Comments Add Comment

श्रीलंकन नागरिक बोकेर नेपाल एयरलाइन्सको विमान कोलम्बो जाने

आगामी एक साताभित्र विभिन्न कम्पनीका आधा दर्जन चार्टर्ड उडान

२१ चैत, काठमाडौं । काठमाडौंमा रहेका विदेशी पर्यटकलाई आ–आफ्नो मुलुक फर्काउन आगामी एक साताभित्र करिब आधा दर्जन अन्तर्राष्ट्रिय चार्टर्ड उडानको तयारी गरिएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार, सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालमा रहेका विदेशी पर्यटकलाई उद्दार गरी आ–आफ्नो मुलुक फर्काइरहेका छन् ।

सोहीक्रममा श्रीलंकाले नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरी कोलम्बो उड्ने तयारी गरेको हो ।

आगामी ७ अप्रिलका लागि कोलम्बो उडानको तयारी छ । प्रक्रिया प्रारम्भिक चरणमै रहेको नेपाल एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । नेपाल पर्यटन बोर्डका निर्देशक लीला बानियाँका अनुसार, आगामी एक साताभित्र करिब आधा दर्जन चार्टर्ड उडान गर्ने तयारी छ । त्यसमध्ये एक उडान नेपाल एयरलाइन्सले कोलम्बोमा गर्ने बताइएको छ ।

शनिबार तीन चार्टर्ड उडान

शनिबार (४ अप्रिल) मा जर्मन नागरिक लैजान कतार एयरवेजको जहाज आउँदै छ । यो जहाज फ्यांकफ्रटका लागि उड्ने नेपालस्थित जर्मन दूतावासले पुष्टि गरेको छ । जर्मनीले सुरुमा आफ्ना नागरिकलाई प्राथमिकता दिने र त्यसमा पनि सिट बचेको अवस्थामा भने युरोपेली युनियनका अन्य मुलुकका नागरिकलाई उडाउने योजना बनाएको छ । शनिबार नै मलेसियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेसिया एयरलाइन्सबाट फिर्ता लैजाने बताइएको छ । बोर्डले पर्यटकलाई सूचित गर्दै राखेको सूचिमा उक्त उडानसमेत राखिएको छ । फ्रान्सले पनि शनिबार नै कतार एयरवेजबाटै आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ । यो जहाजले फ्रान्सको राजधानी पेरिस उडान गर्ने बताइएको छ ।

अमेरिकन नागरिक लैजान कतार एयरवेज आइतबार (५ अप्रिल)मा काठमाडौं आउने भएको छ । अप्रिल ७ तारीखमा भने नेपालमा रहेका श्रीलंकन नागरिकलाई नेपाल एयरलाइन्सको जहाजले फिर्ता लैजाने प्रारम्भिक तयारी रहेको बोर्डको तालिकामा उल्लेख छ । ९ अप्रिलमा जर्मनीले कतार एयरवेजबाट अर्को उडान गर्ने जानकारी बोर्डलाई गराएको छ । तर, यो उडान भने अझै निश्चित नभइसकेको बोर्डले उल्लेख गरेको छ ।

अप्रिल १० मा भने दक्षिण कोरियाले आफ्ना नागरिकलाई फिर्ता लैजाने भएको छ । कोरियाले कोरियन एयरलाई काठमाडौं ल्याउने योजना बनाएको छ । बेतायत र अन्य मुलुकको भने उडान निश्चित भइसकेको छैन । आज राति १२ बजेपछि उपत्यका बाहिर रहेका पर्यटकलाई भने काठमाडौं ल्याइने छैन । काठमाडौं आइसकेका नागरिकलाई भने सम्बन्धित मुलुकको दूतावासले समन्वय गरी फिर्ता लैजान लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment