Comments Add Comment

अमेरिकामा एक सातामै दोब्बरले बढे बेरोजगार

२० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै अमेरिकामा जागिर गुमाउनेहरुको संख्या ६६ लाख बढी पुगेको छ । यो संख्या अघिल्लो साताको तुलनामा दोब्बर र अमेरिकी इतिहासमै उच्च मानिएको छ ।

अमेरिकी सरकारले कोरोना भाइरसको महामारीसँगै जागिर गुमाउनेहरूलाई राहत दिने उद्देश्यले विवरण संकलन गरिरहेको छ । राहत पाउनेहरूको सूचीमा पार्टटाइम काम गर्नेहरुलाई भने समावेश गरिएको छैन ।

अहिले अनलाइनमा फारम भरेर धेरै अमेरिकीहरूले बेरोजगार राहत दाबी गरिरहेका छन् । कतिपयले टेलिफोन लाइन व्यस्त भएकाले र अनलाइन फारम भर्न समस्या भएकाले विवरण सूचीकृत गर्न नसकेको बताएकाले बेरोजगारको संख्या अझै बढी हुनसक्ने अनुमान छ ।

अघिल्लो साता अमेरिकाको श्रम विभागले बेरोजगारहरूको संख्यामा ३.३ मिलियन रहेको तथ्यांक सार्वजनिक गरेको थियो ।

तीन साताअघि बेरोजगारी सुविधाको दाबी गर्ने संख्या करिब २ लाख १० हजार मात्र थियो । तर अहिले कोरोना भाइरस (कोभिड–१९०) महामारी रोक्न विभिन्न राज्यमा लकडाउन गरेपछि बेरोजगारको संख्या ह्वात्तै बढेको छ ।

अमेरिकाका केही राज्यमा सिनेमा हल, होटल र जिमशालालगायतका क्षेत्रमा रोक लगाइएको छ । त्यस्तै, कार कम्पनीले आफ्नो उत्पादन रोकेका छन् भने पर्यटन क्षेत्रमा ठूलो असर देखिएको छ । अर्थशास्त्रीहरूका अनुसार, अमेरिकाको समग्र जनशक्तिको ५ भागको एक भाग अहिले लकडाउनमा छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अमेरिकाले पूरै शक्ति लगाइरहेको छ । तर मेडिकल उपकरण कम भएकाले यो संघर्ष कठिन भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

ट्रम्पका अनुसार, मेडिकल उपकरण र औषधिको उच्च अभाव छ । अमेरिकाका लगभग सबै प्रान्तका प्रमुखहरूले सुरक्षा उपकरण, टेस्टिङ किट्स र भेन्टिलेटर माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment