाइला अगाडि बढाउँदै मलाई खै भन्नु । जिम्मेवारी लिनेबेला एक कदम पछाडि सर्दै तलाई खै भन्नु । आफ्ना कुरा पहिले नै सुनाएर सहानुभूति लिइहाल्नु । सदा जित्ने हरकत गर्नु । जित्न वा प्राप्त गर्न साम, दाम, दण्ड भेद प्रयोग गर्नु । आफूलाई फाइदा हुने भए मरिमेटेर काम गर्नु, नहुने भए निष्कृयता देखाउनु । काम बन्यो या सफल भयो भने जस वा श्रेय लिन हतारिनु । काम बनेन या सफल भएन भने अरुलाई दोष देखाएर पन्छिनु । सप्रेको काम आफंैले सुनाउनु । बिग्रेको काम अरुको मुखबाट ओकल्न लगाउनु । अवसरमा गुपचुप सहभागी बन्नु र लिनु । जोखिमहरु सेयर गरेर साझा बनाउन खोज्नु । लाभ हुने देखे आफंै अग्रसर हुनु, हानी हुने देखे अरुलाई जिम्मेवारी पन्छाउनु । पटक –पटक बहाना बनाउनु आदि ।

यस्ता स्वभावहरु सामाजिक प्राणी मनुष्यका सामुहिक हित र उद्देश्यमा पूरा गर्नका लागि गरिने सहअस्तित्वको स्वीकार, सहकार्य, समन्वय र सुमधुर सम्बन्धमा बाधक बन्दछन् । उदाहरणका लागि कुराले अगाडि ठिक्क पार्ने, तर काम नगर्ने, चाकडी चाप्लुसी गर्ने र अरुलाई उचाल्न पछार्न पारंगत हासिल गरेको मान्छे घरपरिवारमा वा कुनै संगठनमा छ भने परिवारका सदस्यहरु, सहकर्मी कर्मचारीहरु पीडित बन्नुपरेको अनुभव प्रशस्तै छ ।

धूर्तहरु अरुका विचार, आइडिया, सिर्जना चोर्न माहिर हुन्छन् । खानाको सामग्री कसैले जुटाउँछ पकाउँछ, धूर्त डाडूपन्यू लिएर पस्किन पुग्छ । पद र पावरमा रहेका मानिससँग आफ्नो सम्बन्ध छ भन्ने देखाएर शक्तिशाली भएको भान पार्न खोज्नु र अरुलाई प्रभावमा पार्नु धुत्र्याइँको एउटा नमूना हो ।

धूर्त मानिस अस्थिरता र भयको अवस्थामा रहन्छ,कतै आफ्नो धूत्र्याइँले काम पो नगर्ने हो कि भनेर असुरक्षाको भावमा मनको शान्ति हरण भएको हुन्छ । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल विक्दैन, मेरी छोरी बाठी छे, घर गरी खान्छे वा छोरो बाठो छ, संसारलाई बेचेर खाइदिन्छ भन्ने जस्ता उखान टुक्काले चतुर र धुर्त स्वभावको प्रशंसा गरेको छ ।

धूर्त, बाठो वा चतुर भए सजिलो गरी छिट्टै उन्नति प्रगति हासिल गर्न सकिन्छ भन्ने आम विश्वास भएपछि मेहनत, परिश्रम र लगनशीलतामा आधारित कर्मबाट समुन्नति हासिल गर्न सकिन्छ भन्ने मान्यता कमजोर हुन्छ । सीधासादा मान्छे आफू धुर्त चतुर हुन नसकेको अभिसाप मानेर नैराश्यपूर्ण जीवन बिताउन बाध्य हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा !

Advertisment