Comments Add Comment

कोरोना संक्रमितसँगै आएका युवकको रिपोर्ट नेगेटिभ

२० चैत, विराटनगर । कोरोना भाइरस संक्रमणको आशङ्कामा क्वारेन्टाइनमा बसेका विराटनगरका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ । धनगढीका कोरोना संक्रमित युवकसँगै युएईबाट दिल्ली हुँदै आएका विराटनगरका युवकको रिपोर्ट नेगेटिभ आएको हो ।

विराटनगर- १५ बस्दै आएका ३४ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको कोशी अस्पतालका फोकल पर्सन डाक्टर डेनप्रसाद आचार्यले बताए । सोमबार कोशी अस्पतालमा उनको थ्रोट स्वाब संकलन भएको थियो । रिपोर्ट नेगेटिभ आएपनि युवकलाई परिवारसहित थप एकसाता क्वारेन्टाइनमै बस्न सुझाव दिएको डाक्टर आचार्यले बताए ।

कोरोना भाइरसको महामारी फैलिएपछि गत चैत ६ गते उनी नेपाल आएका थिए । सँगै आएका धनगढीका साथीलाई चैत १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी विराटनगर महानगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा परिवारसहित बसिरहेका छन ।

५९ जनाको नमुना संकलन

प्रदेश १ मा कोरोना भाइरस संक्रमणको आशंकामा ५९ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। तीमध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार मात्र थप शङ्कास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्बुबाट तीन जना शङ्कास्पद व्यक्तिको नमुना संकलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

बिहीबारसम्म ४५ जना पुरुष र १४ जना महिलाको नमुना संकलन गरिएको हो । बिहीबारसम्म ४२ जनाको रिपोर्ट आएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment