Comments Add Comment
विचार :

मन्त्रीज्यू, मार्क्सवादीभन्दा वैज्ञानिक चिन्तनले काम गरौं’

'पीसीआर जानेको व्यक्तिले कोरोना टेस्ट गर्न सक्छ'

नेपाल सरकारले कोभिड १९ को रोकथामका लागि देखाएको तत्परताको र रोकथामका लागि गरेको प्रयत्न सबैले तारिफ गर्नयोग्य थियो । विकसित मुलुकको जस्तो प्रविधि र साधन स्रोत सम्पन्न नभएको हाम्रो मुलुकमा आफ्नो क्षमता र बुँताले भ्याएसम्मको सतर्कता अपनाएको नै थियो ।

तर, अहिले पीपीई खरीदमा देखिएको अनिमियता भनाैं वा लापरवाहीले सरकारको अहिलेसम्मको साख गिरेको छ । यसको लेखाजोखा कुनै निकायले पछि गर्ला ।

एउटा स्वास्थ्य क्षेत्रको अनुभवी हुनुको नाताले यो (कोरोना) रोगका लागि चाहिने पीपीई र यसको जीवाणु टेस्ट गर्ने प्रक्रिया र आवश्यक पर्ने टेस्ट किटबारे यहाँ केही चर्चा गर्न सकिन्छ ।

पीपीई र टेष्ट किट खरीद गर्दा कुनै दक्ष व्यक्ति, कमसेकम मोलेकुलर बायोलोजी वा बायोकेमिस्ट्री वा न्युकिलिकऐसिडमा काम गर्ने ब्यक्ति, रिसर्च ल्याब वा त्योसम्बन्धी पढाइ भएको युनिभर्सिटीका प्रोफेसर वा यस्तो रोगमा काम गरेका अनुभवी डाक्टरहरुको राय लिएर काम गरेको भए यस्तो अवस्था हुँदैनथ्यो होला ।

सरकारका मन्त्रीहरुलाई मेरो सुझाव यो छ कि कोभिड १९ सम्बन्धी जुनसुकै निर्णय गर्नु पर्दा यो क्षेत्रमा काम गरेका विज्ञहरुको टोली बनाऊ र उसको सुझाव लेऊ । योबेला मार्क्सवादी चिन्तनले भन्दा वैज्ञानिक चिन्तनले काम गर्ने बेला हो ।

जुन पार्टीको सरकार भए पनि अबका सरकारले विज्ञान तथा प्रविधिको अनुसन्धान तथा विकास गर्नका लागि जोड दिन जरूरी छ । विज्ञान प्रविधिको विकास नगरी कुनै पनि देशले साँचो आर्थिक उन्नति गर्न सक्दैन ।

अहिले नेपालबाट बिदेश गएका धेरै विद्यार्थी, डाक्टर, इञ्जिनियरहरुले र वैज्ञानिकका रुपमा संसारकै प्रतिष्ठित विश्वविद्यालय वा कम्पनीमा काम गरेका छन् । उनीहरुले आफूलाई हरेक क्षेत्रमा अब्बल सावित गरेका पनि छन् । उचित अवसर पाएको खण्डमा यिनीहरुमध्ये धेरैजसो आˆनो मातृभूमि र्फकन लालायित पनि छन् । उनीहरुमध्ये यो लेखक पनि एक हो । तर, सरकारले देश-विदेशमा रहेका दक्ष जनशक्तिलाई परिचालित गरी विज्ञान र प्रविधि, स्वास्थ्य र शिक्षा, कृषिजस्ता क्षेत्रमा खटाउनुपर्छ ।

यसको ज्वलन्त उदाहरण अरु देशमा सामान्य ल्याबले पनि गर्न सक्ने डीएनए परीक्षण गर्न पनि हाम्रो देशमा प्रहरीको एकमात्र विधि विज्ञान प्रयोगशालाको भर पर्नुपरेको छ । डीएनए परीक्षणजस्तो मोलीकुलर बायोलोजीको काम गर्दा नमूना सकंलन गर्दा, नमूना बनाउँदा र नमूना प्रोसेसिङ गर्ने तरिकामा निर्भर हुनुपर्छ । सामान्य गल्ती भएमा अर्कै रिजल्ट आउँछ । एउटामात्र ल्याबमा परीक्षण गर्दा त्यसको विश्वसनीयताको प्रश्न आउँछ ।

अपराधजन्य डीएनए परीक्षण गर्दा अरु दुई/तीनवटा स्वतन्त्र ल्याबबाट पनि प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो सुविधा भएको भए आज निर्मला पन्त बहिनीको डीएनए परीक्षण त्यति विवादित हुने थिएन । त्यसैले, अब हामीले हरेक परदेशमा यस्ता प्रविधियुक्त रिसर्च विश्वविद्यालयको निर्माण गर्नुपर्छ, जसले गर्दा देशलाई चाहिने धेरै प्रविधि परीक्षण र विकास त्यहीँबाट होस् ।

मलाई लाग्छ, अब कोरोनाको महामारी सकिएपछि संसारका सबै देशहरुले विज्ञानको खोज तथा अनुसन्धानमा बढी पैसा खर्च गर्नेछन् । विकसित राष्ट्रहरुले विज्ञानको अनुसन्धानमा धेरै पैसा त खर्च गरेका छन् । तर, पछिल्लो समयमा यसमा पनि अघोषित सिन्डीकेट लगाएका छन् । अर्को देशभन्दा आफू बलशाली हुने होडबाजीले गर्दा स्वतन्त्र रिसर्चमा भन्दा पनि व्यापार वा सैन्य सुरक्षासँग सम्बन्धित रिसर्चमा बढी बजेट जाने गरेको छ । जसले गर्दा आज आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर स्वचालित ड्रोन बनिसक्दा पनि हामीले कतिपय रोगका जीवाणु मार्ने प्रविधि विकास गर्न सकेका छैनौं ।

यो कोभिड १९ रोग मानिसमा लागेको पहिलोपटक हो । उस्तै प्रकृति र अर्को प्रकारको कोरोना भाइरसबाट हुने सार्स र मर्स केही बर्ष अगाडि एसियाका केही देशमा लागेको थियो । एसियामा लागेको भएर विकसित देशले यसलाई खासै चासो देखाएनन् । यदि यी रोगको अनुसन्धानलाई प्राथकमिता दिइएको भए अहिले कमसेकम हामीसित अलि प्रभाकारी एन्टी भाइरल औषधी हुने थियो ।

आशा छ, कोरोनापछिको संसारले देश-देशको बीचमा बढ्दै गएको दूरी र मानिस-मानिस बीचमा हराऊँदै गएको मानवीयतालाई कम गर्नका लागि साझा कदम चल्नेछन् । स्वास्थ्य र शिक्षाजस्ता आधारभूत आवश्यकताहरुका लागि यथेष्ठ बजेट छुट्याउने छन् ।

कोरोनाको टेस्ट

मेरो दक्षता भाइरल जीन सिक्वन्सिङ वा एण्टीबडी टेस्टिङमा होइन । तर, ब्याक्टेरियाको प्लजमिड एम्प्लीफिकेन्स र क्युपीसीआरमा केही समय काम गरेको अनुभव छ । त्यसैले यो लेख तयार बनाएको हुँ ।

यो लेखको उद्देश्य कोभिड १९ रोगको परीक्षण गर्ने तरिका बताउने नभई यसको परीक्षणबारेमा सामान्य जानकारी गराउनु हो । बजारमा हल्ला फैलिएको कुनै हाउगुजीजस्तो नभई एउटा मोलेकुलर बायोलोजीमा गर्दै आएको स्तरीय तरिका हो भन्ने बताउनु हो । जसले गर्दा भोलि धेरै मान्छेमा फैलिइहाले, हजारौं स्याम्पल टेस्ट गर्न सक्ने गरी सरकारले अहिले नै त्यस्ता व्यक्ति वा ल्याबको पहिचान गरेको खण्डमा भोलि आउन सक्ने आपतको सामना गर्न सकियोस् ।

कोरोना रोगको टेस्ट डाक्टरले भन्दा पनि प्रयोगशालामा दक्ष व्यक्तिले गर्ने हो । यसको दक्ष व्यक्ति नपाए, सामान्य क्यूपीसीआर (क्वान्टिटेटिव पोलिमरेज चेन रियाक्सन) गर्न जानेको व्यक्ति भए उसले पनि गर्न सक्छ । जुन अहिले मोलीकुलर वा बायोकेमिस्ट्री ल्याबमा सामान्य भइसकेको छ ।

भए त भाइरल जीनोम सीक्वन्सिङमा काम गरेको वा दक्ष ब्यक्ति नै राम्रो । तर, धेरै मान्छेको स्याम्पल टेस्ट गर्न एक-दुई व्यक्तिले सम्भव पनि हुँदैन । त्यसैले, देशभित्रै भएका क्युपीसीआर गर्न सक्ने वा जीन सीक्वन्सिङको सामान्य ज्ञान भएको व्यक्तिलाई तालिम दिएर भोलि आवश्यक परेको खण्डमा परिचालन गर्न सकिन्छ ।

यससम्बन्धी ज्ञान नभएको ब्यक्तिले त स्याम्पल छुन पनि डर मान्न थालिसकेको अवस्था छ । त्यसर्थ, योसम्बन्धी सामान्य ज्ञान भएको ब्यक्तिलाई पनि उचित पीपीई र तालिम दिएको खण्डमा उसले सजिलै काम गर्न सक्छ । यसो गर्न सके सधैं अरुको भर पर्न पर्दैन ।

नेपालमा त्यत्रो ठूलो त्रिभुवन विश्वविद्यालय छ । काठमाडौं विश्वविद्यालय छ । उनीहरु अन्तर्गत धेरै मोलेकुलर बायोलोजी, बायोकेमिस्ट्री वा फार्मकोलोजी विभागहरु छन् र त्यहाँ कार्यरत प्रोफेसर, वैज्ञानिक र डाक्टरहरुले यस्तो बेलामा आफूसित भएको ज्ञानलाई प्रयोग गर्ने हो । यो सम्बन्धी काम गरेको वा ज्ञान भएको व्यक्ति अगाडि नसर्ने हो भने त्योसमन्धी पढाइ किन गर्नुपर्‍यो ?

नेपालमा महामारी फैलियो भने एउटा ब्यक्ति वा ल्याबले मात्र काम गरेर साध्य हुँदैन । तत्कालका लागि विदेशबाट डाक्टर र वैज्ञानिकहरु अरु देशमा गएर उपचार र परीक्षण गर्ने स्थिति पनि छैन ।

यो रोगको टेस्ट गर्न हरेक दिन नयाँ प्रविधिको विकास भइराखेको छ । तर, यो लेख लेख्दासम्म प्रमणित भएको र सबै देशले अपनाएको एउटै तैरका हो आरटीआर-पीसीआर, जसलाई रियल टाइम रिभर्स ट्रान्सक्रिप्सन पीसीआर भनिन्छ । भर्खरै फ्रान्स र अमेरिकामा एन्टीबडी टेस्टिङ प्रविधिको सुरुवात भएको छ, जुन छिटो र सजिलो हुन्छ । तर, यसको अहिले परीक्षण चलिराखेको अवस्था छ ।

एन्टीबडी टेस्टिङमा भाइरस पत्ता लगाउने भन्दा पनि भाइरस हाम्रो शरीरमा पसिसकेपछि शरीरले प्राकृतिकरूपमै ऐन्टिजन ( यो रोगको केसमा यसको जीवाणु) विरुद्ध लड्नका लागि बनाउने एक प्रोटिन हो जुन रगतमा मिसिन्छ ।

धेरै मान्छेमा यसरी शरीरले बनाएको एन्टीबडीले कोभिड-१९ को भाइरसलाई मारी दिन्छ र उ आफै निको हुन्छ ।
कतिपय अवस्था मा त यसरी निको भएको ब्यक्तिको एन्टीबडी झिकेर बिरामीको शरीरमा हालेर पनि यसको उपचार गरिन्छ । इबोलाको केसमा यो पद्दतिले धेरै राम्रो काम गरेको थियो ।

एन्टीबडी टेस्टिङ सफल भएमा रगतको नमूना लिएर यो रोग लागे- नलागेको पत्ता लगाउन सकिन्छ । यसो भएमा कोभिड-१९ सरल र सहज हुने छ । अहिले प्रयोग भएको प्रविधि आरटीआर-पीसीआरमा रोगीको स्याम्पल नासोफरेन्जियल स्वाब वा तल्लो श्वासप्रस्वास नली, रगत वा अन्य नमूनाहरू प्रयोग गरेर पत्ता लगाउन सकिन्छ । तर, नासोफरेन्जियल स्वाब वा तल्लो श्वासप्रश्वास नलीको नमूना बढी प्रभावकारी हुन्छ । किनकि यसमा भाइरसको संख्या धेरै हुन्छ ।

पहिलो चरणमा बिरामीबाट संकलन गरिएको नमूनाबाट भाइरस आईइसोलेट गरेर यसको प्लसमिडलाई आरटीआर-पीसीआरमा हालेर एम्प्लीफाइड गरिन्छ । यसरी एम्प्लीफाइड गर्दा यदि संकलित नमूनामा सार्स कोभिड-२ (रोगको भाइरसको वैज्ञानिक नाम) भए यसको संख्या बढ्दै जान्छ, जुन स्याम्पलमा ट्याग गरिएको फोलोरेसनटडाइको सहयोगबाट आरटीआर-पीसीआर मेसिनले डिटेक्ट गर्छ ।

आरटीआर-पीसीआरबाट देखिने नतिजा

सामान्य ल्याबमा यसको टेस्ट गर्न सम्भव छैन । एकातिर यसका लागि चाहिने केमिकल, बफर, प्राइमर, जसलाई समग्रमा रीएजेन्ट भनिन्छ, ती साहै्र महंगा छन् । अहिले बजारमा यिनको अभाव छ । तर, नेपालमा थोरै संख्यामा भए पनि सामान्य पीसीआर गर्ने ल्याब र यो समन्धी ज्ञान भएका प्रोफेसर, विद्यार्थी र वैज्ञानिकहरु हुनुहुन्छ । विदेशबाट मगाएको टेस्ट किट प्रयोग गर्न यो समान्धी ज्ञान भएका व्यक्ति बढी प्रभावकारी हुन्छन् ।

एकातिर यसको परीक्षणका लागि स्याम्पल तयार गर्ने तरिका अत्यन्तै महत्वपूर्ण हुन्छ भने स्याम्पल टेस्ट गरिसकेपछि त्यसलाई उचित ठाउँमा व्यवस्थापन गर्न पनि उत्तिकै होसियारी अपनाउनुपर्छ । यसका लागि कम्तिमा बीओसफेटी लेवल ३ को ल्याब चाहिन्छ र बायोहैजर्ड डिस्पोजलको प्रोटोकल अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment