Comments Add Comment

साइकल चढेरै काठमाडौंबाट गौर पुगे दुई भारतीय

१९ चैत, रौतहट । लकडाउनका कारण सरकारले सवारी सञ्चालनमा रोक लगाएपछि दुई भारतीय साइकलमा यात्रा गरेरै काठमाडौंबाट गौर पुगेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सवारी पूर्ण रुपमा बन्द भएपछि उनीहरु वैकल्पिक साधनबाट आफ्नो घरतर्फ फर्किएका हुन् ।

लकडाउनकै कारण बजार र यातायातका साधन बन्द भएपछि धेरै काठमाडौंमा बसोबास गर्नेहरु घर जान पाएका छैनन् । सरकारले अघिल्लो दिन घोषणा गरेर भोलिपल्टैदेखि लकडाउन गरेपछि जो जहाँ छन्, त्यही रोकिए ।

काठमाडौंमा रहँदा साइकलमा फलफूल बिक्री गरेर आएका भारत बिहारको मोतिहारी जिल्लाका बेतौनाका राजकिशोर साह र सञ्जय साह पनि यहीँ रोकिए । तर, लकडाउन लम्बिएपछि उनीहरुलाई हातमुख जोर्नै गाह्रो हुन थाल्यो ।

त्यसैले फलफूल बेच्न प्रयोग गर्दै आएको साइकलमै उनीहरुले घरतर्फको यात्रा तय गरेका हुन् ।

राजकिशोर साहले भने, ‘हामी दैनिक काम गरेर खाने मान्छेसँग पैसा नभएपछि पसलको साहुजीले उधारो दिएनन् । डेरामा भएको चिउरा र दालमोठ बोकेर निस्कियौं ।’

आइतबार बिहान ३ बजे बल्खुबाट हिँडेका उनीहरु मंगलबार साँझ ६ बजे गौरको वीपी चोक आइपुगेका थिए ।

उनीहरुले घर फर्किन बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडा जाने सडक रोजेका थिए । उकालोमा साइकलले नतानेपछि गुडाएर पैदल हिँडे । पथलैया आइपुगेपछि प्रहरीले ट्रकमा चढाएर चन्द्रनिगाहपुरसम्म पठाइदिए । साहले भने ‘साइकल चलाएर दुबै खुट्टा एकदमै दुखेको छ । नदुख्ने औषधि खाएर हिँडिरहेका छौं ।’

गौरको विपी चोकमा भने उनीहरुलाई सुरक्षाकर्मीले रोकेका छन् । र, सीमा नाकामा भारतीय सुरक्षाकर्मीले जान नदिने बताएपछि निराश भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment