Comments Add Comment

लकडाउनमा पनि क्लियरिङ हाउसमा १८ अर्ब बढी कारोबार

१९ चैत, काठमाडौं । कोरोना भाईरस फैलिन नदिन र यसबाट हुनसक्ने सम्भावित संक्रमण रोक्न नेपाल सरकारले थप एक साता लकडाउन गरेको अवस्थामा विभिन्न सेवाहरु लगायत दैनिक आवतजावतमा समेत निकै प्रभाव परेको छ ।

यस्तो अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नगद कारोबार र अत्यावश्यक सेवाबाहेक अन्य भुक्तानी कारोबारहरुको लागि उपलब्ध डिजिटल माध्यममार्फत् कारोबार गर्न ग्राहकहरुलाई सूचित गर्दै आएका छन् ।

यसका लागि बैंकका कार्ड, मोबाईल बैङ्किङ, ईन्टरनेट बैङ्किङ, कनेक्ट आइपीएस जस्ता डिजिटल माध्यममार्फत् ग्राहकले आफ्नै घरमै बसेर कारोबार गर्नसक्ने अवस्था रहेको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले पनि आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका ग्राहकहरुलाई असर नपर्नेगरी भुक्तानी कारोबारहरु समयमै राफसाफ गर्ने उद्देश्यका साथ आफ्नाे एनसीएचएल इसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस तथा एनपीआई लगायतका सम्पूर्ण भुक्तानी प्रणालीहरु नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको समन्वयमा सुचारु नै राखेको छ ।

चैत्र ११ गतेबाट सुरु भएको लकडाउनको समयावधिमा एनसीएचएलका विभिन्न प्रणालीमार्फत् १८.५ अर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ भएकाे हाउसले जानकारी दिएकाे छ ।

हाउसले दिएकाे जानकारी अनुसार यसको कनेक्ट आरटीजीएस प्रणालीमार्फत् नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणालीमा थप २१ अर्ब बराबरको भुक्तानी कारोबार राफसाफ भएको छ ।

उक्त्त अवधिमा भुक्तानी कारोबारको संख्या घटेको भएतापनि नेपाल सरकार लगायत विभिन्न संघ संस्था, तलब भुक्तानी, रेमिट्यान्स, फण्ड ट्रान्सफर जस्ता अत्यावश्यक कारोबारहरुका लागि उक्त सिस्टमहरु विशेष प्रयोगमा आएका छन् ।

साथै, एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेसमा जोडिएका कर्पोरेट्स्, रेमिट्यान्स कम्पनी, डिजिटल वालेट लगायतका संस्थाहरुले आफ्नो भुक्तानी कारोबारहरु स्वचालित तरिकाले नै राफसाफ गरिरहेका छन् ।

हालको अवस्थालाई ध्यानमा राखी सर्वसाधारण तथा बैंकका कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका निम्ति भने एनसीएचएल–ईसीसी र एनसीएचएल आईपीएस का क्लियरिङ र सेटेल्मेन्टको समय सीमा भने केही परिवर्तन गरी घटाइएको छ ।

एनसीएचएल–ईसीसीमा दिनको १२ बजेसम्म पेश गरिएका चेकहरु तथा एनसीएचएल–आईपीएस मा दिनको ११.३० बजेसम्म पेश गरिएका भुक्तानी कारोबारहरु सोही दिनको १ बजेसम्म राफसाफ हुने र यी समय सीमापछि पेश गरिएका चेक तथा भुक्तानी कारोबारु भने पछिल्लो दिन राफसाफ हुने अस्थायी व्यवस्था गरिएको छ ।

कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणाली मार्फत् भने चौबिसै घण्टा कारोबार गर्न सकिने व्यवस्था यथावत नै रहेको छ । एनसीएचएल–ईसीसीमा प्रति चेक ३० करोडसम्मको भुक्तानी कारोबार तथा एनसीएचएल–आईपीएस मार्फत् २० करोडसम्मको अन्तरबैंक भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएएल-आइपीएस भुक्तानी आदेशको आधारमा तलब, रेमिट्यान्स, कस्टमर ट्रान्स्फर पार्टी र सप्लायर पेमेन्ट लगायतका कारोबारहरु गर्न सकिने अन्तरबैंक भुक्तानी प्रणाली हो ।

हाल बी टू बी, बी टू सी, जी टू बी जस्ता कारोबारहरु मुख्य दुई एनसीएचएल–आइपीएसबाट हुँदै अएका छन्, जसको लागि सम्बन्धित भुक्तानीकर्ताले आफ्नो बैंकलाई भुक्तानी आदेश दिनुपर्नेहुन्छ र बैंकले सोही आदेशको आधारमा  कारोबार गर्दछ ।

कनेक्ट आइपीएस इ–पेमेन्ट भने सेवाग्राही आफैंले कनेक्ट आइपीएसइ पेमेन्ट डटकम अथवा यसको मोबाइल एप तथा सदस्य बैंक वित्तीय संस्थाको मोबाईल/ईन्टरनेट बैङ्किङमार्फत् सोझै आफ्नो बैंक खाताबाट रियल टाइम फण्ड ट्रान्सफर तथा विभिन्न प्रकारका भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडले प्रवर्द्धन गरिएको एनसीएचएलले नेपालमा विभिन्न भुक्तानी प्रणालीहरु स्थापना तथा सञ्चालन गर्दै आएको छ । यसमा सबैजसो बैंक वित्तीय संस्थाहरु लगायत ३० वटा गैर बैङ्किङ संस्थाहरु सदस्यका रुपमा आवद्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment